२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

कविता : दाइ परदेशिएको दिन

shivam cement
झरना चन्द
२०८२ फागुन ९ गते ०६:००
Shares
कविता : दाइ परदेशिएको दिन

दाइ परदेशिएको दिनदेखि
घरको आँगन सुनसान भयो,
हाँसो त उस्तै छ ओठमा
तर मनभित्र केही हरायो ।

तिमी हिँडेको त्यो बिहान
आकाश पनि रुँदै जस्तो थियो,
ढोकासम्म छोड्न जाँदा
पाइलाहरू भारी–भारी थियो ।

आमाको आँचल भिजेको थियो,
बुबाको बोली रोकिएको,
म चुपचाप टोलाएर बसेँ
मन हजार टुक्रा भएको ।

बिहान उठ्दा आमाको आँखा
झ्याल तिरै टल्किरहन्छ,
‘आज फोन आउला कि ?’ भन्दै
मनले हजार आशा गर्छ ।

भान्सामा चुलो बल्दा पनि
तिम्रो कुरा चलिरहन्छ,
‘दाइलाई यो मन पथ्र्यो नि’
भन्दै सम्झना बल्झिरहन्छ ।

तिमीले पठाएको पैसा त आयो
तर तिम्रो साथ आएन,
नोटले पेट त भरियो दाइ
तर मन कहिल्यै भरिएन ।

चाडपर्वमा टीका थाप्दा
खाली निधार रोइरहन्छ,
तिम्रो ठाउँमा फोटो राख्दा
आँखा आफैँ भिजिरहन्छ ।

दशैंको पिङ एक्लै हल्लिन्छ,
तिहारको दियो मलिन हुन्छ,
हाँस्न खोज्दा पनि मनभित्र
किन हो कुहिरो जमिरहन्छ ।

तिमीले बोकेको जिम्मेवारी
सानैमा ठूलो भयो दाइ,
आफ्नो सपना थाती राखी
हामीलाई सुख दियौ दाइ ।

परदेशीको त्यो पसिना
हामीलाई सुख दिन बग्छ,
तर तिमी बिना यो घर
अधुरो–अधुरो नै लाग्छ ।

राति कहिले तारा हेर्दै
तिम्रो नाम बिस्तारै बोल्छु,
‘मेरो दाइ पनि यही आकाशमुनि छ’
भन्दै मनलाई सम्झाउँछु ।

सम्झनाको पुरानो एल्बम खोलेँ
हाम्रो बाल्यकाल देखिन्छ,
तिम्रो काँधमा बसेको म
आज पनि उस्तै रोइरहन्छ ।

छिट्टै फर्किएर आऊ है दाइ,
आँगन फेरि हाँस्न देऊ,
परदेशको पीडा बिसाएर
हामीलाई अँगालो हाल्न देऊ ।

घरको ढोका खुल्लै राख्छौँ
तिमी आउने बाटो हेरिरहन्छौँ,
तिम्रो पाइला सुन्ने आशामा
हरेक साँझ झ्यालमै उभिइरहन्छौँ ।

सम्बन्धित खबर