२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

मदन भण्डारी : एमाले चरित्र निर्माता

shivam cement
२०८२ मंसिर २७ गते ०६:३०
Shares
मदन भण्डारी : एमाले चरित्र निर्माता

काठमाडौं : नेकपा एमाले ११औं महाधिवेशनमा छ । अध्यक्षमा केपी शर्मा ओली तेहेरिन खोज्दै छन् भने ईश्वर पोखरेल अध्यक्षमा आउन खोज्दै छन् । 

कोशी प्रदेश प्रचार विभाग सदस्य जीवनाथ दाहालका अनुसार ओली र पोखरेल दुवै एकै पुस्ताका नेता हुन् । जसलाई मदन भण्डारीको ‘स्पिरिट’ थाहा छ । तर भण्डारीको पदचापअनुसार कति हिँडे वा हिँडेनन् भन्ने समीक्षा भविष्यमा हुनेछ । 

एमालेका पोलिटब्युरो सदस्य लिलाबहादुर थापा मगरका अनुसार आजको एमाले मदन भण्डारीले बनाएका हुन् । मदन भण्डारीले नेपाली वाम राजनीतिको दिशा नबदलेको भए एमालेको अवस्था के हुने थियो भन्ने विषय अर्को समीक्षाको विषय हो । 

मदन भण्डारीले त्यस्तो के गरे ? जसले एमालेलाई आजको एमाले बनाउन सक्यो ? यी प्रश्नको जवाफ खोज्न एमालेको जीवनलाई दुई भागमा विभाजन गर्नुपर्नेहुन्छ । चौथो महाधिवेशन अघि र  त्यसयताको एमाले । 

२०४६ सालको जनआन्दोलनले ३० वर्षे निरंकुश पञ्चायती व्यवस्था ढाल्यो । प्रजातन्त्रको पुर्नवहाली भएसँगै भूमिगत रहेको भण्डारी नेतृत्वको तत्कालीन नेकपा (माले) सार्वजनिक भयो । खुला राजनीतिमा आएसँगै त्यतिबेलाको वस्तुगत आवश्यकतालाई मनन् गरी माले र मनमोहन अधिकारी नेतृत्वको नेकपा (मार्क्सवादी)बीच २०४७ साल पुस २२ गते पार्टी एकता गरी नेकपा एमाले बन्यो । अध्यक्ष मनमोहन अधिकारी भए भने कार्यकारी महासचिव भण्डारी भए । त्यसपछि एमालेको यात्रा मोडियो । २०४६ सालमा भएको तत्कालीन मालेको चौथो महाधिवेशनमै भण्डारीले ‘बहुदलीय जनवाद’को विषय ल्याए । जसमाथि चर्को बहस भयो । पाँचौं महाधिवेशनमा मदन भण्डारी नै महासचिव दोहोरिए । ‘बहुदलीय जनवाद’ अगाडि बढ्यो र अहिले जनताको बहुदलीय जनवाद (जबज)का रूपमा स्थापित छ । यो एमालेको मार्गदर्शक सिद्धान्त हो । 

मदन भण्डारीको उदय र जबज अगाडि बढ्ने पृष्ठभूमिमा विश्व कम्युनिस्ट आन्दोलनको संकट महत्वपूर्ण पक्ष छन् । तत्कालीन समयमा विश्व कम्युनिस्ट आन्दोलन संकटतर्फ जाँदै थियो । सोभियत संघ टुक्रिँदै गरेको अवस्था र खुला लोकतन्त्रको बहस विश्वप्यापी थियो । जसको असर नेपालमा नपर्ने कुरै भएन । त्यस्तो बेला मदन भण्डारी नेपालको वाम आन्दोलनलाई वैकल्पिक र आधुनिक बाटोतर्फ मोडिदिए ।

आजको एमाले, एमालेले गर्दै आएको संसदीय अभ्यास, नीतिगत बहस, संगठनात्मक क्षमता र जनसमर्थनलाई मदन भण्डारीको वैचारिक हस्तक्षेपको विस्तारका रूपमा मानिन्छ ।

किनभने सोभियत संघ विघटनतर्फ धकेलिँदै गएको, पूर्वी युरोपका कम्युनिस्ट शासन गिरिरहेको र विश्व राजनीति बहुदलीय लोकतन्त्रको लहरमा ढल्किँदै गरेको समयलाई भण्डारीले बुझे । त्यसपछि नेपालमा वामआन्दोलनले नयाँ दिशातर्फ मोड दिनेगरी संसदीय अभ्यास स्वीकार्ने, बहुदलीय प्रतिस्पर्धामा सामेल हुने नीति लिए र वाम राजनीतिलाई जनमुखी र लोकतान्त्रिक बाटोतर्फ डोर्‍याए । 

