
म जब लेख्दै हुन्छु
म जब लेख्दै हुन्छु
चराले सिन्का उठाउँदैछ
प्रेमी जोडी सुतेर उठेका छन्
बच्चा रुँदै छ
रेडियोमा गीत बज्दै छ
म जब लेख्दै हुन्छु
धाराबाट पानी तपतप चुहिँदै छ
भान्साबाट आवाज आउँदै छ
कोहि उभिएको छ मेरो घरको ढोकामा
बिरालो म्याउँम्याउँ गर्दैछ
म जब लेख्दै हुन्छु
एउटा स्त्रीले श्रीमानको चरणमा जीवन काट्दै छे
एउटा पुजारी घण्टी बजाउँदै छ
एउटा जुलुस झ्यालको सामुन्नेबाट निक्लिएको छ
साच्चै के हुँदैछ
तिमीलाई नै थाहा होला
म जब लेख्दै हुन्छु
यो थाहा छ कि
त्यहाँ यो सब हुँदैछ ।
**
मनैबाट
स्त्रीले तिमीलाई प्रेम दिन्छिन्
जसरी फूलले दिन्छ फल
चम्किरहेको ताराले दिन्छ,आशा
स्त्रीले तिमीलाई अन्तरमनको सम्पूर्ण ठाउँ दिन्छिन्
जहाँ जमिन र आकाशको भेट भएको देखिन्छ
यद्यपि तिमीले चाह्यौ भने
जिउन सक्छौ स्त्री रहित जीवन
गर्न सक्छौ स्त्री रहित प्रेम
यसरी तिमीले गुमाउन सक्छौ
शृष्टिको विश्वास
र
स्त्री तिम्रा लागि मात्र रुन सक्छे
मनैबाट ।
**
पुरुषसँगको भेट
पहिलोपटक जब मैले
पुरुषलाई भेटेकी थिएँ
लजाउँदै
सकेसम्म नजर बचाउँदै
काँप्दै र थोरै भकभकाउँदै
मैले सोचेकि थिएँ
म प्रेमिका हुँ
दोस्रोपटक पुरुषँग भेट्दा
थोरै खुलेर
थोरै हाँसेर
नापतोल गरेर गफिँदै
मैले सोचेकी थिएँ
नियन्त्रणमा राख्न सक्छु उसलाई
बारम्बार भेट भयो पुरुषसँग
म सोचमग्न भएकी छु
के कुराबाट अनविज्ञ छु
कुन उद्धेश्यले भेट्दै छु
जब कि पुरुष नामको प्राणीनै
डराउँदै छ भित्रैबाट
मलाई भेट्न !
**
मिलन
तिमीले भन्यौ -
राती भेटौँ
मैले रात्रीकालमा भेटेँ
अनि रातले रातको अर्थ पायो ।
तिमीले भन्यौ -
भेटौँ तर कसैले नदेख्नेगरी
मैले भेटेँ
कसैले देखेनन्
तिमीले पनि !
**
प्रतीक्षा गर
स्त्री लेख्छ्न्
मामुली चिजहरू र साधारण घटनाहरूमा कविता
भइदिन्छ्न् उनीहरूका पाठकहरू प्रसन्न
यदि स्त्रीले कुनै दिन लेखिदिए भने
कुनै गैरमामुली चिजहरू
र आफ्ना जीवनका विराट घटनाहरू
उनका पाठकहरू कानेखुसी गर्नेछन् -
ओहो ! यार यो त यस्तो पो निक्ली !
प्रतीक्षा गर
कुनैदिन म पनि यस्तै निक्लनेछु !
**
स्पर्श नगर्नु
म
तिम्रो मनको
एउटा तस्बिर हुँ
स्पर्श नगर्नु !
**
गाली
ड्रामा कोर्समा
कुनै वाचाल वेश्याको अभिनय गर्दै
मञ्चमा -
मैले फलाकिरहेकी थिएँ
अश्लील गालीहरू ।
सारा पृथ्वी एउटा मञ्च हो
जहाँ यो भाषा पुरुषको राष्ट्रिय भाषा हो
जुन भाषा बोल्न स्त्रीलाई साहारा लिनुपर्छ
वेश्याको अभिनयको ।
**
मेरो मनको ख्याल
कति ख्याल राखेकी छु
मैले आफ्नो शरीरको
शृङ्गारपटार गर्छु
रुखोसुको खान्छु - कतै कमजोर हुन्छु कि भनेर
फलफूलको जुस पिउँछु ।
आफ्नो मनको ख्याल सँगसँगै
तिम्रो मनको अधिक ख्याल राखेकी छु
मेरो मनको ख्याल
कमसेकम अर्को जुनीमा
पक्कै राख्नु !
