२०८२ चैत ५ गते बिहिवार / Mar 19 , 2026 , Thursday
२०८२ चैत ५ गते बिहिवार
Ads

कथा : भाइटीकाको अपमान !

shivam cement
विदुर दाहाल
२०८२ पुष २६ गते ०६:०५
Shares
कथा : भाइटीकाको अपमान !

‘आउनु पर्छ है मेरो घरमा ।’

‘हस् अंकल, आउँछु ।’

नभन्दै आयो ऊ दशैंमा । ‘एउटै आमाको दूध खाएकी बहिनी होइन नि, मात्र मानेको हो !’

अलिक दोधारमा पर्‍यो कि क्या हो ? अघिल्लो रातको कुराले ! भोलिपल्ट घरबाट निस्कने बेला कम्पाउन्ड बाहिर भेट्दा पनि बोलेन । ‘बाइ’मात्र गरेर हिँड्यो । कौसीबाट हेरिरहेँ म !

सामाजिक हैसियत भएको मान्छे ठान्छु आफूलाई ! व्यापारिक केन्द्रमा घर छ । घर–व्यवहार चलाउन घर भाडाले भरथेग गर्छ । स्थायी जागिरे हुँ म । सानो–तिनो व्यापार–व्यवसायबाट थप आम्दानी हुन्छ ।

देश–दुनियाँको खबर अपडेट हुन हरेक दिन बेडमै ढल्केर टेलिभिजनको समाचार हेर्छु । आज पनि हेरे । राजनीतिमा चासो छ मलाई । सानोतिनो नेतै हु म !

व्यापारमा भविष्य खोज्न ३ वर्षअघि धुलिखेलतिरको नेवार केटो (विकास) सटर खोज्दै आयो । सटर खाली थियो । भाडामा दिएँ उसलाई । राम्रै छ कपडा व्यापार उसको । आँटिलो छ केटो । एक्लै व्यापार सम्हालेर बस्छ । खासमा ऊ हाम्रो परिवारको सदस्यझैँ लाग्छ मलाई । छोरीले उसलाई भाइटिका लगाई । खासमा त्यो दाई टीका हो । 

आमाले जात–भातको कुरा गर्नुहुन्छ । बुढेसकालको मान्छेलाई चित्त नदुखोस् भन्ने चाहन्थे ! सँगै बसेर खाना खाएको आमालाई चित्त बुझ्दैन । आमाले नदेखिदिए हुन्थ्यो भन्ने कुरा भित्र मनमा आउँथ्यो । खाना बोलाएको दिन आमालाई टिभी हेर्न जानु भनेर पठाउँथेँ । जातीय कुसंस्कारको जरो अझै निर्मूल भएको छैन । संविधानले जातीय वा कुनै खालको विभेदलाई दण्डनीय मानेको भए पनि आमा मान्नुहुन्न । ‘मानिस एउटै हो’ भन्ने कुरा आमाको दिमागमा घुसाउनै सकिनँ । 

बूढाबूढीको मन नदुखोस् भनेर उहाँले वर्जित गरेका कुरालाई स्वीकारेजस्तो गर्थेँ ! त्यो आमालाई देखाउन मात्र थियो । आमाले नातिनीलाई आफ्ना पालाका कुरा सुनाउनुहुन्थ्यो । 

‘यस्तो पनि हुन्थ्यो र बाबा ?’ भनेर प्रश्न गर्छे छोरी मलाई । 

‘परम्परागत समाजमा त्यस्तो थियो कुनै दिन,’ पुरातन इतिहास सम्झाउँछु छोरीलाई । 

आमा ‘नातिनीको कन्यादान गर्न पाए हुन्थ्यो’ ! बारम्बार सम्झाउनुहुन्छ । ‘पहिलाको जमाना होइन क्या, कति भन्नु तपाईंलाई ?’ भन्दा–भन्दै थाकिसकेको म !

२०६० सालको अन्त्यतिर माओवादी द्वन्द्वमा प्रहरी चौकी विस्फोट हुँदा मेरो घर र पसल पनि सामान्य क्षति भयो । घरमा पसल गर्ने विकास भौँतारियो । पसल उठायो । एक महिनाको भाडा छुट दिएँ । नरमाइलो लाग्यो मलाई । 

घर मात्र छोडेन, अनिश्चित गन्तव्यतिर हिँड्यो । एक हिसाबले ऊ छोरो थियो ! किनकि छोरीले हरेक वर्ष भाइटिका लगाउँथी । घरमा ‘भाइटिका’ लगाएका र ‘राखी’ बाधेका फोटोहरू अझै एल्बममा छन् । व्यापार छोडे पनि बेला–बेलामा बाटो पर्दा आइरहन्थ्यो । ‘विदेश जान्छु अंकल,’ भन्थ्यो मलाई । 

