
मानिसलाई पृथ्वीको सबैभन्दा चेतनशील प्राणी भनिन्छ, तर चेतनाको अर्थ के हो भन्ने कुरा हामीले व्यवहारमा सधैँ बिर्सने गर्छौँ । सोच्ने, बुझ्ने र विवेक प्रयोग गर्ने क्षमताको अर्थ मात्र चेतना होइन, त्यस क्षमतालाई अनुशासन र नैतिकतासँग जोडेर प्रयोग गर्न सक्नु नै वास्तविक चेतना हो । आजको समाजमा मानिसले यिनै आधारभूत नियमहरूलाई मोल लाएर हिँड्दा प्रकृतिका अर्ध–चेतनशील प्राणीहरू पनि हामीभन्दा धेरै अनुशासित र विवेकी देखिन थालेका छन् ।
कृषि जीवनमा एउटा गहिरो नियम छ– गोठमा ५० माउ बाख्रा भए पनि एउटा मात्र बोका राखिन्छ, त्यो पनि कहिल्यै आफ्नै गोठको वंशको हुँदैन । कारण स्पष्ट छ– समान वंशबिचको सम्बन्धले सन्तानको शारीरिक र मानसिक कमजोरी ल्याउँछ, वंशको गुणस्तर घटाउँछ र रोग प्रतिरोधात्मक क्षमता कमजोर पार्छ । यो प्रकृतिको विज्ञान हो, जसलाई बाख्रा जस्ता अर्ध–चेतनशील प्राणीले पनि पालन गर्छन् । तर चेतनशील भनिने मानव भने यही नियम तोड्न हिचकिचाउँदैन । मायाको नाममा वा परम्पराको नाममा सगोत्री सम्बन्धमै विवाह गर्छ र त्यसको नतिजा पुस्तौँसम्म भोग्न बाध्य हुन्छ ।
त्यस्तै, परेवाको जीवन पनि अनुशासनको अद्भुत उदाहरण हो । पोथीले अण्डा पारेपछि भाले र पोथी पालो–पालो बसेर १६ दिनसम्म अण्डा कोर्लिन्छन् । एकले काम गर्दा अर्कोले विश्राम लिन्छ, अनि अर्कोले जिम्मेवारी लिन्छ । राति त परेवा भालेले पोथी नजिक बस्न पनि मानेको हुँदैन, प्रकृतिले तोकेको समय र दूरीको सम्मान गर्छ । तर, मानिस जसले विवेक र शिक्षा पाएको छ, उसले समयको संयम र दायित्वको सिमाना भुल्छ । जीवनको मूल सन्देश अनुशासनमा छ भन्ने कुरा परेवा जस्तो सामान्य जीवले बुझ्दछ, तर चेतनशील मानवले बुझ्दैन ।
गाईले पनि मातृत्वको नियम प्रकृतिबाटै सिकेको हुन्छ । उसले बच्चा जन्माएपछि निरन्तर उसको सुरक्षा गर्छ, उसको हेरचाहमा रातदिन बिताउँछ । चेतनाहीन भएर पनि मातृत्वको धर्म पूरा गर्छ । तर मानिसमा चेतना छ, विवेक छ, तर मातृत्व र पारिवारिक जिम्मेवारीलाई कतिपयले क्षणिक चाहनामा बिर्सन्छन् । यही चेतनाको अभाव र जिम्मेवारीको ह्रासले आजको समाजमा विकृति ल्याएको छ ।
मानव जीवनमा अनुशासन नै सभ्यताको मेरुदण्ड हो । तर आज मानिसले अनुशासनलाई नियन्त्रणको प्रतीक ठानेर आत्म स्वच्छन्दतालाई स्वतन्त्रता ठान्छ । सगोत्री मिचेर विवाह गर्ने, नारीमाथि अन्याय गर्ने, नैतिक सिमाना तोड्ने, यौन–अनुशासन भुल्ने, यी सबै चेतनशीलताको अवमूल्यन हुन् । चेतनशील भएर पनि यदि व्यवहार पशु तुल्य भयो भने त्यो चेतना व्यर्थ हो । प्रकृतिले दिएको चेतना भनेको सोच्ने मात्र होइन, सही निर्णय गर्ने क्षमताको अभ्यास हो ।
पुराना पुस्ताले ‘सगोत्री मिचेर विवाह नगर्नू, पाँच पुस्तासम्म असर पर्छ’ भनेर चेतावनी दिनुको कारण पनि विज्ञानमै आधारित थियो । एकै वंशबिचको सम्बन्धले शरीर र मन दुवैमा असामान्यता ल्याउँछ । सन्तान कमजोर, असन्तुलित र व्यवहारमा आक्रामक बन्न सक्छ । पारिवारिक झगडा, मानसिक विकार र शारीरिक अस्वस्थता यस्ता सम्बन्धहरूको परिणाम हुन् । तर आज पनि हामी ‘केही हुँदैन’ भन्दै प्रकृतिको नियमसँग खेल्ने दुस्साहस गर्छौँ । चेतनशील प्राणीको यो विडम्बना नै मानव सभ्यताको ठूलो विफलता हो ।
समाधान सरल छ तर प्रयास चाहिन्छ । शिक्षा प्रणालीमै सगोत्री नियम, जैविक विज्ञान, नैतिकता र पारिवारिक अनुशासनबारे पाठ्यक्रम समावेश गर्नुपर्छ । विद्यालयदेखि नै चेतनाको साँचो अर्थ सिकाइए मात्र समाज सुधारतर्फ अघि बढ्न सक्छ । सानो उमेरदेखि अनुशासन र जिम्मेवारीको शिक्षा पाएका पुस्ताले मात्र स्वस्थ परिवार र सन्तुलित समाज निर्माण गर्न सक्छन् ।
प्रकृतिले हामीलाई सोच्ने शक्ति दिएको छ, तर त्यस सोचलाई अनुशासनमा रूपान्तरण गर्ने जिम्मेवारी पनि हामीकै हो । यदि बाख्रा, परेवा, गाईले आफ्नो प्रजातिको संरक्षणका लागि नियम पालना गर्न सक्छन् भने मानिस किन नसक्ने ? चेतना तब मात्र मूल्यवान् हुन्छ जब त्यसले व्यवहारलाई नैतिक बनाउँछ ।
मानिस भएर जन्मनु मात्र पुग्दैन, मानिसजस्तै बाँच्न पनि सक्नुपर्छ । चेतना प्राप्त गर्नु प्रकृतिको उपहार हो, तर अनुशासन पालन गर्नु हाम्रो कर्तव्य हो । यही चेतनशील अनुशासनले समाजलाई सभ्य, सन्तुलित र स्थायी बनाउँछ । अहिले नै हामीले आफ्ना परिवारमा र समुदायमा अनुशासन, सगोत्री नियम र नैतिकताको बीज रोप्न सकेँ भने भविष्य उज्यालो हुनेछ । नत्र चेतनाको गर्व गर्दै पनि व्यवहारमा अन्धकार फैलाउन बाँकी रहन्छ ।