कान्ति न्यौपाने/मध्यान्ह
काठमाडौं : झर्रोवादी साहित्यका अगुवा डा. ताना शर्मालाई एकपटक कसैले सोध्यो– आफ्नो जिन्दगीलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
जवाफ थियो– मेरो जिन्दगी गण्डकीको पानी जस्तै हो, कहिले तल त कहिले माथि ।
शर्माको उत्तर जस्तै ताना शर्माले जिन्दगीका अनेक उचारचढावलाई सहन गरे । तर, गत फागून ३ गते उनको जीवनमा यस्तो उतारचढाव आयो कि उनले त्यो उतारचढाव सहन सकेकन् र भौतिक देह त्याग गरी उनी नफर्किने बाटो लागे ।
ताना शर्माको वास्तविक नाम तारानाथ भण्डारी हो, तर उनले बनारसमा पढ्न गएपछि नाम फेरेर ताना शर्मा राखेका थिए । शर्माको जन्म १९९१ असार ९ गते ईलामको बरबोटेमा भएको थियो । उनी पिता प्रजापति उपाध्याय र माता देवकीको पहिलो पुत्र थिए । उनले प्रारम्भिक शिक्षा गाउँबाटै सुरु गरेका थिए । अक्षर चिनिसकेपछि उनले रुद्री, ‘चण्डी” पढेँ, अलिअलि वेद पनि पढाए अनि संस्कृतको अमरकोशको पनि अध्ययन गरे । ज्योतिषको गणना गर्ने किताब पढेका उनले ईलामको चन्द्र–मोहन मिडिल स्कुलमा तीन कक्षादेखि अङ्ग्रेजी पढ्न थालेका थिए ।
६ कक्षासम्म ईलामको फिक्कलमै पढेका उनले दार्जिलिङको सेन्ट जोसेफमा एकै पटक नौ कक्षामा भर्ना भए । सधंै पहिलो हुने शर्माले १२ कक्षासम्म दार्जिलिङमै पढे । त्यसपछि बनारसबाट बिए गरेर नेपाल फर्किएका शर्मा दोस्रो भाषा अंग्रेजीमा स्नातकोत्तर अध्ययनका लागि पटना पुगेका थिए ।
उनले अमेरिकाको विस्कन्सिन विश्वविद्यालयबाट भाषाविज्ञानमा विद्यावारिधि समेत गरेका थिए । अनि, उनले नेपाल फर्किएर त्रिभुवन विश्वविद्यालय केन्द्रीय नेपाली विभागमा केही समय अध्यापन गराए । त्यसक्रममा उनले अमेरिकामा आगन्तुक प्राध्यापकका रुपमा पनि केही वर्ष काम गरे । उनी नियात्रा विधाका संस्थापक, नेपाली निबन्धकार, उपन्यासकार, समालोचक र कथाकार पनि हुन् । ताना शर्मालाई धेरैले सरल साहित्यकार र निर्मम समालोचकका रुपमा पनि ब्याख्या गर्ने गरेका छन् ।
शर्माको २००८ सालमा दार्जिलिङबाट निस्कने ‘साथी’ साप्ताहिक पत्रिकामा पहिलो ’इलाम’ शीर्षकको निबन्ध छापिएको थियो । ‘इलाम’ निबन्ध छापिएपछि नेपाली साहित्यमा उनको प्रवेश भएको थियो । उनको पहिलो पुस्तक ‘नमस्ते’ निबन्ध संग्रह २०१८ सालमा प्रकाशित भएको थियो । दोस्रो कृति २०२१ सालमा ‘घोत्ल्याइहरू’ समालोचना संग्रह प्रकाशित भयो । गोपालप्रसाद रिमालको ‘आमाको सपना’ कविता सङ्ग्रह २०२० मा र गुरूप्रसाद मैनालीको ’नासो’ कथा सङ्ग्रह २०२१ मा प्रकाशित भएको थियो, जसलाई शर्माले आफैँले सम्पादन गरेका थिए ।
