
काठमाडौं : सबैभन्दा ठुलोे वामपन्थी दल नेकपा एमालेको ११औं महाधिवेशन आजबाट सुरु हुँदै छ । भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा उद्घाटन हुने महाधिवेशनका लागि २ हजार २ सय ६२ महाधिवेशन प्रतिनिधि सहभागी हुँदै छन् ।
२०४९ माघ १४–२० मा काठमाडौंमा भएको तत्कालीन माले र मार्क्सवादीको एकतापछि नेकपा (एमाले) बने पनि यसले २००६ सालमा स्थापना भएको नेकपाको मूलधार दाबी गर्दै आएको छ ।
नेपाल कम्युनिस्ट पार्टीको इतिहास खोज्दा केशरजंग रायमाझीसम्म पुगिन्छ । २००२ सालमा उनले भारतीय कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए तर पार्टी स्थापना गर्न सकेनन् । पुष्पलाल श्रेष्ठले कार्लमार्क्सको ‘कम्युनिस्ट घोषणापत्र’लाई पहिलोपटक नेपाली भाषामा अनुवाद गरेर २००५ चैत २३ मा मार्क्सवादी विचार प्रकाशित गरे । त्यसपछि उनले २००६ साल वैशाख १० गते कलकत्ताको श्यामबजारस्थित एक बंगालीको घरमा मोतीदेवी श्रेष्ठ, निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य र नारायणविलास जोशीको साथ लिएर नेकपा स्थापना गरे । पार्टी महासचिवमा पुष्पलाल आफैं भए । तर पार्टी स्थापनाको कुरालाई गोप्य नै राखेर औपचारिक जानकारी २००६ भदौ ३० गते मात्रै सार्वजनिक गरिएको थियो । तर पुष्पलाल महासचिवबाहेक कोही पनि सदस्य थिएनन् । औपचारिक रूपमा पार्टी गठन भएको सार्वजनिक गर्दा केन्द्रीय कमिटीमा मनमोहन अधिकारी, तुलसीलाल अमात्य, शैलेन्द्रकुमार उपाध्याय, डिपी अधिकारी र भाइसाहेब भनिने अयोध्या सिंहलाई सदस्य राखिएको थियो । अयोध्या सिंहलाई भारतीय कम्युनिस्ट पार्टीका प्रतिनिधिका रूपमा नेकपा केन्द्रीय कमिटीमा राखिएको थियो । यसरी पार्टी गठनमा साथ दिएका नेताहरूलाई नै कमिटीमा नराखेर अरू व्यक्तिहरू खोजिनुले कम्युनिस्ट स्थापनाको सुरुवाती चरणमै जालझेल भएको देखिन्छ । सोही लिगेसी अहिलेसम्मको कम्युनिस्टको चरित्रमा देखापरेको नेकपा एमालेका पुराना नेता लोककृष्ण भट्टराई बताउँछन् । ‘भारतीय कम्युनिस्ट नेता रत्नलाल ब्राह्मणको संगतमा पुगेका केशरजंग रायमाझी कलकत्तामा अध्ययनकै क्रममा २००२ सालतिर नै भारतीय कम्युनिस्ट पार्टीको सदस्य भएको इतिहास छ,’ उनले मध्यान्हसँग भने, ‘त्यसबेला पुष्पलाल, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास श्रेष्ठ र मोतीदेवी (दुर्गा) श्रेष्ठ नेकपाका संस्थापक हुन् । तर पुष्पलालबाहेकको नामै आएन । त्यो सुरुवाती चरण नै अलिकति जालझेलजस्तो देखिन्छ ।’
नेकपाको अधिकांश समय गुट÷उपगुटमा विभक्त हुुँदै अनेकन थरीका नामकरण गर्दै २०४९ माघ १४–२० गते भएको पाँचौं महाधिवेशनबाट मदन भण्डारीको वैचारिक दृष्टिकोण जनताको बहुदलीय जनवाद ‘जबज’ पारित भएसँगै एमालेले संस्थागत रूप लिएको हो । त्यसयता पनि पार्टी सग्लो भएन । नेताहरूबीचको गुटबन्दी र चोइटिने क्रम नरोकिए पनि नेपालको राजनीतिमा एमालेले राज्य संयन्त्रमा पटकपटक महत्वपूर्ण स्थान भने पाउँदै आएको छ ।
नेपालका कम्युनिस्ट पार्टीमा जनवादको अभ्यास भए पनि आन्तरिक जनवादकै विषयलाई लिएर टुटफुटको स्थिति बन्दै आएको विश्लेषक सुनाउँछन् । नेकपाका आरम्भिक वर्षहरूमा नै वैचारिक संघर्षलाई खुला रूपमा स्वीकार गर्ने र बहुमतको निर्णय मान्ने परम्परा अवलम्बन गरिए पनि कहिले बहसलाई निषेध गर्न खोज्दा, कहिले बहुमतको निर्णयलाई अल्पमतले अस्वीकार गर्दा फुटको शृंखला देखिँदै आएको वाम विश्लेषक झलक सुवेदी बताउँछन् । ‘जनवादको अभ्यासका सन्दर्भमा माले कालमा अनेक उतारचढाव भएका थिए,’ सुवेदी भन्छन्, ‘सिपी मैनालीमाथिको कारबाही बहसकै निरुपणका सन्दर्भमा भएको थियो । गोपाल शाक्यलाई फरक मत राखेकै कारण लामो समय कारबाही गरिएको थियो । टंक कार्कीसमेतको एउटा समूहलाई फरक विचारलाई तलसम्म लगेकै कारण लखेटिएको थियो ।’
पार्टीभित्र जनवादको अभ्यास पनि सँगसँगै आएको उनी बताउँछन् । ‘पार्टीमा आन्तरिक लोकतन्त्र र जनवादको अभ्यास गर्न नपाउने भएपछि नेताहरूले फरक बाटो रोज्दै जाँदा एमालेको अवस्था पनि खिइँदै गएको छ,’ सुवेदीले भने ।
पार्टीको पाँचांै महाधिवेशन एमालेको जीवनमा जनवादको अभ्यासको एउटा कोसेढुंगाका रूपमा लिन सकिने उनको तर्क छ । त्यहीबाट एमालेले आन्तरिक पार्टी जीवनमा जनवादको अभ्यासलाई खुला र सहज बनाउँदै लगे पनि पार्टी संस्थापनले विषयलाई गिजोल्ने, पार्टी नोकरशाहीलाई संस्थापनका पक्षमा चलखेल गर्न लगाउने र फरक मतलाई अवरोध गर्ने प्रयास भइरहेको सुवेदीको टिप्पणी छ । मदन भण्डारीले ल्याएको जनवादले अभ्यासले एमालेमा आफ्ना विरुद्ध दस्ताबेजसहित बहस र आलोचनामा उत्रनेहरूलाई पनि ससम्मान गर्ने, केन्द्रीय नेतृत्वमा स्थान दिने, सँगै लिएर हिँड्ने प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने कुरालाई राज्य सत्ता र पार्टीभित्र पनि समान रूपले लागू गर्नुपर्ने कुरालाई सैद्धान्तिकीकरण गरेको थियो सुवेदीले बताए । ‘तर अहिलेको नेतृत्वबाट एमाले त्यस्तो अपेक्षा गर्न नपाइने अवस्थामा पुगेको छ,’ सुवेदीले भने, ‘अहिले कमरेड केपी ओलीको समय हो र उहाँको व्यवहार र अभिव्यक्तिले ओलीलाई जनवाद खासै रुचि लाग्ने शब्द नभएको देखिन्छ ।’
महाधिवेशन इतिहास
प्रथम
नेकपाले २००८ असोज ११ देखि १६ गतेसम्म (६ दिन) भारतको कलकत्तामा प्रथम राष्ट्रिय सम्मेलन भयो । प्रथम सम्मेलनबाट पुष्पलाल महासचिवमा चयन भए । पाँच जनाको राजनीतिक समितिमा पुष्पलालका अतिरिक्त मनमोहन, तुल्सीलाल, शैलेन्द्रकुमार र भाइसाहेब थिए । २००८ सालमा नै मनमोहनले पुष्पलाललाई हटाएका थिए । नेकपाको पहिलो महाधिवेशन २०१० माघ १७ मा भूमिगत रूपमा उद्घाटन भई नौ दिनसम्म चलेको थियो । महाधिवेशनबाट मनमोहन महासचिवमा चयन भए ।
दोस्रो
नेकपाको दोस्रो महाधिवेशन २०१४ जेठ १५–२५ सम्म काठमाडौंको फोहरा दरबार (अहिले निर्वाचन आयोग भएको स्थल)मा भयो । पहिलो महाधिवेशनद्वारा निर्वाचित महासचिव मनमोहन चीनमा उपचारका लागि बसेकाले दोस्रो महाधिवेशनमा उपस्थित भएनन् । केशरजंगले नै कार्यवाहक महासचिवकै हैसियतले महाधिवेशन गराए । सो महाधिवेशनले केशरजंगद्वारा प्रस्तुत दस्ताबेज अस्वीकृत गरे पनि उनलाई पुनः महासचिवको जिम्मेवारी दियो । नेतृत्वमा केशरजंग गुटको नियन्त्रण रह्यो । मतदानमा केशरजंगले १७ मतमध्ये १२ पाएका थिए भने पुष्पलालले ५ मत मात्रै पाए ।
