२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

लगानीकर्ताको मनोबल

shivam cement
जगतजंग जिसी
२०८२ पुष २ गते ०६:०५
Shares
लगानीकर्ताको मनोबल

राजनीतिक उतारचढावको प्रभाव सबैजसो संरचनामा पर्ने गर्दछ । यसपटक आकस्मिरुपमा भएको जेनजी आन्दोलनबाट पनि अर्थतन्त्र निकै प्रभावित बन्यो । आन्दोलनको निशानामा ठूला उद्योगी र कर्पोरेट हाउस परे । हिल्टन, सोल्टी होटेलसँगै दर्जनौं व्यवसायिक प्रतिष्ठानहरु जल्न पुगे । जसबाट उद्योगी तथा व्यवसायी निकै प्रभावित बने । आजको दिनमा पनि आन्दोलनको प्रभाव अन्त्य भइसकेको छैन । जसको प्रभावलाई कम गर्नेतर्फ पनि सरकारले नीति लिन सकेको छैन । जसकारण उद्योगी तथा व्यवसायीक क्षेत्रको मनोबलमा सुधार आउन सकेको छैन ।

नेपाली अर्थतन्त्रको सम्भावना अत्यधिक रहेको भए पनि समस्याहरू पनि उत्तिकै छन् । राजनीतिक अस्थिरता, सरकारी प्रक्रियामा ढिलासुस्ती र केही संस्थागत अवरोधहरूले बाह्य लगानीलाई आकर्षित गर्न र जोगाउन कठिनाइहरू सिर्जना गरिरहेका छन् । विशेषगरी, नेपालका लागि विदेशी लगानीकर्ताहरूको चिन्ता भनेको यहाँको राजनीतिक अस्थिरता र निर्णय प्रक्रियाबिचको असमझदारी हो । तर, यसका लागि सरकार र सम्बन्धित निकायहरूले यथासम्भव समाधानको उपाय खोजेका छैनन् ।

विदेशी लगानीकर्ताहरूको पहिलो चिन्ता भनेको राजनीतिक अस्थिरता हो । नेपालको राजनीतिक परिप्रेक्ष्यमा बारम्बारको सत्ता परिवर्तन र अस्थिरता लगानीका लागि प्रतिकूल रहेको छ । यद्यपि, सरकारले यसलाई सम्बोधन गर्न ठोसरुपमा नीति र सुधारका उपायहरू गर्न सकेको छैन । ट्रम्स  एण्ड कन्डिसनमा स्पष्ट ग्यारेन्टीहरू राख्नका साथै, लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्ने प्रबन्ध हुन सकेको छैन । भएका प्रबन्धबारे सजिलै जानकारी नभएर पनि यस सम्बन्धी नकारात्मक धारणा अझै बलियो रहिरहेको छ । यसका लागि सरकारले यसलाई सामान्य जनतासम्म प्रभावकारी तरिकाले पु¥याउन सक्नुपथ्र्यो तर हुन सकेको छैन । पछिल्लो समय विभिन्न सुधारका प्रयास भइरहेका भए पनि विश्वास दिलाउने गरी काम भइरहेका छैनन् ।

दोस्रो प्रमुख चिन्ता भनेको सरकारी निकायमा ढिलासुस्ती र अप्ठ्यारा प्रक्रिया हो । नेपालमा प्रशासनिक प्रक्रिया धेरै समय लिने र कर्मचारीहरूको लापरबाहीले व्यवसायी र लगानीकर्तालाई कठिनाइमा पार्ने गरेको छ । तथापि, यसमा पनि सुधारको प्रयास भने भएका पाइन्छ । कार्य सम्पादनलाई सरल र छिटो बनाउनका लागि कानूनमा संशोधन, प्रक्रिया सरल बनाउने प्रयासहरू चलिरहेका छन् । यी सुधारहरूको वास्तविक प्रभाव समयसँगै देखिने छन्, यसले नेपालमा लगानीको वातावरणलाई सुधार गर्न मद्दत पुर्‍याउने छ । यद्यपि, अहिले नै त्यसको प्रभाव देखिन कठिन छ । 

नेपालको अर्को ठूलो चुनौती भनेको ‘इन्सेन्टिभ’को अभाव हो । भारत, भियतनाम र कम्बोडियाजस्ता देशहरूले लगानीकर्तालाई आकर्षित गर्नका लागि विशेष प्रकारका कर छुट, अनुकूल नीतिहरू र सस्तो श्रम बजारको उपयोग गर्दै छन् । नेपालमा यस्ता प्रोत्साहन योजनाहरू अझै औपचारिक रूपमा व्यावहारिक छैनन् । यसका लागि सरकारले नयाँ मोडेलहरू ल्याउने प्रयास गरिरहेको देखिन्छ, जस्तै ‘अनसोलिसिटेड स्विस च्यालेन्ज मोडल’ जसको माध्यमबाट निजी क्षेत्रसँग सहकार्य गर्दै विकासका लागि अवसर सिर्जना गर्ने उद्देश्य राखिएको छ । तर, जसलाई लगानीकर्ताले विश्वास मानिहाल्ने अवस्था छैन ।