शर्माले २०१३ सालमा बालकृष्ण पोखरेल, कोषराज रेग्मी, चुडामणि रेग्मी, बल्लभमणि दाहालहरुसंग मिलेर झर्रोवादी अभियान सुरु गरेका थिए । झर्राेवादी आन्दोलनको मुख्य उद्देश्य नचाहिँदा क्लिष्ट शब्दावलीहरुलाई हटाएर सरल र सरस नेपाली भाषाको प्रयोग गर्नु थियो । तत्सम र आगन्तुक भाषाबाट आएका क्लिष्ट शब्दावलीलाई सरलीकरण गर्नु थियो । नेपाली भाषाको अस्तित्व रक्षाको लागि ‘झर्राेवादी आन्दोलन’को सुरुवात गरेको शर्माले बताएका थिए । उनले ‘नौलो पाइलो’ नामक पत्रिका प्रकाशन गर्दै झर्रोवादबारे ब्याख्या र आवश्यकताको चर्चा पनि गरेका थिए ।
साहित्यमा विशेष योगदान पु¥याइरहेका शर्मा निबन्ध संग्रहमा मदन पुरस्कार पाउने पहिलो व्यक्ति थिए । उनको ‘बेलाईततिर बरालिँदा’ भन्ने कृतिले २०२६ सालको मदन पुरस्कार प्राप्त गरेको थियो । त्यसैगरी ‘सम र समका कृति’ का लागि २०२९ सालमा शर्माले साझा पुरस्कार पाएका थिए । २०२३ सालमा रत्नश्री स्वर्णपदक प्राप्त गरेका शर्माले २०३९ सालमा सर्वश्रेष्ठ पाठ्यपुस्तक लेखन पुरस्कार समेत पाएका थिए । उनलाई २०४५ सालमा गान्तोक–सिक्किममा अभिनन्दन समेत गरिएको थियो ।
शर्माले मवीवि शाहको ‘उसैका लागि’ कविता संग्रह आलोचना गर्दा तीन महिनाको जेलजीवन विताएका थिए । तर, बालकृष्ण समको ‘चिसो चुल्हो’ कृति समालोचना गर्दा भने उनीहरुबीच निकटता बढेको थियो । नेपाली साहित्यमा निबन्ध, समालोचना, कथासँगै पाँचवटा उपन्यास २०३० मा ‘सुली’, २०२३ मा ‘मेरो कथा’, २०२३ मा ‘ओझेल पर्दा’, २०३५ ‘झझल्को’ , २०४८ मा ‘नेपालदेखि अमेरिकासम्म’ प्रकाशित भएका छन् । उनी समालोचनामा अब्बल भएका कारण उनका उपन्याससंगै केही कृतिहरु ओझेलेमा परेको चर्चा पनि हुने गरेको छ ।
शर्माले जीवनको उत्तरार्धमा संस्कृत भाषा, राष्ट्र राष्ट्रियता र वैदिक वाङ्मयकोे वकालत सुरु गरेका थिए । सुरुवाती चरणमा प्रगतिवादी साहित्यकारको रुपमा परिचित शर्मा २०४७ सालको परिवर्तनपछि भने नेपाली कांग्रेसमा प्रवेश गरे । २०४७ कै परिवर्तनपछि उनी राइजिङ नेपालको सम्पादक समेत बनेका थिए । पछिल्लो समय झर्रोवादी आन्दोलनलाई धेरैले छाड्दै गए पनि साहित्यकार शर्माले भने यसलाई पूर्ण रुपमा त्यागेनन् । बरु, यसको आवश्यकता र महत्वको चर्चा गरिरहे ।
नेपाली साहित्यमा महत्वपूर्ण योगदान पुर्याएका शर्माको सम्पादन र मौलिक गरी करिब दुई सय कृति प्रकाशित भएका छन् । नियात्राका सगरमाथा शर्मा भौतिक रुपमा नरहेन पनि उनको कृति र योगदानको भने नेपाली साहित्य क्षेत्रले जुँगौजुँग सम्मान गर्नेछ । अलबिदा साहित्यकार एवं अगुवा ताना शर्मा ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies