
काठमाडौँ : भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा बानेश्वरस्थित संसद् भवनबाहिर सुदूरपश्चिमका पारस विके गोली लागेर ढले । उनी रगताम्मे अवस्थामा छट्पटाइरहेका थिए । उनको उद्धार कसरी गर्ने भन्नेमा प्रदर्शनकारीहरू अलमलमै थिए । भय–त्रासको वातावरण थियो । त्यहीँ भीडबाट साहस बटुलेर पारसलाई उद्धार गर्न अघि सरिन्, किशोरी कार्की । उनीसँग मोटरसाइकलसमेत थिएन । एक जना राइडरसँग बाइक लिएर उनी आफंैले मोटरसाइकलमा पारसलाई अस्पताल पु¥याइन् र पुनर्जन्म दिइन् ।
जेनजी विद्रोहका धेरै तस्बिर र दृश्य सामाजिक सञ्जालमा भाइरल छन् । तीमध्ये एक थियो, कार्कीले गरेको उद्धार कर्म । तनावपूर्ण स्थितिमा भीड छिचोल्दै पारसलाई उद्धार गर्न पुगेकी थिइन् । जहाँ उनी आफंै पनि असुरक्षित थिइन् । ‘माइतीघरमा भइरहेको जेनजी आन्दोलन बानेश्वरतर्फ लाग्यो । आन्दोलन विस्तारै हिंस्रक बनेपछि छेउमा बसेर नियालिरहेकी थिएँ । अचानक गोली चल्योे,’ उनी सम्झिन्छिन्, ‘मेरो नजिकै एक जना युवा ढले । छातीमा गोली लागेका ती भाइ पीडाले छटपटाइरहेको देखें । मैले धेरैबेर हेर्न सकिनँ । नजिकै चाबीसहितको बाइक देखें । केही नसोची त्यसैमा ती युवालाई बोकेर सिभिल अस्पतालतर्फ लागें ।’उनलाई फर्किनेबेला ट्राफिकले ‘बाइक कसको ?’ भनेर बाटोमा केरकार ग¥यो । उनले साँचोसहित बाइक प्रहरीलाई बुझाइन् र फर्किइन् । २४ गते दिउँसो सबै प्रहरीचौकी जल्दा त्यो बाइक पनि जल्यो । बाइकबाट कसैले साँझबिहानको छाक टार्दै थियो । उनलाई नराम्रो लाग्यो । त्यसपछि घटनाको जानकारी दिँदै सामाजिक सञ्जालमार्फत उनले सहयोग अपिल गरिन् । देश विदेशमा रहेका नेपालीहरूबाट सहयोग पनि जुट्यो । अन्ततः उनी पठाओ राइडरलाई नयाँ बाइक किनेर दिन सफल भइन् ।
ओखदढुंगाकी चिशंखुगढी–६ स्थायी घर भई हाल विरानगर बस्दै आएकी कार्कीको यो एउटा साहसीपूर्ण काम थियो । यसरी नै उनी परिचित भइन् । तर उनको त्यो साहस देख्न उनका साथमा बुवा थिएनन् । उनले आफ्नो विगत सम्झिन् । २३ वर्षअघि उनका बुवा हिमालकाजी काकीलाई तत्कालीन सरकार पक्षले अपहरण गरेर बेपत्ता बनाएको थियो । ‘म २२ महिनाको छँदा तत्कालीन सरकार पक्षले मेरा आमा र बुबालाई अपहरण गरेको थियो । १५ महिनापछि आमा रिहा हुनुभयो । बुबा अझै बेपत्ता हुनुहुन्छ,’ उनले बेपत्ता बुबालाई सम्झिदै भनिन्, ‘फर्किनुहुन्छ कि भन्ने आसा अझै छ ।’
किशोरीका बुवा कार्की र आमा पशुपति बस्नेत तत्कालीन नेकपा माओवादीमा आबद्ध भएका कारण २०५८ सालमा सेनाको अपहरणमा परेका थिए । उनका बुबाआमा दुवै शिक्षण पेसामा थिए । बुबा माओवादीमा आस्था राख्ने भएपछि सुरक्षा चुनौती देखिएपछि कटारीमा लुकेर बसेका थिए । प्रहरीले त्यहाँ गएर पक्राउ गरेको थियो तर कहाँ लगियो भन्ने अहिलेसम्म पत्ता लागेको छैन । उनको आमालाई १६ महिना हिरासतमा राखेर यातना दिइएको बताइन्
जेलबाट छुटेर उनले विराटनगरमा सरुवा गराइन् र त्यतै छोरीलाई हुर्काइन् । किशोरीलाई सानैदेखि बाइक चलाउन मन पथ्र्यो । ‘धेरैले मलाई बाइक चलाएको देखेर राइडर हो कि भनेर प्रश्नसमेत गरे,’ उनले भनिन्, ‘जानीनजानी सिकेको कुरा त्यो दिन काम लाग्यो, परिस्थिति पनि त्यस्तै बन्यो । अहिले त लाइसेन्स पनि छ ।’
बेपत्ता परिवारकी छोरी किशोरीलाई जेनजी आन्दोलनले विस्तारै राजनीतितर्फ डो¥याएको छ । उनकै नेतृत्वमा नवनिर्माण पार्टी दल दर्ताका लागि निर्वाचन आयोगमा प्रक्रियामा छ । ‘हालको अवस्थामा दल दर्ता आवश्यक भएकाले यो कदम चालेकी हुँ । नेपालको निर्वाचन प्रणालीमा दलगत रूपमा सहभागी हुनाले समानुपातिक मतको पनि कदर हुन्छ,’ उनले भनिन् ।
ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षण रहेको उज्यालो नेपाल पार्टीको घोषणा कार्यक्रममा समेत उनी पुगिन् । उनी उज्यालो पार्टीमा प्रवेश गरेकी हुन् त ? किशोरीले मध्यान्हसँग भनिन्, ‘सबै नयाँ दल एक हुनुपर्छ भन्ने मान्यताले बोलेकी हुँ । पार्टीमा प्रवेश गरेकी छैन । हाम्रो दल दर्ताको प्रक्रियामा नै छ ।’
भदौ २३ र २४ गते बगेको जेनजीको रगत खेर नजाओस् भन्न सबै एकठाउँमा आउन आवश्यक रहेको उनी बताउँछिन् । जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूका परिवारले क्षतिपूर्ति पाए पनि राज्य दमनका दोषीमाथि कारबाही नहुँदासम्म न्यायको महसुस नहुने उनी बताउँछिन् । ‘अहिले आवाज उठाउन सकिएन भने न्याय पाउन गाह्रो हुन्छ । कतिपयले सडकबाट घाइतेलाई उठाएर अस्पताल लानेबित्तिकै राजनीतिमा आउनुपर्ने भन्दै प्रश्न गरिरहेका छन्,’ किशोरी भन्छिन्, ‘राजनीति उमेरले होइन्, पीडा, भोगाइ र जीवनले सिकाउने हो ।’
जेनजी आन्दोलनका माग औपचारिक सम्बोधन हुन नसकेकामा उनी दुःखी छिन् । आन्दोलनले राज्यको मानसिकताप्रति धक्का दिएकाले अब शासकले युवाको आवाज सुन्नैपर्ने स्थिति आएकोमा सन्तोष मान्दै किशोरी भन्छिन्, ‘सरकारले दबाउन सक्छ तर विचारलाई कहिल्यै रोक्न सक्दैन ।’