तेस्रो
२०१९ वैशाख ४ देखि १५ गतेसम्म नेकपाको तेस्रो महाधिवेशन भएको थियो । तेस्रो महाधिवेशनद्वारा गठित केन्द्रीय कार्यकारिणी समिति विवादका कारण निष्क्रिय रह्यो । २०२४ सालमा पुष्पलाल पक्षबाट केन्द्रीय नयाँ समिति निर्माण गर्दै एउटा कन्भेन्सन आयोजना गरियो । नेताहरूबीच आन्तरिक विवाद चुुलिँदै जाँदा मोहनविक्रम सिंहले मोहन विक्रमले पुष्पलाललाई गद्दारको संज्ञा दिँदै आफ्ना पक्षका नेताहरू बोलाएर मोहनविक्रमकै नेतृत्वमा २०३१ भदौ ३० देखि असोज ७ गतेसम्म भारतमा चौथो महाधिवेशन गरे ।
अर्को पक्षले २०३६ सालमा एकता सम्मेलन गरी नेकपा घोषणा गर्यो । नेकपामा फुट र विभाजनका कारणले दर्जन बढी कम्युनिस्ट पार्टी जन्मिए । त्यससँगै कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न कोओर्डिनेसन केन्द्र बन्यो । त्यो नै नेपाली कम्युनिस्ट आन्दोलनको मूलधार बन्दै गएको इतिहास छ । जसलाई नेकपा एमालेको आफ्नो लिगेसी दाबी गर्दै आएको छ । २०३२ सालमा विराटनगरमा अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डिनेसन कमिटी (कोके) गठन भयो ।
कोकेकालका सिपी मैनाली, झलनाथ खनाल, माधव नेपाल, मुकुन्द न्यौपाने, अमृत बोहरा, गोविन्द न्यौपाने, मणिलाल राई र रामचन्द्र तथा मुक्तिमोर्चाबाट २०३४ सालमा कोकेमै आएका जीवराज आश्रित, मदन भण्डारी, मोदनाथ प्रश्रित, वामदेव गौतमलगायतका नेताहरूबाट बनेको थियो । २०३९ सालमा मालेभित्र खटपट भयो, पार्टी फेरि समस्यामा पर्यो । सिपी महासचिव थिए । उनको पार्टी कमिटीसँग अन्तरविरोध बढ्दै जाँदा सिपीले माधवलाई महासचिवको जिम्मेवारी लिन आग्रह गरे पनि माधव र वामदेवको प्रस्तावमा झलनाथ महासचिव भएका थिए ।
चौथो महाधिवेशन
नेकपा (माले)द्वारा २०४६ साल भदौ ९–१४ मा सिरहाको विष्णुपुरकट्टीस्थित माले कार्यकर्ता बलबहादुर सुनुवारको घरमा भूमिगत रूपमा नेकपाको चौथो महाधिवेशन भयो । चौमबाट पार्टीको लाइन पनि फरक हुँदै आयो । निर्मल लामा, अमिक शेरचन, नरबहादुर कर्माचार्य, जयगोविन्द साह, चित्रबहादुर आलेहरूले दरभंगामा छुट्टै पार्टी गठनका लागि प्रथम राष्ट्रिय सम्मेलन अयोजक समिति बनाए । उनीहरूले २०३१ सालमा चौथो महाधिवेशन गरेर पार्टीको नाम नै नेकपा (चौथो महाधिवेशन) अर्थात् चौम राखे ।
२०४६ सालमा जनआन्दोलनका लागि वाममोर्चा गठन गर्ने र प्रजातान्त्रिक आन्दोलनका लागि नेपाली कांग्रेससँग कार्यगत एकता कायम गर्ने कुरामा चौथो महाधिवेशनको महत्वपूर्ण योगदान रहेको एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बताए । चौथो महाधिवेशनले मदनलाई महासचिव निर्वाचित गर्यो । कम्युनिस्ट आन्दोलनभित्रको एउटा घटक नेकपा (माले)ले आयोजना उक्त महाधिवेशनले नेपालको राजनीतिमा दूरगामी प्रभाव परेको पोखरेलको भनाइ छ । ‘त्यो महाधिवेशनमा माओत्सेतुङ विचारधारालाई निरन्तरता दिने कि छोड्ने भन्नेमा ठुलो बहसपछि भोटिङ भयो,’ पोखरेलले अनुभव सुनाए ।