मदन भण्डारीले वामआन्दोलनलाई तीन कोणबाट ‘टर्न’ गराए । 

वैचारिक टर्न 

त्यो वैचारिक टर्न जबज हो, जसले नेपाली कम्युनिस्टको सैद्धान्तिक पुनर्गठन गर्‍यो । कम्युनिस्टलाई लोकतान्त्रिक प्रतिस्पर्धामा सामेल गरायो । मदन भण्डारीले बहुदलीय लोकतन्त्रमार्फत समेत समाजवाद निर्माण सम्भव छ भन्ने दिशामा मोडिदिए ।

यसले कम्युनिस्टहरूलाई लोकतान्त्रिक खेलभित्र लगिदियो । जबजले हिंसात्मक क्रान्ति, सशस्त्र युद्धभन्दा जनताको मत निर्णायक हो भन्ने व्याख्या गरिदियो । 

संगठनात्मक टर्न 

भूमिगत राजनीति छाडेर खुला प्रतिस्पर्धा र जनता केन्द्रित संगठन निर्माण मदन भण्डारीले गरेको दोस्रो टर्न हो ।

भण्डारीको यस्तो नीतिले तत्कालीन समयमा नेपालका रहेका दर्जनौं वामहरू एकीकृत हुने वातावरण बन्यो । भण्डारी नेतृत्वमा एकीकरण प्रक्रिया अगाडि बढ्दा मिलन, पुनर्गठन, क्याडर लाइनमा शुद्धीकरण गर्‍यो । जसले एमालेलाई क्याडर केन्द्रित पार्टीबाट मासमा समेत जोड्ने काम गर्‍यो । जसले नयाँ पुस्तालाई आकर्षित गर्न सक्यो, समाजशास्त्री, शिक्षक, श्रमिक, बुद्धिजीवी सबैलाई पार्टीमा तान्न सक्यो । अहिले पनि एमाले यी क्षेत्रमा बलियो रूपमा स्थापित छ । 

राजनीतिक टर्न 

मदन भण्डारीले जबजमार्फत निर्वाचनलाई मुख्य राजनीतिक मार्ग बनाइदिए । जसअनुसार २०४८ को चुनावमा भाग लिए । नेपाली कांग्रेस सबैभन्दा ठुलो दल भयो र एमाले प्रमुख विपक्षी दलको हैसियतमा उदायो । 

अर्थात्, २०४८ को पहिलो बहुदलीय चुनावमार्फत एमाले ठुलो राष्ट्रिय शक्तिका रूपमा स्थापित भयो । तत्कालीन समयमा कम्युनिस्ट पार्टीहरूलाई यति ठुलो सार्वजनिक म्यान्डेट मिल्नु ठुलो उपलब्धिका रूपमा रहेको स्वयं कम्युनिस्ट नेता बताउँछन् । 

ठुलो शक्तिका रूपमा उदाएको एमालेले तत्कालीन समयमा संसद्मा प्रभावकारी रूपमा उपस्थिति देखायो । साथै व्यावहारिकता र सहमतिको राजनीति पनि अगाडि बढायो । संसदभित्र ‘रचनात्मक विपक्ष’ भन्ने लाइन ल्याएर एमालेले कम्युनिस्ट र लोकतान्त्रिक शक्तिबीचका द्वन्द्व घटाउने काम पनि गर्‍यो । 

गठबन्धन चलाउने, संसद् चलाउने, सहमतिबाट मुद्दा समाधान गर्ने जस्तो व्यावहारिक कम्युनिस्ट पार्टीका रूपमा एमालेलाई संस्थागत गर्ने कामको अगुवाइ भण्डारी नै गरे । 

यी तीन कोणबाट एमालेलाई ‘टर्न’ गरेका भण्डारीले दीर्घकालीन रूपमा कसरी पार्टी अगाडि बढाउने भनेर त्यसका छापसमेत छोडेका छन् । 

एउटा उदाहरण नेतृत्व शैली हो । स्पष्ट भाषण, सरल भाषा, सामूहिकता एमालेको अहिलेको पहिचान हो । जो भण्डारीले नै सुरुवात गरेका हुन् । जसले एमालेलाई मदन भण्डारीदेखि केपी शर्मा ओलीसम्मलाई ‘लोकप्रिय’ बनाउन भूमिका खेलेको छ । गलत तर्कमा अडान लिँदा उस्तै आलोचनासमेत खेपेका छन् । 

भण्डारीले देखाएको अर्को संस्कार हो– इमानदार छवि । भण्डारीको पालामा व्यक्तिगत स्वच्छता, मितव्ययिता, सरल जीवनशैलीले कम्युनिस्ट नेतृत्वप्रति जनताको भरोसा बढाएको थियो । साथसाथै दीर्घकालीन प्रभाव पार्ने काम गर्ने भण्डारीको शैली अहिले पनि एमालेले पछ्याउने गरेको छ । 

सम्बन्धित खबर