त्यसपछि ४÷५ वर्ष सम्पर्क टुट्यो । एक दिन उसलाई ‘मिस्टर विकास’का नामबाट टिकटकमा देखेँ । सामाजिक सञ्जाल खूब चलाउँछु म । लाइक गरेँ उसलाई । त्यसपछि टिकटक भिडियोहरू लाइनै आउन थाले । टिकटककै माध्यमबाट धेरै नेपाली र भारतीयसँग जोडिएको रहेछ ऊ । त्यसको माध्यमबाट व्यापार पनि बढाएको रहेछ । म्यासेज पठाएँ मैले । त्यसपछि अनलाइनमा कुरा हुन थाल्यो । रेस्टुरेन्टको व्यापार छ रे क्यानडामा उसको !

यता छोरीले धेरै पढ्न सकिन । खासमा पढेर खाने खालकी छैन ऊ । धेरै पटक फेल भई परीक्षामा । तनाव मलाई नै । धेरै सोचेँ, धेरै विचार गरेँ । अन्ततः क्यानडामा व्यापार गरी बस्ने उहीँ मेरो घरमा व्यापार गर्ने विकासलाई सम्झेँ । अन्तद्र्वन्द्वले मनमा डेरा जमायो । ‘अझै अविवाहित छ त ऊ ?’

ठट्टा गरेँ एक दिन । ‘बुहारी के गर्छिन् ?’

‘बिहे नै भएको छैन नि अंकल,’ भन्यो मलाई । 

‘खै, के मिल्दैन, के मिल्दैन विवाह गर्न ।’

उसको कुराले एकाएक मनमा उमङ्ग ल्यायो । त्यो दिन त्यत्तिकै भयो । कुरा छोटाएँ । भदौतिरको कुरा हो त्यो । 

दशैं आउनै लाग्दा फेरि फोन गरेँ उसलाई । नेपाल आउने कुरा गर्‍यो । घरमा आउने बाचा सम्झाएँ । बाचा पूरा गर्‍यो । आयो । 

एक रात बस्यो । हल्का बियर पियौँ दुवै जनाले । मैले बियर लागेको नाटक गरेँ तर लागेको थिएन । ऊ रम–रम थियो । अलिक खुल्दै गयो । जेसुकै भनोस्, प्रस्ताव राखेँ – ‘अमिसालाई विवाह गर्ने हो ?’

अचम्म मानेर हेर्‍यो ! ‘अंकललाई धेरै लाग्यो ?’ टाउको हल्लाएँ मैले । 

प्रतिवाद गर्‍यो वा मानेन भने ‘रक्सीको सुरमा भनेको’ भन्दिउँला भन्ने मनस्थिति बनाएँ । धन्न त्यो स्थिति आएन । 

‘अंकल, ऊ मेरी बहिनी... ?’ प्रश्न तेर्सायो । बोलिन । बोल्नु भन्दा टाउको हल्लाउनु जाती ठानी मैले । फेरि टाउको हल्लाए । 

पछि पनि पटक–पटक कुराकानी गरेँ । कुराकानी प्रत्यक्ष/अप्रत्यक्ष छोरी अमिसालाई विवाह गरोस् भन्ने नै हुन्थ्यो । अन्तमा उसले सोचेर भन्छु भन्यो । अचानक एक दिन ‘उमेर मिल्दैन नि अंकल,’ भन्यो । ‘केटीको उमेर कम भएको जाति हुन्छ हजुर ।’ शिव–पार्वतीको उदाहरण दिएँ । अब भने ऊ परिवर्तन भएको अनुमान लगाएँ मैले । ‘कुरा गरौँला’ भन्दै फोन राख्यो उसले ।

छोरीलाई पनि कुराकानी गर्न उक्साएँ । ‘विकासले तँलाई क्यानडा लैजाने भन्छ ! जान्छेस् ?’ मन चोर्न खोजे उसको । ऊ कन्फ्युजनमा परी । ‘तिहारमा टीका लगाएको दाइ... ! नाइँ, म त ।’
कुरा सुन्दा टीका लगाउन बाध्य पारेको मन नपरेको रहेछ । 

भाइटिका लगाउँदा हात कामेको र अलि नर्भस भएको झलझली याद आयो मलाई । खासमा कर मैले नै गरेको थिएँ । त्यो बेलाको परिस्थिति त्यस्तै थियो । 

‘बाबा, म उसलाई श्रीमान् भन्न सक्दिन ! भाइटिका लगाएको दाइ नै श्रीमान्– अह... ! धर्म र नैतिकताले के भन्ला बाबा ?’, मैंले सम्झाएँ, ‘मलाई बुझ्ने प्रयास गर छोरी । ऊ पिआरवाला हो ‘नत्र मरिहत्ते किन गर्थे म ?’

