
काठमाडौं : मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले आइतबार पद तथा गोपनीयताको शपथग्रहण गर्ने भएका छन् । नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी (हाल नेपाली कम्युनिस्ट पार्टी)ले जनकपुरमा आयोजना गरेको प्रदेशस्तरीय एकता घोषणा कार्यक्रममा सांसदहरूको उपस्थित हुने भएकोले मुख्यमन्त्री यादवको आइतबार शपथग्रहण आइतबार हुने भएको हो ।
उनी सात दलीय गठबन्धनको समर्थनमा मधेश प्रदेशको नेतृत्वमा पुगेका हुन् । कांग्रेसका २२, जसपाका १८, जनमतका १२, माओवादी केन्द्रका ९, लोसपाका ८, एकीकृत समाजवादीका ७ र नागरिक उन्मुक्तिका १ गरी ७७ सांसदको समर्थनसहित यादव मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
प्रदेश प्रमुख सुरेन्द्र लाभले संविधानको धारा १६८(२) बमोजिम उनलाई नियुक्त गरेका हुन् । माओवादी केन्द्रका प्रदेश सभा सदस्य फकिरा महतोका अनुसार आइतबार बिहान ११ बजे शपथ ग्रहण हुनेछ ।
आइतबार नै सत्ता साझेदार ६ दलबाट एक–एक जना मन्त्री नियुक्त गर्ने तयारी पनि भइरहेको महतोले बताए । मन्त्रालय भागबण्डाबारे सहमति नजुटेकाले सुरुवाती चरणमा सबै मन्त्री विनाविभागीय रहने भएका छन् ।
यसअघि लोसपाका नेता तथा पूर्वमुख्यमन्त्री जितेन्द्र सोनल पनि मुख्यमन्त्री पदका आकांक्षी थिए । तर गठबन्धनभित्रको छलफलमा जसपा र माओवादी केन्द्रले कांग्रेसका यादवलाई समर्थन गरेपछि सोनल मुख्यमन्त्री बन्न पाएनन् ।
गत कात्तिक २४ गते ठूलो दलको नेता भएको आधारमा आकस्मिक रूपमा मुख्यमन्त्री बनेका एमालेका सरोज यादव सर्वोच्च अदालतबाट बहुमत परीक्षणको आदेशपछि पदमुक्त भएका थिए । बर्दिबासको एक होटलमा शपथ खाएको विवादले उनी आलोचित बन्न पुगे सो घटनाक्रमपछि एमालेले २४ दिनमै मुख्यमन्त्री, सभामुख र प्रदेश प्रमुख तीनै पद गुमाएको छ ।