
दोस्रो संविधानसभाको सेरोफेरोबाट नयाँ राजनीतिक दल र वैकल्पिक शक्तिको बहस हुन थालेको हो । विशेषगरी, संविधान जारी भएपश्चात् खुल्ला मञ्चको संविधान घोषणा सभा असोज ३ गते संविधान जारी गर्ने दलहरूका संयुक्त आयोजनामा भएको कार्यक्रममा तत्कालीन संवैधानिक संवाद समितिका सभापति डा. बाबुराम भट्टराईले बहिष्कार गरेर ‘छक्कापञ्जा’ चलचित्र हेर्न गोपीकृष्णमा गएपछि त्यसले बहसलाई सतहमा ल्यायो । लगत्तै, उनले नयाँ शक्ति नेपाल पार्टी दशरथ रङ्गशालामा हजारौँ मानिसहरूको जमघटमा घोषणा गरेपछि त्यसले राजनीतिक आकार लिन थाल्यो । वैकल्पिक शक्तिको खाँचो रहेको औँल्याउँदै विवेकशील पार्टी, साझा पार्टीहरू स्थापना भए । ती नयाँ शक्तिहरूले संविधान जारी भएपछिको पहिलो संसदीय निर्वाचन लडे । निर्वाचनमा उत्साहजनक परिणाम निकाल्न सकेनन् । स्थानीय निर्वाचनमा पनि त्यस्तै अवस्था रह्यो ।
साझा पार्टी र विवेकशील पार्टीको उम्मेदवारहरूले काठमाडौं महानगरपालिकाको नगरप्रमुखको निर्वाचनमा उत्साहजनक मत ल्याए । तर, विजय हासिल गर्न सकेन । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को वाम गठबन्धनले दुई तिहाइ मत सो निर्वाचनमा प्राप्त गरेर सरकार बनाए । नयाँ शक्ति निर्माणको प्रयास २०७४ निर्वाचनमा निष्प्रभावी देखियो । तर, नयाँ शक्ति निर्माणको प्रयास भने जारी नै रह्यो । नयाँ शक्ति निर्माणको बहस सेलाउँदै गएको सन्दर्भमा २०७९ को स्थानीय सरकारको निर्वाचनमा जब काठमाडौं महानगरपालिकामा नगरप्रमुखको रूपमा बालेन्द्र साह, धरान उपमहानगरपालिकामा हर्क साम्पाङ, धनगढी उपमहानगरपालिकामा गोपी हमाललगायतले स्वतन्त्रबाट निर्वाचन जिते, त्यसले पुनः हौस्याए । वैशाखमा भएको सो स्थानीय तहको निर्वाचनले नयाँ शक्ति निर्माणको अभियानलाई इन्धन दियो, पुनः इन्जिन दौडिन थाले । लगत्तै भएको मंसिरको निर्वाचनमा तीन वटा दलहरू वैकल्पिक दलका रूपमा उदाए । पहिलो, राष्ट्रिय स्वतन्त्र पार्टी, दोस्रो, जनमत पार्टी र तेस्रो, नागरिक उन्मुक्ति पार्टी । ती तीनै वटा दलहरू रवि लामिछाने, डा. सिके राउत र रेशम चौधरीको व्यक्तित्वको वरिपरिबाट जन्मेका थिए ।
मुद्दाका दृष्टिकोणले रास्वपाले सुशासन र जनमत र नागरिक उन्मुक्ति पार्टीले पहिचानको मुद्दालाई अगाडि सारेका थिए । तीनै वटा पार्टीका जनआधारहरू फरक फरक थिए । रास्वपाको आधार क्षेत्र नेपाली कांग्रेस र नेकपा(एमाले)बाट बिच्किएका खसआर्य युवाहरू थिए । बाँकी दुई वटा पहिचानको माग गर्ने मधेसी र थारुहरू थिए । यी दलहरूले कूल खसेको समानुपातिक मत एक करोड ५ लाख ६० हजार ८२ मा १७ लाख ७० हजार ३०४ प्राप्त गरेका थिए । रास्वपाले ११ लाख ३० हजार ३४४, जनमत पार्टीले ३ लाख ९४ हजार ६५५ र नाउपाले २ लाख ४५ हजार ३०५ मत प्राप्त गरेका हुन् । यिनीहरूले समानुपातिकमा प्राप्त गरेका मत कूल मतको १६.