
अमेरिकाले आफ्नो राष्ट्रिय सुरक्षा रणनीति सार्वजनिक गरेसँगै यसको ठूलो तरङ्ग युरोपमा परेको छ । डोनाल्ड ट्रम्प प्रशासनका प्रत्येक कदममा विश्वकै नजर रहँदै आएको त छ, तर यस पटक युरोपेलीहरू सूक्ष्म रूपमा विचार–विमर्शमा देखिन्छन् । अमेरिकी नयाँ राष्ट्रिय सुरक्षा रणनीतिमा युरोपका नीतिहरू, आप्रवासन नीति, राजनीतिक संरचना र अभिव्यक्ति स्वतन्त्रताको बारे विस्तृत अनि कठोर टिप्पणी समेटिएपछि युरोप–अमेरिकाको सम्बन्ध अब कस्तो हुनुपर्छ ? कसरी अघि बढ्नुपर्छ भन्ने ध्यानमा केन्द्रित छ । यस्तो किन पनि भएको हो भने, हालसम्म अमेरिका युरोपको नजिकको साझेदारका रूपमा रहेको राष्ट्र हो । तर, अहिले ट्रम्पले रणनीतिक साझेदारीभन्दा व्यापारिक साझेदारी जस्तो बाटोतर्फ डोर्याउन थालेको अमेरिकी रणनीतिक दस्तावेजले देखाएको छ । अमेरिकाले भनेको छ– अब अमेरिकाको प्राथमिकता ‘अमेरिकाको राष्ट्रिय हित’ मा आधारित हुनेछ ।
युरोपको टिप्पणी गर्ने क्रममा अमेरिकाले यतिसम्म भनेको छ कि, युरोपेली संयन्त्रहरू कमजोर, दिशाहीन र भविष्यमा संकटतर्फ धकेलिँदै गएको छ । हो, त्यसैले नै अमेरिकी रणनीतिमा ब्रुसेल्सको ध्यान गम्भीर छ । युरोपेली नेतृत्वले समेत अब आफ्नो सार्वभौमिकता, निर्णय क्षमता र स्वतन्त्र रणनीतिक सोचमा केन्द्रित बन्दै जानुपर्ने बताइरहेको छ । अमेरिका र युरोप विश्व राजनीतिमा प्रभावकारी उपस्थिति जनाउने महत्वपूर्ण पक्ष हुन् । त्यसैले पनि अब यी दुई ध्रुवबीचको सम्बन्धबारे नेपाल जस्ता मुलुकले पनि चासोमा राख्नु स्वाभाविक हो ।
ट्रम्प सरकारले नयाँ रणनीति सार्वजनिक गर्नु पहिले नै अमेरिका र युरोपबीच तालमेलमा नयाँ अवस्था आउन सक्ने चर्चा चलिरहेको थियो । युरोपियन अधिकारीहरूले सार्वजनिक रूपमा नै रणनीतिक पक्षमा देखिन सक्ने कठोरताबारे बताउने गरेका थिए । अमेरिकी रणनीतिमा अहिले युरोपेली राजनीतिज्ञहरूका प्रतिक्रियाहरू मिश्रित देखिएका छन् । धेरै विश्लेषकहरूले अमेरिकाले युरोपको आप्रवासन र राजनीतिक स्वतन्त्रताका विषयमा अतिरञ्जित रूपमा चित्रण गरेको टिप्पणी गरेका छन् । यद्यपि, केही युरोपेली नेतृत्वहरूले भने अमेरिकी टिप्पणी पूर्ण रूपमा आधारहीन भने छैन भनेका छन् ।
यता, अमेरिकी रणनीतिमा युरोपको आलोचनाबारे युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले कडा टिप्पणी गर्दै चेतावनी दिइरहेका छन् । युरोपको राजनीतिक दिशामा अमेरिकी हस्तक्षेपको प्रयास देखिएकाले यो कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट सन्देश कोस्टाको छ ।
खासमा ट्रम्प प्रशासनको सद्भाव युरोपभित्रका ‘देशभक्त’ भनिएका दक्षिणपन्थी दलहरूमा देखिन्छ । ट्रम्पले उनीहरूलाई सकारात्मक रूपमा हेरेको देखिन्छ । यसले पनि युरोपेली मूलधारका नेताहरूलाई चिन्तित बनाएको छ । सकारात्मक रूपमा हेरेको कथनले पनि युरोपेली मुख्यधारका नेताहरूलाई चिन्तित बनाएको छ । जर्मनीको एएफडी जस्ता दलहरूसँग अमेरिकाका रिपब्लिकन नेताहरू नजिकिँदो क्रममा देखिँदा ब्रुसेल्समा असहजताको स्थिति बढेको छ अहिले । अर्को महत्वपूर्ण र संवेदनशील पक्ष भनेको अमेरिकी रणनीतिमा युरोपको आप्रवासन नीतिलाई ‘महादेशका सबैभन्दा गम्भीर समस्यामध्ये एक’को रूपमा चित्रण गरिएको छ । आप्रवासन रोक्ने र सीमा कडाइका लागि अमेरिकी कूटनीतिज्ञहरूलाई युरोपेली सरकारहरूसँग लबिङ गर्न निर्देशन दिइएको छ भनी तथ्य सार्वजनिक भएको विषयले युरोप–अमेरिका सम्बन्धको परिस्थितिलाई झनै संवेदनशील बनाएको छ ।