मानिसहरू युरोप÷अमेरिका जान नक्कली विवाह र नक्कली सम्बन्ध विच्छेद गर्छन् भन्थे ! कुरा यस्तै रहेछ । होइन बाबा ? उत्तरविहीन भएँ म एक छिन । 

‘यो सहर हो, गाउँ होइन । तिमीले दाइ बनाएको कसलाई थाहा छ ? मन परेन भने उतै गएर छोड्नु । मानेको दाइ हो ऊ, साँच्चिकै दाइ होइन । विवाह गर्न हुन्छ छोरी ।’ आशय बुझेझैँ गरी । के सोची, खै ! सायद क्यानडा सेटलको सपना देखी होला उसले पनि ! अनुमान लगाए । त्यसपछि ऊ बोलिन । 

धेरै कुरा अरूलाई सिकाउँछु । अपसोच– भाइटिका लगाएको दाइसँग विवाहको सम्बन्ध जोड्न खोज्दै छु । पवित्र नातालाई पिआरसँग साट्दै छु । विचित्र र विरोधाभासले भरिएको जीवन छ मेरो । अरूको आङको जुम्रा सजिलै देख्छु ! अरूको कोणबाट कहिल्यै आफूलाई मूल्यांकन गरिनँ । समाजले के भन्ला ? मतलबै गरिनँ ! फाइदा मात्र हेरेँ । 

बाँच्ने कला मलाई थाहा छ । जसरी बैंकहरूले नभएको ब्यालेन्स देखाइदिन्छन् विदेश पठाउनका लागि, कन्सल्ट्यान्सीहरूले फ्रड कागजात बनाउँछन्, नेतृत्वले ताल न सुरका भाषण गर्दा ताली ठोक्छौँ– यस्ता कामलाई सहजै स्वीकार गर्ने र मान्यता दिने समाज हो यो । म त्यही समाजको उत्पादन !

खासमा अरूलाई सिकाउने मान्छे म आफैँ सनातन धर्म, संस्कार र सामाजिक कानुन नाघ्दै छु । यत्रो वर्ष अरूलाई कसरी भ्रममा राख्न सकेँ होला ? प्रश्नहरू बारम्बार आइरहे मनमा । 

विश्वव्यापीकरण र उदारीकरणको राप तापमा पश्चिमाहरूलाई जनशक्तिको खाँचो छ । उनीहरू सबैलाई विश्व नागरिक ठान्छन् । त्यसलाई व्यवहारमा कार्यान्वयन गरिरहँदा नेपालीले कुनै न कुनै लाभ लिए । देश प्रतिको निराशा र गुणस्तरीय जीवनको खोजीमा बिदेसिए धेरै । म पनि त्यसैको लोभी हुँ ! मुख फोरेर भन्नु पो भएन !

नभन्दै केही महिना पछि–‘अमिसाको पासपोर्ट छ त ?’ सोध्यो विकासले । 

आ... होस् ! केही हुँदैन । निर्णयबाट पछि हट्दिन । विकासले नमान्ला भन्ने डर थियो मलाई । त्यो हट्यो । धन्य !

खुसीले सीमा नाघ्यो । अमिसालाई पासपोर्ट लगायतका आवश्यक कागजात बनाउन सघाएँ । विदेश जाने भनेपछि जस्ता पनि कागजात बनिहाल्छन् । छोरी क्यानडा उडी । एयरपोर्टमा बिदाइ गर्दा ‘राम्रो गर्नु, हामीलाई पनि छिटै बोलाउनु ।’

‘बाबा पनि... ।’ मुस्काई मात्र !

दिन यसरी नै चल्दै थिए । ८÷१० दिनमै करोडपति क्लबमा एउटा फिल्म पुग्यो रे ! बजारमा फिल्मबारे व्यापक चर्चा परिचर्चा भएपछि श्रीमतीले फिल्म हेर्न कर गरी ! श्रीमती सहित फिल्म हेर्न हल गए म । जति हेर्दै जान्छु उति–उति फिल्म आफ्नै जिन्दगीको कहानीजस्तो लाग्छ । ऐनामा आफूलाई छर्लङ्ग देखेजस्तो भो । ‘हैन यो के हो क्या ?’ पटकथा लेखकलाई मेरो विषय कसरी थाहा भयो ह ? कि यस्ता बहुरूप अरूका पनि हुन्छन् ? कन्फ्युजनमा छु अझै म । 

सम्बन्धित खबर