७६ प्रतिशत हुन जान्छ । (स्रोतः निर्वाचन आयोग, २०७९) यस्तै परिप्रेक्ष्यमा वैकल्पिक र नयाँ शक्ति निर्माणको अभियानको गाडीलाई जब कुलमान घिसिङ जो दुई कार्यकाल नेपाल विद्युत् प्राधिकरणमा रहेर लोडसेडिङको अन्त्य गर्दै जनताको बिचमा लोकप्रिय भइरहेको थियो, उनलाई चार महिना बाँकी रहँदै सरकारले बर्खास्त गर्ने निर्णयले तीव्र गति प्रदान गर्यो ।
जेनजी विद्रोह अगाडि मिसन २०८४ को मुद्दा जोडदारका साथ उठ्न थालेका थिए । तर, जेनजी विद्रोहले त्यसलाई मिसन २०८२ मै ल्याइदियो । जेनजी विद्रोहको जगमा बनेको अन्तरिम सरकारले यही फाल्गुण २१ गते निर्वाचन घोषणा गरेको छ । जेनजी विद्रोहको रापताप र नजिकिँदो निर्वाचनलाई लक्षित गरी पुनः वैकल्पिक र नयाँ शक्ति निर्माणको अभियान द्रुत गतिमा चल्यो । निर्वाचन आयोगमा विभिन्न वैकल्पिक नामका दलहरू दर्ता भएका छन् । तिनीहरू उज्यालो नेपाली पार्टी, श्रम संस्कृति पार्टी, गतिशील लोकतान्त्रिक पार्टी र तेस्रो लिङ्गी नुमा लिम्बु(चञ्चला)को नेतृत्वमा समावेशी समाजवादी पार्टीलगायतका केही वैकल्पिक दलहरू दर्ता भएका छन् । यी सबै दलहरू विभिन्न पृष्ठभूमिबाट उदाएका व्यक्तिको व्यक्तित्वको छत्रछायामा जन्मेका छन् ।
यतिबेला पुराना राजनीतिक दलहरू प्रतिरक्षात्मक अवस्थामा छन् । जेनजी विद्रोहले ती पुराना दलहरूलाई रसातलमा पुर्याएका छन् । अहिले तिनीहरू अस्तित्वको संकटबाट गुज्रिरहेका छन् । जेनजी प्रदर्शन तत्कालीन ओली सरकारविरुद्ध मात्रै थिएन, आवरणमा सामाजिक सञ्जाल र भ्रष्टाचारको विरुद्ध देखिए पनि सारमा दलका मठाधीस र वृद्ध तन्त्रप्रति निर्भीक प्रश्नसहितको विद्रोह थियो । जेनजी विद्रोहको बेला देशका सार्वजनिक निकायहरू मात्रै जलेका थिएनन् । नेताहरूका निजी निवाससमेत जलेका–जलाइएका थिए । नागरिकका आक्रोश चरम भइसकेको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई काँधमा बोक्ने देउवा दम्पत्तिमाथि त्यो आक्रोश खनियो । तिनीहरूलाई घाइते बनाएर छाडे । ओलीलगायत अन्य नेताहरू भेटाएका भए, उनीहरूको पनि उहीँ हविगत हुने थियो । बाल–बाल ज्यान जोगाएका ती नेताहरू सुध्रिन चाहेनन् । नागरिकले त्यत्रो नसियत दिएर छाडेका ती नेताहरूमा कुनै परिवर्तन र रूपान्तरण आएको देखिँदैन । उक्त दुःखद दुर्घटनाबाट समेत पाठ नसिकेर पुनः पुरानै पारा देखाउन थालेका छन् । अब उठ्ने आन्दोलन वा विद्रोहमा नसियत नदिने सम्भावनालाई नकार्न सकिँदैन ।