**
आज जुन नदीमा उभिन्छु
एउटा नदीमा बगेको थियो बालापन
त्यो नदि मिसियो अर्को नदीमा
आज जुन नदीमा उभिन्छु
त्यसैमा देखिन्छ मेरो बालापन ।
**
जाने हतार
समुन्द्रको लहर जस्तै
क्षितिजबाट हिँडेर आउँछौ ।
कति हतारमा हुन्छौ
पाइतालामुनिबाट खस्थानीय किन थाल्छ बालुवा
र उदासीमा धसिँदै जान्छु, म ।
**
चाबीको झोप्पो
आँगन, भान्साघर, कोठा सिँढीहरू जताततै
आवतजावत
चढ्नु उक्लनु
कम्मरमा घुसारेको चाबीको झोप्पाबाट
बजिरहेछ घर छनछन छनछन
घर नृत्य गर्छ
चाबी टाढा जानुले
घर बन्द छ !
***
इच्छाको अगाडि
इच्छाको यदि खुट्टा भएको भए
भन्नेथेँ - हिमालको सबैभन्दा अग्लो चुली आरोहण गर
अनि हामफाल
इच्छाको यदि हात भएको भए
आफ्ना हातले उसका हात मरोडीदिन्थेँ
अनि भन्नेथेँ- घाँटी अठ्ठा
यी दुबै थिएनन् इच्छासँग
त्यसैले त विवस थिएँ
उसको इच्छाको अगाडि ।
**
सिकेकी छु
कमिलाले
थाहा छैन कसरी घरको कुनोमा प्वाँल बनाएर बनायो आफ्नो घर
थाहा छैन कसरी
धमिराले माटो जम्मा गरेर
मेरो कोठाको काठको अलमारी भित्र बनायो
आफ्नो घर
यो मेरो घर हो
यो कमिलाको घर हो
यो धमिराको घर हो
सिकेकी छु
यीनिहरूबाट कविता लेख्न ।
**
स्त्री सोच्छन्
नदी बगिरहेछ, बग्नु सत्य हो
नदी चैत्रमा सुकिरहेछ - सुकिहाल्छ नि ! सुक्नु सत्य हो
साउनमा नदी फेरि गर्जिन थाल्छ , सत्य हो
नदीमा गोहीहरू पनि गर्जिन्छन् ।
स्त्री सोच्छन्
यो सबैभन्दा ठूलो सत्य हो ।
**
उपयोग
म स्त्री हुँ
र
म स्त्री हुनुको कयौं उपयोग छ्न्
यदि सुन्दर छु भने
सुन्दरताको उपयोग छ
यदि सुन्दर छैन भने
त्यसको पनि उपयोग छ
सुन्दर छैन भने
पूरै घरको नोकर्नी हुँ
सुन्दर छु भने
सम्राज्ञी हुँ
सुसज्जित ओछ्यानको ।
सुन्दरी साम्राज्ञीको ताजभित्र लुकाइएको
मात्र नोकर्नी हुँ - हजुरको
के भन्नुभयो - मैले हजुरको उपयोग गरेको छु
घर सम्हाले
देख्नुभएन कुनै
साहारा
अर्थात मैले हजुरको उपयोग गरेको छु ।
महाराज
मैले स्त्री हुनुको उपयोग गरेकी छु
अनि तपाईंको कुनै कम योगदान छैन
स्त्रीको
जीवनलाई
नर्क बनाउनुमा !
**
सोचेकी थिएँ
सोचेकी थिएँ
जीवन जिउने छु
आफ्नो हिसाबले खानेपिउने छु
आफ्नो इच्छाले आफ्नै रुचिको काम गर्नेछु
मन लागेको मान्छेसँग कहिलेकाही भेट्नेछु
कसैको प्रवाह गर्ने छैन
मनमर्जीले समय खर्च गर्नेछु
सोचेकी थिएँ
र आजसम्म सोचिनै रहेकी छु ।
मूल कवि : सविता भार्गव
भावानुवाद : जनक कार्की