
दाइ परदेशिएको दिनदेखि
घरको आँगन सुनसान भयो,
हाँसो त उस्तै छ ओठमा
तर मनभित्र केही हरायो ।
तिमी हिँडेको त्यो बिहान
आकाश पनि रुँदै जस्तो थियो,
ढोकासम्म छोड्न जाँदा
पाइलाहरू भारी–भारी थियो ।
आमाको आँचल भिजेको थियो,
बुबाको बोली रोकिएको,
म चुपचाप टोलाएर बसेँ
मन हजार टुक्रा भएको ।
बिहान उठ्दा आमाको आँखा
झ्याल तिरै टल्किरहन्छ,
‘आज फोन आउला कि ?’ भन्दै
मनले हजार आशा गर्छ ।
भान्सामा चुलो बल्दा पनि
तिम्रो कुरा चलिरहन्छ,
‘दाइलाई यो मन पथ्र्यो नि’
भन्दै सम्झना बल्झिरहन्छ ।
तिमीले पठाएको पैसा त आयो
तर तिम्रो साथ आएन,
नोटले पेट त भरियो दाइ
तर मन कहिल्यै भरिएन ।
चाडपर्वमा टीका थाप्दा
खाली निधार रोइरहन्छ,
तिम्रो ठाउँमा फोटो राख्दा
आँखा आफैँ भिजिरहन्छ ।
दशैंको पिङ एक्लै हल्लिन्छ,
तिहारको दियो मलिन हुन्छ,
हाँस्न खोज्दा पनि मनभित्र
किन हो कुहिरो जमिरहन्छ ।
तिमीले बोकेको जिम्मेवारी
सानैमा ठूलो भयो दाइ,
आफ्नो सपना थाती राखी
हामीलाई सुख दियौ दाइ ।
परदेशीको त्यो पसिना
हामीलाई सुख दिन बग्छ,
तर तिमी बिना यो घर
अधुरो–अधुरो नै लाग्छ ।
राति कहिले तारा हेर्दै
तिम्रो नाम बिस्तारै बोल्छु,
‘मेरो दाइ पनि यही आकाशमुनि छ’
भन्दै मनलाई सम्झाउँछु ।
सम्झनाको पुरानो एल्बम खोलेँ
हाम्रो बाल्यकाल देखिन्छ,
तिम्रो काँधमा बसेको म
आज पनि उस्तै रोइरहन्छ ।
छिट्टै फर्किएर आऊ है दाइ,
आँगन फेरि हाँस्न देऊ,
परदेशको पीडा बिसाएर
हामीलाई अँगालो हाल्न देऊ ।
घरको ढोका खुल्लै राख्छौँ
तिमी आउने बाटो हेरिरहन्छौँ,
तिम्रो पाइला सुन्ने आशामा
हरेक साँझ झ्यालमै उभिइरहन्छौँ ।