नयाँको चुनौती र अवसर
नेपाली नागरिकले नयाँ र वैकल्पिक शक्तिहरूको खोजी प्रयासको लामो सिलसिला छ । पुराना राजनीतिक दलहरूको उकुसमुकुसले गर्दा नयाँको खोजी स्वाभाविकै हो । विगतका प्रयासहरू हेर्दा नयाँ र वैकल्पिक दलहरूलाई आंशिक रूपमा साथ दिएका देखिन्छन् । मूलतः सहरी क्षेत्रमा नयाँ दलहरूलाई उचित स्थान दिइएको पाइन्छ । गाउँमा अझै पुरानाहरूकै दबदबा रहेको देखाउँछ । तर अहिले सूचना प्रविधिमा आएको छलाङले गाउँघरमा पनि निकै प्रभाव पारेको देखिन्छ । नयाँ सञ्चार माध्यमहरूले विश्वमै तरङ्ग ल्याइरहेको छ । जेनजी विद्रोह त्यसको सशक्त उदाहरण हाम्रो सामुन्ने छ । सूचना प्रविधि र नयाँ सञ्चार माध्यमहरूकै कारणले भदौ २३ र २४ सम्भव भएको हो । केही घण्टामै सरकारलाई अपदस्थ गरेको हो । आज हरेक घरका एक जना विदेश नभएको कुनै घरै छैन । करिब एक करोड नेपाली बाहिरै छन् । बाहिर रहेका नेपालीहरू पुराना दलहरूप्रति रुष्ट मात्रै छैनन्, उनीहरूले भोग्न परेका दुःख र नियतिका कारक तत्व नै तिनै हुन् भन्ने गहिरो बुझाइ छ ।
आज पुराना दलहरूप्रति वितृष्णा व्यापक छ । त्यही तथ्य बुझेरै हुनुपर्छ, सर्वोच्च अदालतले प्रवासी नेपालीहरूलाई मताधिकार दिन आवश्यक कानून निर्माण गर्न सरकारलाई आदेश दिएको यतिका वर्षसम्म पनि सरकारले त्यो काम गर्नै चाहेन । जति नै जालझेल गरे पनि पुराना दलहरूलाई सुख छैन । प्रवासमा रहेका नेपालीहरूलाई मताधिकारबाट वञ्चित गर्दै आए पनि अब उनीहरूले उतैबाट जनमत प्रभावित गर्ने, निर्णायक भूमिका निभाउने र कसलाई मत दिने वा नदिने जस्ता निर्णयसमेत गर्न थालेका छन् । आफ्ना परिवारका सदस्यलाई आफूले चाहेको व्यक्ति र दललाई मत हाल्न लगाएका छन् भने इष्टमित्र, आफन्त र छरछिमेक हुँदै समाजमै प्रभाव पार्न थालेको दृष्टान्तहरू छन् । त्यो सन्दर्भमा, पुराना दलहरूलाई चुनौतीको पहाड छ भने नयाँलाई अवसरको ढोका छ ।
पुराना दलहरूले समयको गति समाउन सकेनन् । समाजको बद्लिँदो चरित्रको नाडी छाम्न सकेनन् । नागरिकले नयाँ दलहरूबाट नयाँ नीति, व्यवहार, तौरतरिका र संस्कार समेत अपेक्षा गरेका छन् । पुराना दलहरूले बद्लिँदो समयको गति समाउन, विद्यमान समाजको अपेक्षा अनुरूप कार्यसम्पादन गर्न र लोकतान्त्रिक चरित्र प्रदर्शन गर्न नसकेको परिप्रेक्ष्यमा नयाँबाट पुराना दलहरूका पुरानै प्रवृत्ति पुनरावृत्ति नहुने बलियो प्रतिबद्धतासहितको व्यवहार खोजी रहेका छन् । यस्ता न्यूनतम आधारभूत कसीमा खरो उत्रिन पर्ने