
जनकपुरधाम : मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार बसेको प्रदेश सभा बैठकमा उपस्थित ९२ प्रदेश सभा सदस्यको विश्वासको मत उनले प्राप्त गरेको उपसभामुख बविता राउत इशरले घोषणा गरिन् ।
नेपाली कांग्रेस नेतृत्वको सातदलीय गठबन्धनमा जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीले यादवलाई विश्वासको मत दिएको र प्रमुख प्रतिपक्षी एमालेबाहेक सत्ता बाहिर रहेका एक–एक सिटको राप्रपा नेपाल र नेपाल संघीय समाजवादी पार्टीले विश्वासको मत दिएको हो ।
गत मंसिर १९ गते ७ दलीय गठबन्धनको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका थिए । उनले गत मंसिर २१ गते पद तथा गोपनीयताका शपथ लिएका थिए र सोही दिन नेपाली कांग्रेस, जनमत र नेकपा (एकीकृत समाजवादी)बाट तीन मन्त्री नियुक्त गरेका थिए । उनलाई सदनमा रहेका १० वटै दलका उपस्थित ९२ सांसदले विश्वासको मत दिएका छन् । १०७ प्रदेश सभा सदस्य रहेको मधेश प्रदेश सभामा सरकारको विश्वासको मतका लागि ५४ मत आवश्यक पर्छ ।
प्रदेश सभामा हाल एमालेका २४, कांग्रेसका २२, जसपा नेपालका १८, जनमतका १३, माओवादी केन्द्रका ९, लोसपाका ८, एकीकृत समाजवादीका ७ प्रदेश सभा सदस्य छन् । त्यसैगरी राप्रपा नेपाल, नागरिक उन्मुक्ति पार्टी र नेपाल मंघीय समाजवादी पार्टीको एक–एक सदस्य रहेका छन् ।