
सहरको नाम कसैले उच्चारण गरेर बोल्दैनथ्यो । नक्सामा त्यो केवल सेक्टर–७४ भनेर चिनिन्थ्यो । किनकि नामसँग इतिहास जोडिन्थ्यो र इतिहाससँग प्रश्न । प्रश्न भनेको यस युगमा अनावश्यक झन्झट थियो ।
सेक्टर–७४ को आकाश आज पनि ठिक समयमा नीलो थियो । बिहान ६ः०० देखि ६ः४५ सम्म ‘मध्यम नीलो’, त्यसपछि ९ः३० सम्म ‘हल्का सेतो बादल मिश्रित’ । सबै कुरा पूर्वनिर्धारित ।
मिहिर श्रेष्ठले आकाशतर्फ हेरेर आँखा झिम्क्यायो । उसलाई आकाश सुन्दर लागेन, केवल ठिक लाग्यो । जस्तो कुनै राम्रोसँग सफा गरिएको प्रयोगशाला – निष्कलंक तर निर्जीव ।
मिहिर वायुमण्डलीय स्थिरता विभागको वरिष्ठ विश्लेषक थियो । उसको काम थियो– हावाको दिशा, दबाब र गतिको सन्तुलन जाँच गर्नु । यदि कुनै क्षेत्रमा हावा ‘भावनात्मक रूपमा अस्थिर’ हुने सम्भावना देखियो भने, तुरुन्तै सुधारात्मक प्रवाह लागू गरिन्थ्यो । भावनात्मक हावा– त्यो शब्द अब केवल पुराना कागजातमा बाँकी थियो ।
उसको कलाईमा बाँधिएको उपकरणले कम्पन गर्यो ।
आज ४ः४० देखि ४ः४७ सम्म सेक्टर–७४ मा नीलो हावा (शान्त प्रवाह), गति : ३.२ मि/से, तापक्रमः २२ डिग्रि सेल्सियस, विचलन शून्य ।
मिहिरले उपकरण बन्द गर्यो ।
‘नीलो हावा’ उसले बडबडायो । ‘हावा पनि अब रङअनुसार आउँछ ।’
उसलाई आफ्नो हजुरआमाको कुरा याद आयो ।
हजुरआमा भन्थिन्, ‘कहिलेकाहीँ हावा नीलो हुँदैन, मिहिर । कहिलेकाहीँ त हावा रोएको जस्तो लाग्छ । कहिलेकाहीँ हावाले मान्छेको कुरा सुनिदिन्छ ।’
त्यतिबेला मिहिर हाँस्थ्यो । आज उसलाई त्यो हाँसो लाजमर्दो लाग्थ्यो । मिहिरको घर सेक्टर–७४ को भूमिगत तहमा थियो । सबै सुविधा आधुनिक थिए, तर उसले एउटा कोठा यस्तो बनाएको थियो, जुन प्रणालीको नक्सामा रिक्त देखिन्थ्यो । त्यहाँ कुनै सेन्सर थिएन । कुनै स्वचालित नियन्त्रण थिएन । त्यो कोठामा एउटा पुरानो धातुको बाकस थियो । बाकसभित्र– एउटा अडियो–डायरी । त्यो डायरी उसकी आमा, अन्वी श्रेष्ठ, को थियो । अन्वी कहिल्यै कुनै विभागमा काम गरिनन् । उनी हावा सुन्ने मान्छे थिइन् । डायरीको आवाज मिहिरले आज फेरि चलायो ।
आज फेरि हावाले नियम मानेन । पूर्वबाट आउनुपर्ने हावा पश्चिमबाट आयो । विभागले यसलाई ‘त्रुटि’ भन्यो । तर म भन्छु– त्यो हावाले केही भन्न खोजेको थियो ।
मिहिरको छाती कसियो । अन्वीलाई यही कारणले प्रणालीबाट अलग गरिएको थियो । ‘अवैज्ञानिक भावुकता’ । त्यही दिनदेखि मिहिरले हावा मापन त गर्यो, तर कहिल्यै सुनेन । आज भने–आज उसलाई सुन्न मन लागेको थियो ।
दिउँसो ४ः३० । मिहिर विभागको नियन्त्रण कक्षमा थियो । ठूलो पारदर्शी पर्खालमा सम्पूर्ण सेक्टरको वायुमण्डलीय नक्सा तैरिरहेको थियो । सबै रेखाहरू सिधा, सबै संख्याहरू हरियो । ‘आजको नीलो हावा एकदमै स्थिर छ,’ प्रमुख निरीक्षकले भने ।
‘पूर्ण नियन्त्रण ।’
मिहिरले टाउको हल्लायो । तर उसको आँखा एउटा सानो बिन्दुमा अडिएको थियो – सेक्टरको किनारमा देखिएको असामान्य कम्पन । त्यो कम्पन प्रणालीले स्वतः दबाउन लागेको थियो ।
‘सर,’ मिहिरले बिस्तारै भन्यो, ‘यदि हामी यो सुधार रोकेर... हावालाई केही मिनेट स्वतन्त्र छोड्यौँ भने ?’