चुनौतीहरू नयाँ दलहरूका लागि छन् । पंक्तिकारले थाहा पाएसम्म कतिपय नयाँ दलहरूले निर्वाचन जित्नका लागि जस्तोसुकै पृष्ठभूमिका खर्च गर्न सक्ने पैसावाला उम्मेदवार खोज्न थालेका छन् । यस्तो प्रवृत्ति प्रारम्भमै देखिनुले ‘घुमी फिरी रुम्जाटार’ भनाइलाई चरितार्थ गर्ने छ । उम्मेदवारको योग्यताको पहिलो सूचक नै पैसा खर्च सक्ने बनाउनुले पुरानाभन्दा कुनै अर्थमा फरक देखिँदैन । विगतमा यस्तै कारणले गर्दा सबै खालका कुशासनबाट नागरिक पीडित हुनु परेको यथार्थ हाम्रो सामु छ । हाम्रो राजनीतिको गोल चक्कर चुनावदेखि चुनावसम्म हुँदै आएको पनि यस्तै कारणले हो ।
चुनावमा गरिने पैसाको छेलोखेलोले नै समग्र राजनीतिलाई गिजोल्यो, भ्रष्टीकरण गर्यो र नागरिकको न्यूनतम मागलाई सम्बोधन गर्न सरकारले सकेन । नयाँ दलहरूले पुरानाबाट नसिक्नु पर्ने खराब आचरण र नीति नसिकुन् । उम्मेदवारको योग्यताका आधारहरू निम्न बनाउन पर्छ । पहिलो, स्वच्छ छवि, दोस्रो, समाजसेवी वा अरूलाई सहयोग गर्ने स्वभाव, तेस्रो, न्यूनतम शैक्षिक योग्यता, चौथो, सोचनशील÷कल्पनाशील (भिजनरी) र पाँचौँ, द्रुत गतिमा काम गर्न सक्ने ।
अहिले नयाँ उदाउन थालेका दलहरू किन मिलेर आउन नसकेको प्रश्न जोडदार सबैतिर चर्चामा छ । काठमाडौं महानगरपालिकाको २०७४ को निर्वाचन र संसदको निर्वाचनमा विवेकशील र साझा दुवै पार्टीका उम्मेदवारहरू झिनो मतले हारेको परिस्थितिलाई समीक्षा गरेर पार्टी एकता गरेका थिए । तर एकतापछि त्यो पार्टी झन् क्षतविक्षत भयो । अहिले दुवै पार्टी इतिहासमा सीमित भयो । विविध पृष्ठभूमिबाट विभिन्न लक्ष्यसहित उदाउन थालेका दलहरूलाई जर्बजस्ती मिलाउँदा झन् घातक हुँदोरहेछ । तिनीहरूले एकता गर्न नसके चुनावी गठबन्धन गर्न आवश्यक छ । सबै पुराना दलहरूले विगतमा राजनीति(दल)मा प्रवेशको नीति बनाए तर बर्हिगमनको नीतिको अभावमा ती दलहरू दलदलमा परिणत भए । जमेको पानी जस्तै गनाउन थाले । त्यसैले, नयाँ दलहरूले प्रवेश र बहिर्गमन(इन एन्ड इक्जिट)को नीति ल्याउन आवश्यक छ ।
नेपाली नागरिकले पुराना बोतलमा नयाँ पानी र नयाँ बोतलमा पुराना पानी खोजेका होइनन् । त्यसको ज्वलन्त उदाहरण डा. बाबुराम भट्टराई हुन् । उनी नयाँ ब्यानर(बोतल)मा पुराना पानी जस्तै भए । बरु, नयाँ बोतलमा नयाँ पानी नै खोजेका हुन् । नयाँ बोतलमा नयाँ पानीसँगै नयाँ राजनीतिक आनीबानी पनि नागरिकले चाहेका छन् । यसपालि नयाँ र वैकल्पिक शक्तिले पाउने मतको हिस्सा बढ्नेछ । जेनजी विद्रोहको रापतापले त्यसलाई पुष्टि गरिसक्यो । करिब १७ प्रतिशतको त्यो जनमतमा काफी वृद्धि हुनेछ ।