
काठमाडौं : वैदेशिक रोजगारमा कुवेत गएका तराईको सीमावर्ती जिल्लाका एक युवक लागूऔधष दुर्व्यसनी पुष्टि भएपछि गत साता नेपाल डिपोर्ट भए ।
नेपालमा गरिएको स्वास्थ्य परीक्षणमा स्वस्थ देखिएका उनी कुवेतको कम्पनीमा पुग्दा थरथर काम्दै बेहोस र ऐठनको अवस्थामा पुगेका थिए । तत्काल एम्बुलेन्स बोलाएर अस्पताल लगिएका उनलाई कम्पनीले अस्पतालबाटै नेपाल डिपोर्ट गरेको थियो ।
उनले चिकित्सकको प्रेसक्रिप्सन दुरुपयोग गरेर किनेको लागूऔषध लगेका थिए । दिमागमा खुसी र उमंग पैदा गर्ने औषधी धेरै सेवन गरेपछि उनमा अस्वाभाविक लक्षण देखिएको बताइएको छ ।
स्वदेश फर्केपछि उनी क्षतिपूर्ति माग गर्दै नयाँ बानेश्वरस्थित उनलाई पठाउने म्यानपावर पुगे । स्वास्थ्य परीक्षणमा असफल भएको वा अन्य कारणले करार अनुसारको काम र तलब नपाएको अवस्थामा म्यानपावर कम्पनीले क्षतिपूर्ति दिने व्यवस्था छ ।
तर लागूऔषध दुर्व्यसनी पुष्टि भएर स्वेदश डिपोर्ट गरिएको कामदारलाई म्यानपावर कम्पनीले क्षतिपूर्ति दिनुपर्ने कानुनी व्यवस्था छैन । म्यानपावर कम्पनीका सञ्चालकले डिपोर्ट भएका ती युवालाई त्यही कुरा बताए ।
क्षतिपूर्ति माग्न आएका ती युवा असन्तुष्ट देखिन्थे, तर कुनै प्रतिक्रिया जनाएनन्, सुरुक्क फर्के । तर उनको रिस मरेको थिएन, दुई दिनपछि लागूऔषधको उत्तेजनामा सोही म्यानपावर कम्पनी कार्यालयमा आए र चारैतिर नियाले । माथिल्लो तलामा रहेको म्यानेजरको कोठाको चुकुल बाहिरबाट थुनिदिएर तोडफोड सुरु गरे । उनले म्यानपावर कम्पनीका टिभी, कम्प्युटर र ल्यापटप गरी करिब १८ लाख रुपैयाँको क्षति पु¥याएर धाकधम्की दिएर हिँडे । लागूऔषधको उत्तेजनामा रहेका ती युवकलाई सुरक्षागार्डले पनि नियन्त्रणमा लिन सकेनन् ।
खाडी मुलुकमा उत्तेजित पार्ने औषधी प्रतिबन्धित छ । तर नेपाल र सीमावर्ती भारतीय शहरहरूमा उत्तेजना ल्याउने र लठ्याउने लागूऔधष खुला रूपमा पाइने गरेको छ । सीमावर्ती जिल्लाका युवाहरूमा लागूऔषध दुर्व्यसन बढ्दो छ । लागूऔषध सेवनकर्ताबारे म्यानपावर कम्पनी पर्याप्त सचेत र जानकार छैनन् । लागूऔषध सेवन गरेर अन्तर्वार्तामा आउनेहरू अत्यन्तै आत्मविश्वासी र स्मार्ट देखिन्छन् । अन्तर्वार्तामा देखिने आत्मविश्वास र स्मार्ट शैली लागूऔषधको क्षणिक असर हो वा साँच्चिकै प्रतिभा ? श्रम गन्तव्यमा पुगेर काम सुरुवात नगरेसम्म छुट्याउन सक्ने अवस्थामा म्यानपावर कम्पनी हुँदैनन् ।
पूर्वमहान्यायाधिवक्ता रमेश बडालका अनुसार नेपाली युवाहरूको डरलाग्दो शत्रु लागूऔषध बनेको छ । नेपालका सबै कारागारमा २५ हजार बढी कैदीबन्दी लागूऔषध मुद्दामा प्रत्यक्ष–अप्रत्यक्ष जोडिएका छन् । करिब दुई वर्षअघि गरिएको एक अध्ययनअनुसार नेपालमा एक लाख ३० हजार बढी लागूऔषध प्रयोगकर्ता छन् । यो संख्या हरेक वर्ष ५ प्रतिशतभन्दा धेरै बढिरहेकोे अनुमान छ ।
गृह मन्त्रालयले लागूऔषध नियन्त्रण र रोकथामका लागि राष्ट्रिय गुरुयोजना नै तयार पारेको छ । लागूऔषध कारोबारले दीर्घकालीन रूपमा राष्ट्रिय सुरक्षाको रूपमा चुनौती सिर्जना गरेको गृह मन्त्रालयको अध्ययनले देखाएको छ । वैदेशिक रोजगारमा जाने र लागूऔधष दुर्व्यसनका कारण फर्किने क्रम बढेकाले पठाउनुअघि सचेत हुनुको विकल्प नरहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सचिव कुन्छादोर्जे दिमदोङ बताउँछन् ।