
सुदूरपश्चिम : जेनजी आन्दोलनमा क्षति पुगेको भवन मर्मत ढिलाइ हुँदा शुक्रबार बस्ने भनिएको सुदूरपश्चिम प्रदेश सभाको बैठक बस्न सकेन ।
यही पुस ७ गते बसेको प्रदेश सभा, कार्यव्यवस्था परामर्श समितिको बैठकमा आज दिउँसो २ बजेका लागि प्रदेश सभाको चालु अधिवेशन अन्तर्गतको बैठक सञ्चालन गर्ने समझदारी भएको थियो ।
चालु अधिवेशनअन्तर्गत पछिल्लो बैठक गत भदौ ५ गते बसेको थियो । त्यसपछि भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा भवनमा आगजनी र तोडफोड भएपछि बैठक अनिश्चित बनेको थियो ।
बैठक सञ्चालन हुन नसक्दा महत्वपूर्ण विधेयकहरु माथिको कारबाही अघि बढ्न सकेको छैन । जेनजी आन्दोलनका क्रममा प्रदेश सभा सचिवालय, संसदीय दलहरूका कार्यालय, संसद् भवनमा गरी झण्डै ८ करोड बराबरको क्षति पुगेको थियो ।
प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले आन्दोलनमा क्षति पुगेका संरचनाको मर्मत सम्भार नसकिएकोले बैठक सञ्चालन गर्न अझै केही दिन लाग्ने बताए । –रासस