माओत्सेतुङ विचारधारा राख्नुपर्छ भन्ने लाइनमा अमृत बोहरा, अष्टलक्ष्मी शाक्य, अशोक राईलगायत नेता थिए । यही महाधिवेशनले मदन भण्डारीलाई महासचिवमा स्थापित गर्यो । त्यतिबेला सिपी, झलनाथ, जीवराज, माधव पोलिटब्युरोमा थिए । अमृत बोहोरा वैकल्पिक पोलिटब्युरो भए । केन्द्रीय समितिमा अशोक राई, ईश्वर पोखरेल, केपी ओली, प्रदीप नेपाल, वामदेव गौतम, राधाकृष्ण मैनाली, त्रिलोचन ढकाल, युवराज ज्ञवालीलगायत थिए ।
पाँचौं महाधिवेशन : जबजको जन्म
२०४९ माघ १४–२० मा काठमाडौंमा भएका पाँचौं महाधिवेशन नेकपा एमालेकै नाममा भएको पहिलो महाधिवेशन थियो । त्यसअघि २०४७ पुस २२ गते नेकपा माले र मनमोहन अधिकारी नेतृत्वको नेकपा मार्क्सवादीबीच पार्टी एकता भएर नेकपा एमाले गठन भएको थियो । अध्यक्ष मनमोहन अधिकारी भए भने शक्तिशाली महासचिवमा मदन भण्डारी नै छानिए । पोलिटब्युरोमा सिपी, जीवराज, झलनाथ, माधव, बलराम उपाध्याय, भरतमोहन अधिकारी, सहाना प्रधान र सिद्धिलाल सिंह थिए । अमृत बोहोरा, ईश्वर पोखरेल, केपी ओली, मुकुन्द न्यौपाने, राधाकृष्ण मैनाली, केशरमणि पोखरेललगायत नेता केन्द्रीय समितिमा परे । पाँचौं महाधिवेशनले मदन भण्डारीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन ‘जनताको बहुदलीय जनवाद’ पारित गरेको थियो । भण्डारीविरुद्ध सिपी मैनालीले ‘परिमार्जित नौलो जनवाद’ र मोहनचन्द्र अधिकारीले ‘नौलो जनवाद’ प्रस्तुत गरे । तर ती फरक मतले कुनै स्थान नपाएको नेताहरू बताउँछन् ।
छैटौं महाधिवेशन
२०५४ माघ १२–१८ सम्म नेपालगन्जमा भएको छैटौं महाधिवेशनमा महाकाली सन्धिलाई लिएर एमालेभित्र भयो । पाँचौं महाधिवेशनको तीन वर्ष नपुग्दै तत्कालीन महासचिव मदन भण्डारीको दासढुंगा जिप दुर्घटनामा मृत्यु भएपछि माधवकुमार नेपाल महासचिव चयन भएका थिए । नेपालगन्ज महाधिवेशनले अध्यक्षमा मनमोहन अधिकारीलाई र महासचिवमा माधव नेपाललाई नै चयन गर्यो । तर महाधिवेशनलगत्तै २०५४ फागुन २१ मा पार्टी विभाजन भयो । सहाना प्रधान अध्यक्ष र वामदेव गौतम महासचिव रहेको नेकपा माले गठन भयो । त्यसको चार वर्षपछि २०५८ फागुन ४ गते पुनः पार्टी एकता गरिएको थियो ।
सातौं महाधिवेशन
२०५९ माघ १८–२२ मा जनकपुरमा भएको एमालेको सातौं महाधिवेशन अधिवेशनबाट माधव नेपाल र केपी ओलीका अलग समूह बने । तर नेपाललाई महासचिव बन्नबाट रोक्ने ओलीको चाहना पूरा भएन । महाधिवेशनले पुनः माधव नेपाललाई नै महासचिव निर्वाचित गर्यो ।
आठौं महाधिवेशन
२०६५ फागुन ५–१४ मा बुटवलमा आठौं महाधिवेशनमा पहिलोपटक एमालेमा बहुपदीय व्यवस्थामा गयो । शक्तिशाली महासचिव प्रणालीबाट अध्यक्ष शक्तिशाली हुने प्रणालीमा प्रवेश गरेको एमालेमा पहिलो शक्तिशाली अध्यक्ष झलनाथ खनाल भए । महाधिवेशनमा झलनाथ र केपी ओलीले अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । ओलीलाई खनालले १ सय १७ मतले पराजित गरेका हुन् । महासचिवमा खनाल पक्षका नेता प्रदीप नेपाललाई हराउँदै ओली पक्षका ईश्वर पोखरेल विजयी भए । यो महाधिवेशन पनि नीतिभन्दा नेतृत्व केन्द्रित भएको थियो ।