नवपुस्ता (जेनजी) आन्दोलन नेपालमा एक महत्वपूर्ण सामाजिक र राजनीतिक परिघटना हो, जसले युवा पीढीको सोच र दृष्टिकोणलाई प्रष्ट्याउँछ । यस आन्दोलनले केही हदसम्म नेपालमा अस्थिरता र अव्यवस्था सिर्जना गरेको भए पनि यसले दीर्घकालीन सकारात्मक परिवर्तनको संकेत पनि दिएको छ । यद्यपि, जेनजी आन्दोलनबाट लगानीको क्षेत्र नराम्रोसँग प्रभावित बनेको छ । लगानीकर्ताहरू अझै पनि नेपालका अवसरहरूमा विश्वास गर्न सकिरहेका छैनन् । जसमा सरकार र निजी क्षेत्रको सहयोग आवश्यक छ । यस्तो समयहरूमा सरकार र निजी क्षेत्र बिचको सामूहिक प्रयासको महत्व बढी रहेको छ ।

सँगै, नेपालको आर्थिक भविष्यलाई उज्यालो बनाउने केही आशाजनक घटनाहरू पनि छन् । उदाहरणका लागि, अघिल्लो वर्ष १०० अर्बको लगानीको लक्ष्य राखिएको थियो, तर त्यो लक्ष्यभन्दा धेरै २३६ अर्बसम्म लगानी स्वीकृत गरियो । यद्यपि, यी सबै प्रयास र उपलब्धिहरूको सही मूल्यांकन र प्रचार हुन सकेन । सकारात्मक संवाद र पारदर्शिता जस्तै पक्षहरूको अभावले नकारात्मक धारणा अझै बलियो छ । लगानीका दृष्टिकोणबाट नेपालको छवि सुधार गर्नका लागि सबै पक्षको सहकार्य आवश्यक छ ।

सार्वजनिक र निजी क्षेत्रबिचको समन्वय र विश्वासको निर्माण नेपालको आर्थिक सन्देशलाई सशक्त बनाउने छ । खासगरी, सरकारी निकायहरू र निजी क्षेत्रको सहभागिता र प्रतिबद्धता नेपालको विकासको लागि महत्वपूर्ण हुनेछ । लगानीकर्तामा विश्वास र आत्मविश्वास बढाउनु अनिवार्य छ र यसका लागि सरकारले सबै स्तरमा शीर्षक, प्रक्रिया र सुरक्षा नीति सुधार गर्नुपर्ने आवश्यकता देखिन्छ ।

श्रीलंकाको उदाहरण यस कुरा बुझ्नका लागि उपयोगी छ । त्यहाँको स्थितिले देखाउँछ कि केही समयको अस्थिरता र चुनौतीहरूको बाबजुद पनि यदि दृढ इच्छाशक्ति र समन्वयका साथ काम गरियो भने, राष्ट्र पुनः सुधार र विकासको दिशामा अगाडि बढ्न सक्छ । नेपालले पनि यस्तै स्थितिहरूलाई अवसरको रूपमा प्रयोग गर्न सक्छ । यसका लागि इकोनोमिक डिप्लोमेसीको प्रगति पनि सकारात्मक सन्देश दिने छ । वैदेशिक प्रतिनिधित्व, व्यापारिक सम्बन्ध र लगानी आकर्षणका लागि राजदूतावासहरूको थप सक्रियता र प्रभावकारिता आवश्यक छ ।

नेपालको आर्थिक दृष्टिकोणलाई सुधार गर्नका लागि अन्य देशहरूको अनुभव र नीति अझै उपयोगी साबित हुन सक्छ । देशका प्रमुख लगानीकर्ता र व्यवसायीहरूले यस समयमा आफ्नो लगानी नेपालमै राख्नको लागि प्रतिबद्धता जनाएका छन् । यसबाट सरकार र लगानी बोर्डलाई उत्साह र प्रेरणा मिलेको छ । तर, यसका लागि सही सुरक्षा प्रणाली, प्रक्रियाको सरलता र अन्तर्राष्ट्रिय मान्यताका साथ आगामी कदमहरू अगाडि बढाउनु पर्ने छ ।

नेपालका लागि चुनौतीहरूको बाबजुद अवसरको कुनै कमी छैन । नेपालको अनुकूल भौगोलिक स्थिति, युवा शक्ति र प्राकृतिक स्रोतहरूको उचित उपयोग गरेर आर्थिक समृद्धिको नयाँ युग सुरु गर्न सकिन्छ । तर, त्यसको लागि आवश्यक वातावरण बनाउनु आवश्यक हो । जसको लागि सरकारमात्रै नभई निजी क्षेत्र र सम्बद्ध सबै पक्षले उचित भूमिका खेल्नु आवश्यक छ ।

ताजा खबर

सम्बन्धित खबर