कोठा एक्कासि शान्त भयो । प्रमुख निरीक्षकले उसलाई हेर्यो । ‘तिमी भावनात्मक शब्द प्रयोग गर्दै छौ, मिहिर । हावा स्वतन्त्र हुँदैन । हावा व्यवस्थापन हुन्छ ।’
मिहिर चुप लाग्यो । तर उसको भित्र केही चिच्याइरहेको थियो ।
४ः३९ । नीलो हावा सुरु हुन एक मिनेट बाँकी । मिहिर आफ्नो कन्सोलतिर फर्कियो । उसको हात काँपिरहेको थियो । उसलाई थाहा थियो, यदि उसले स्थिरीकरण लूप केही सेकेन्डका लागि मात्र तोड्यो भने, हावा आफैँ बाटो खोज्नेछ । त्यो अवैधानिक थियो । तर त्यो नै संयोग थियो । उसले आमाको आवाज सम्झियो– ‘हावालाई कहिलेकाहीँ आफैँ हुन देऊ ।’
४ः४० । उसले आदेश टाइप गर्यो– डिसेबल फ्लो करेक्सन म्यानुअल विन्डोज !
स्क्रिन पहेँलो भयो । चेतावनीहरू चम्किए । यो कार्यले प्रणालीगत जोखिम निम्त्याउँछ । पुष्टि गर्नुहोस् । मिहिरले आँखा बन्द गर्यो र पुष्टि गर्यो ।
पहिलो मिनेट– केही भएन । दोस्रो मिनेट– हावाको गति बदलियो । तेस्रो मिनेट– आकाशको नीलोपन टुट्यो । सेक्टर–७४ मा मानिसहरू अचम्म मान्दै आकाश हेर्न थाले । हावा न्यानो–चिसो एकै चोटि लाग्न थाल्यो । कसैको कपाल उड्यो । कसैको आँखामा आँसु आयो– किन आयो, थाहा भएन । त्यो हावा निलो थिएन । त्यो हावा अनिर्णीत थियो ।
मिहिर नियन्त्रण कक्षबाट बाहिर निस्कियो । सुरक्षा अधिकारीहरू चिच्याइरहेका थिए । तर उसले सुनेन । हावाले उसको अनुहार छोयो । त्यो हावामा कुनै मापन योग्य गुण थिएन । तर त्यो हावामा स्मृति थियो, गन्ध थियो, जीवन थियो ।
उसको आँखाबाट आँसु बग्यो । पहिलो पटक, उसले हावालाई महसुस गरेको थियो । केही बेरमै प्रणाली पुनः सक्रिय भयो । हावा फेरि नियन्त्रणमा आयो । नीलो रंग फर्कियो । मिहिरलाई नियन्त्रणमा लिइयो । उल्लंघनको अभियोग लाग्यो । तर सेक्टर–७४ का मानिसहरूले त्यो दिन सम्झिरहे । त्यो दिन, जब हावाले नियम मानेन । त्यो दिन, जब हावाले उनीहरूलाई छोयो । र कतै, भूमिगत कोठामा, अन्वीको अडियो–डायरीमा नयाँ लाइन थपियो । ‘आज मेरो छोरोले हावा सुन्ने आँट गर्यो । तीन मिनेटका लागि । तर त्यो तीन मिनेट–जीवन थियो ।’
सेक्टर–७४ फेरि शान्त भयो । तर अब, कहिलेकाहीँ, मानिसहरू आकाश हेर्दा सोच्छन्– यदि हावा फेरि आफ्नै मनले बग्यो भने ?