२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

अन्धविश्वासको चमत्कार र मानव सभ्यता

shivam cement
रञ्जना बास्ताकोटी
२०८२ पुष ४ गते ०६:००
Shares
अन्धविश्वासको चमत्कार र मानव सभ्यता

मानव सभ्यताको सबभन्दा ठुलो विडम्बना के हो भने हामी अझै पनि हजारौं वर्षअघि लेखिएका कथाहरूमा सत्यता खोज्दै छौं । २ हजार वर्षअघि कसैले लेखेको कुनै कथालाई आजसम्म इतिहास ठान्ने प्रवृत्ति हाम्रो चेतनाको सबैभन्दा गहिरो समस्या हो । ‘येशु’ भन्ने पात्र त्यसको सबैभन्दा ठोस उदाहरण हो– जन्ममिति अज्ञात, पिताको नाम अप्रमाणित, बाल्यकाल अस्पष्ट र अस्तित्व पुष्टि गर्ने एक टुक्रा प्रमाण पनि नपाइएको । तर आज अर्बौं मानिस उनका नाममा जीवन समर्पण गर्छन्, उद्धार खोज्छन् र स्वर्गको टिकट किन्ने आशा राख्छन् । मानौं प्रमाण होइन, विश्वास नै सत्यको मापदण्ड हो ।

धर्मग्रन्थहरूले सजाएका चमत्कारका कथाहरू विज्ञानको प्रकाशमा अर्थहीन छन् । पानीमा हिँड्ने, मृतबाट बाँच्ने, आकाशबाट सन्देश ल्याउने– यी कथा आफ्नै समयमै शंकास्पद थिए, आज त असम्भवको सूचक हुन् । तर यही असम्भवमा मानिसको मोह बस्छ किनकि असम्भव कुराले नै अद्भूतको स्वाद दिन्छ । यही अद्भूतताको व्यापार धर्मका ठगहरूले ७० शताब्दीदेखि चलाइरहेका छन् । मानिस जहाँ डराउँछ, त्यहीँ व्यापार फस्टाउँछ– पापको डर, मृत्युको भय, उद्धारको लोभ । डर र आशाको यही संगमबाट ‘चमत्कार’ नामक उत्पादन जन्मिन्छ ।

धर्मको बजारमा सबैभन्दा बढी पीडित त विश्वास गर्नेहरू नै हुन् । उनीहरू पाप र उद्धारबीचको रस्साकस्सीमा बाँधिन्छन् । विवेकभन्दा दण्डको डर ठुलो हुन्छ, प्रश्नभन्दा पापको भाव गहिरो हुन्छ । जसले ‘किन ?’ सोध्न छाड्यो, ऊ स्वतन्त्र रहँदैन, त्यो मनोवैज्ञानिक दासत्व हो । यही कमजोरी धर्म–व्यापारीहरूले सटिक रूपमा चिनेका छन् । मानिसहरूलाई ‘भरोसा गर, प्रश्न नगर’ भन्ने मन्त्र सिकाएर उनीहरूले चेतनाको ढोका बन्द गरिदिएका छन् । यही सूत्रमा चलिरहेका छन् ठुला धार्मिक संस्थान, जसले अन्धकारमा चमकको भ्रम बेचिरहेका छन् ।

अन्धभक्तको अवस्था हेरौं, न विज्ञान बुझ्ने चासो, न इतिहास जान्ने इच्छा, न त प्रमाण खोज्ने क्षमता । उसले पढ्ने कुरा प्रचार हो, सुन्ने कुरा प्रवचन । धर्मका ठगहरूले दिएको वाक्य नै उसका लागि सत्य हुन्छ । यही मानसिकता सस्तो विज्ञापनजस्तै छ, जसरी ‘हात्ती र हात्तीछाप चप्पल उस्तै हो’ भन्ने विज्ञापनमा हामी छाप खोज्थ्यौं, आज ‘येशु उद्धारकर्ता’ भन्ने वाक्यमा उसले प्रमाण होइन, मुक्ति खोज्छ । धर्मले भावनाको बजारमा ब्रान्ड निर्माण गरेको छ– ‘चमत्कार’, ‘क्षमा’, ‘स्वर्ग’ यी सबै मनोवैज्ञानिक उत्पादन हुन्, जसको मूल्य अन्धविश्वासले तिर्छ ।

तर धर्मको समस्या केवल अप्रमाणित कथामा सीमित छैन । यसले मानिसलाई वास्तविक समस्याबाट टाढा राख्छ । भोक, असमानता, विज्ञान, शिक्षा– यी सबै प्रश्न ओझेलमा पर्छन् । धर्म मानिसलाई स्वर्गको सपनामा व्यस्त राख्छ जबकि पृथ्वीमा ऊ दास बन्छ । अन्धविश्वास एउटा रोग हो– शरीरको होइन, चेतनाको । यसले सोच्ने क्षमता हराउँछ, प्रश्न गर्ने साहस मार्छ । 

राम, कृष्ण, येशु, अल्लाह– सबै पात्रहरूलाई जब तर्कको मापनमा राखिन्छ, तब उनीहरू कथाका चरित्र मात्र ठहरिन्छन्, इतिहासको पानामा होइन । हात्तीको टाउको मानिसको शरीरमा जोड्ने, पर्वत उठाउने, समुद्र मन्थन गर्ने कथा, यी सबै मानव कल्पनाको फुलबुट्टा मात्रै हुन् । तर समस्या कथामा होइन, त्यसलाई ‘सत्य’ मानेर प्रश्न गर्न नपाउने सोचमा हो । जब समाजले प्रश्न गर्न छोड्छ, त्यतिबेला नै अन्धकार जन्मिन्छ ।

सत्य सधैं सरल हुन्छ– जुन कुरा प्रमाणले पुष्टि गर्न सक्दैन, त्यो विश्वास होइन, भ्रम हो । मानिस स्वतन्त्र तब मात्र हुन्छ, जब ऊ प्रश्न गर्न सक्छ, जब ऊ डरका परिस्थितिबाट माथि उठ्न सक्छ । ज्ञान र चेतना नै मुक्तिको बाटो हो । शिक्षा त्यो शक्ति हो जसले विश्वासको जाल तोड्छ र विवेकको ज्योति बाल्छ । विज्ञानले सिकाउँछ– ‘जान्नु’ नै पूजा हो, ‘सोध्नु’ नै प्रार्थना हो । 

मुक्ति कुनै स्वर्गमा होइन, हाम्रो सोचभित्र छ । चमत्कार होइन, तर्कले नै मानिसलाई स्वतन्त्र बनाउँछ । जब हामी प्रमाणको आधारमा विश्वास गर्न थाल्छौं, तब मात्रै हामी धर्म होइन, चेतनाको मार्गमा हिँड्न थाल्छौं । र यही मार्ग नै मानव सभ्यताको वास्तविक पुनर्जन्म हो– अन्धविश्वासको चमत्कारबाट तर्कको उज्यालोतर्फको यात्राको सुरुवात हो ।

ताजा खबर

सम्बन्धित खबर