२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

निर्वाचनका लागि प्रदेशभर सुरक्षा संयन्त्र परिचालन

Nada
२०८२ पुष २४ गते २०:४०
Shares
निर्वाचनका लागि प्रदेशभर सुरक्षा संयन्त्र परिचालन

संखुवासभा : कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) विनोद घिमिरेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा राख्दै प्रदेशभर सुरक्षा संयन्त्र पूर्ण रूपमा परिचालन गरिएको जानकारी दिएका छन् ।  

ncell

जिल्लाको निरीक्षणका क्रममा बिहीबार पत्रकारसँग कुरा गर्दै उनले निर्वाचन सम्पन्न गराउनु वर्तमान सरकारको प्रमुख जिम्मेवारी भएकाले यसमा सबै पक्षको सक्रिय सहयोग अपरिहार्य रहेको स्पष्ट पारे । अहिलेको सबैभन्दा ठूलो जिम्मेवारी फागुन २१ गते हुने निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित रूपमा सम्पन्न गराउनु रहेको उनको भनाइ छ । निर्वाचन सफल बनाउन सुरक्षा निकाय मात्र होइन, राजनीतिक दल, नागरिक समाज र सञ्चारकर्मी सबैको भूमिका उत्तिकै महत्वपूर्ण हुने बताए । 

प्रहरी एक्लैले मात्र निर्वाचन सफल बनाउन नसक्ने भएकाले सबै सरोकारवालाको समन्वय र सहयोग अपरिहार्य रहेको पनि उनको भनाइ छ । विशेषगरी सञ्चारकर्मीको भूमिकालाई उल्लेख गर्दै डिआइजी घिमिरेले जिम्मेवार र तथ्यपरक रिपोर्टिङमार्फत जनतामा विश्वास कायम गर्न सञ्चारमाध्यमले ठूलो योगदान दिनसक्ने धारणा राखे । 

उनका अनुसार जिल्लाका मतदान केन्द्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरिएको छ र सोहीअनुसार सुरक्षा योजना तयार पारेर आवश्यक जनशक्ति परिचालन गरिनेछ । ‘हरेक मतदान केन्द्र र स्थलमा कडाइका साथ सुरक्षा व्यवस्था मिलाइनेछ,’ उनले भने, ‘लोकतन्त्रको जग भनेकै निर्वाचन प्रक्रिया भएकाले कुनै पनि अनावश्यक गतिविधि हुन दिइने छैन ।’ निरीक्षणका क्रममा डिआइजी घिमिरेले संखुवासभाको मकालु गाउँपालिका–३ स्थित इलाका प्रहरी कार्यालय हेदांनाको नवनिर्मित प्रशासनिक भवन तथा सिलिचोङ गाउँपालिकाको माङतेवामा रहेको प्रहरीचौकीको भवन औपचारिक रूपमा उद्घाटन गरे । 

उद्घाटनका क्रममा उनले प्रभावकारी सुरक्षा सेवा प्रवाहका लागि भौतिक पूर्वाधार सुदृढ हुनु अत्यावश्यक रहेको उल्लेख गरे । साथै, सीमित स्रोतसाधनका बाबजुद पनि नागरिकको सुरक्षामा कुनै सम्झौता नगर्न मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिए । –रासस

ताजा खबर

सम्बन्धित खबर