नवौं महाधिवेशन
२०७१ असार १९ देखि साउन १ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा भएको नवौं महाधिवेशनबाट नेतृत्वमा केपी ओलीको इन्ट्री भयो । ओलीले माधव नेपाललाई हराउँदै अध्यक्ष बन्दा उनको उपाध्यक्षमा विद्यादेवी भण्डारी, वामदेव गौतम, युवराज ज्ञवाली, अष्ठलक्ष्मी शाक्य, भीम रावल निर्वाचित भएका थिए । महासचि ईश्वर पोखरेल, उपमहासचिवमा विष्णु पौडेल र घनश्याम भुसाल, सचिवमा प्रदीप ज्ञवाली, भीम आचार्य, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट, योगेश भट्टराई निर्वाचित भएका थिए । सोही महाधिवेशनपछि एमालेमा गुटगत राजनीतिक मौलाउँदै गएको विश्लेषक बताउँछन् ।
१०औं महाधिवेशन
२०७८ मंसिर १० देखि १४ सम्म चितवनमा भएको एमालेको १०औं राष्ट्रिय महाधिवेशनबाट ओली दोस्रोपटक अध्यक्षमा निर्वाचिन भए । ओलीविरुद्ध भीम रावलले उम्मेदवारी दिएका थिए । महाधिवेशनपछि २०७९ मा भएको आमनिर्वाचनमा एमाले देशको दोस्रो ठुलो दल बन्यो । ओलीले आमनिर्वाचनमा भीम रावल, घनश्याम भुसालसहितका दिग्गज नेताहरूलाई टिकट दिएनन् । महाधिवेशनमा आफूलाई असहयोग गर्नेप्रति असहिष्णु देखिएका ओली ११औंं महाधिवेशनमा सहजै अध्यक्ष बन्ने योजनामा छन् । तर उनलाई विगतमा साथ दिएका ईश्वर पोखरेलसहितका नेताहरूले काउन्टर दिएका छन् । मंसिर २९ सम्म सम्पन्न हुने यो महाधिवेशनले कस्तो परिणाम ल्याउँछ र एमालेको आगामी यात्रा कस्तो हुन्छ ? भन्ने आमचासोको विषय बनेको छ ।
एमाले महाधिवेशन टाइम लाइन
कम्युनिस्ट घोषणपत्र अनुवाद–२००५ साल चैत्र २३ गते
नेकपा स्थापना–२००६, वैशाख १० गते
औपचारिक घोषणा : २००६ भदौ ३० गते
प्रथम राष्ट्रिय सम्मेलन (कलकत्ता) २००८ असोज ११–१६ सम्म
प्रथम महाधिवेशन : २०१०, माघ १७–२६ सम्म
दोस्रो महाधिवेशन : २०१४ जेठ १५–२५ सम्म
तेस्रो महाधिवेशन : २०१९ वैशाख ४–१५ सम्म
चौथो महाधिवेशन : २०३१ भदौ ३० गते
मोहनविक्रमसहितको चौथो महाधिवेशन २०३१ असोज ७ गते
कोअर्डिनेसन केन्द्र गठन–२०३२
नेकपा (माले) गठन : २०३५, पुस ११
नेकपा (माले) चौथो महाधिवेशन : २०४६ भदौ ९–१४ सम्म
नेकपा माले र मार्क्सवादीबीच एकता : २०४७, पुस २२ गते
पाँचौं महाधिवेशन : २०४९ माघ १४–२० गते मदन भण्डारीको उदय ‘जबज’ पारित
छैटौं महाधिवेशन : २०५४ माघ १२–१८ सम्म
वामदेव गौतमको नेतृत्वमा पार्टी विभाजन २०५४, फागुन २१ गते
पार्टी एकता : २०५८ फागुन ४ गते
सातौं महाधिवेशन : २०५९, माघ १८–२२ सम्म
आठौं महाधिवेशन : २०६५ फागुन ५–१४ सम्म
नवौं महाधिवेशन : २०७१, असार २९– साउन १ सम्म
एमाले र माओवादी केन्द्रबीच एकीकरण, नयाँ नाम नेकपा २०७५ जेठ ३ गते
१०औं महाधिवेशन : २०७८, मंसिर १०–१३ सम्म
११औं महाधिवेशन : २०८२ मंसिर २७–२९ काठमाडौं भृकुटीमण्डप