युरोपेली संघकी परराष्ट्रनीति प्रमुख काजा कालासले अमेरिकी रणनीतिबारे नरम प्रतिक्रिया जनाएकी छन् । धेरै आलोचना भए पनि त्यसमध्ये केही कुराहरू सही पनि रहेको उनको प्रतिक्रिया छ । युरोपले विशेषगरी रुसप्रतिको नीतिमा आफ्नो शक्ति, क्षमता र प्रभावलाई पर्याप्त रूपमा प्रयोग नगरेको कुरा सत्य हो भन्ने भनाइ कालासको छ । उनले रुस–युक्रेन युद्धले युरोपलाई सुरक्षा, ऊर्जा, कूटनीति र रक्षा तयारीका हिसाबले पछाडि परेको अनुभूति गराएको र अमेरिकाको रणनीतिले यसै कमजोरीलाई चित्रण गर्न खोजेको देखिन्छ भनेकी छन् । केही समय पहिले काजा कालासले दोहामा भएको एक कार्यक्रममा पनि यो विषय संकेत गरेको देखिन्थ्यो । उनको स्पष्ट सन्देश थियो कि, परस्पर सम्मान, साझेदारी र साझा हितमा आधारित सहयोग नै अमेरिका–युरोपको हितमा छ ।
राजनीतिज्ञहरू, कूटनीतिज्ञहरूका धेरै धारणाहरू देखिए पनि महत्वपूर्ण कुरा भनेको युरोपेली संघको आधिकारिक धारणा हो । युरोपेली संघको स्पष्ट धारणा छ, युरोपको निर्णय सार्वभौमिकता अविचलित छ । युरोपेली आयोगकी प्रमुख प्रवक्ता अनिता हिप्परले स्पष्ट सन्देश दिएकी छन् । प्रमुख प्रवक्ता हिप्परको भनाइले युरोपेली संघको आधारभूत र राजनीतिक आत्मनिर्णय क्षमतामा कुनै बाह्य शक्तिको प्रभाव पर्न नसक्ने चेतावनीको सन्देश दिएको बुझ्न सकिन्छ ।
हुन त विश्व राजनीतिमा सधैँ शान्ति कहिल्यै छैन, त्यो असम्भव जस्तै पक्ष हो । तर, सन् २०१६ को ब्रेक्जिट, विश्व राजनीतिमा बढिरहेको अस्थिरता साथै रुस–चीनसँगको शक्ति प्रतिस्पर्धाका कारण युरोपलाई केही वर्षयता आफ्नो रणनीतिक स्वतन्त्रताबारे पुनर्विचार गर्नुपर्ने बाध्यता जस्तो परिस्थिति छ । झन् यसै समयमा अमेरिकाले गरेको कठोर आलोचनाले युरोपलाई आत्मपरीक्षणतर्फ होमिनुपर्ने अवस्था बन्न पुगेको छ ।
विश्वमै प्रभाव पार्न सक्ने शक्ति हुन्, अमेरिका–युरोप । उनीहरूबीचको सम्बन्ध केवल कूटनीतिमा सीमित छैन; ऐतिहासिक, सुरक्षात्मक र आर्थिक पक्षहरूसँग धरातलसम्मै जोडिएको छ । अब भने ट्रम्प प्रशासनको दृष्टिकोणमा कूटनीतिक साझेदारीभन्दा लेनदेनमा आधारित साझेदारी प्राथमिकतामा छ । यता, युरोपका लागि आवश्यक साझेदारीका मुख्य आधार बराबरीमा आधारित कूटनीतिक सम्बन्ध देखिन्छ । सुरक्षाका क्षेत्रमा नाटोको भविष्य, रुस–युक्रेन युद्ध, पूर्वी युरोपको सुरक्षा र चीनसँगको शक्ति प्रतिस्पर्धामा दुवै पक्षको साझा हित देखिन्छ । अनि, अमेरिकाले उठाएको सही बिन्दु भनेको युरोपले आफ्नो रक्षा क्षमतामा लगानी बढाउनुपर्ने आवश्यकता पनि हो । आप्रवासन र मानव अधिकारका विषयमा साझा मान्यता, आर्थिक र व्यापार नीतिमा सहकार्य आवश्यक छ ।
अमेरिकाको राष्ट्रिय सुरक्षा रणनीतिमा युरोपबारे कठोर आलोचना त छ तर, यसलाई अवसरका रूपमा बुझ्न पनि सकिन्छ । आफ्नो शक्ति र क्षमता पुनः मूल्यांकन गर्दै कूटनीतिक आत्मनिर्भरता बढाउने, रक्षा र ऊर्जा क्षेत्र सुधार तथा अमेरिका–युरोपबीचको साझेदारीमा समायोजन गर्ने, युरोपको एकता सुदृढ गर्ने अवसरका रूपमा अमेरिकी आलोचनालाई ग्रहण गरिए युरोपका लागि फाइदाजनक देखिन्छ ।