
हरेक वर्ष
क्यालेन्डरका पानाहरू फेरिन्छन्,
तर श्रमजीवी
जनताका जीवनका पानाहरू
सदियौंदेखि
एउटै पीडामा अड्काइएका छन् ।
यो संयोग होइन,
यो योजनाबद्ध अमानवीयता हो ।
समयले मिति बदल्छ,
तर व्यवस्था बदल्न डराउँछ ।
किनकि व्यवस्था बदलिएपछि
शोषणको इतिहासलाई
जवाफ दिनुपर्छ ।
हामी मन्दिर, मस्जिद, गिर्जाघरका
मिथक होइनौं,
मानिसको जीवनलाई पवित्र मान्छौं ।
हामी स्वर्गको आश्वासन होइन,
धरतीमै न्याय खोज्छौं ।
जहाँ श्रमको मूल्य पसिनाले होइन,
बजारको नाफाले तोक्छ,
त्यहाँ क्यालेन्डर परिवर्तन
केवल भ्रम हो ।
हामी उद्घोष गर्छौं–
कुनै पनि वर्ष नयाँ हुँदैन,
जबसम्म भोक पुरानै छ ।
कुनै पनि समाज सभ्य हुँदैन,
जबसम्म श्रम अपमानित छ ।
मानवतावाद कुनै दया होइन,
यो न्यायको अनिवार्य माग हो ।
र न्याय बिना समय अघि बढे पनि,
इतिहास अघि बढ्दैन ।