
मेरो नाम आयुष हो । जीवन सामान्य नै थियो– पढाइ, साथीभाइ, घर र बिस्तारै बुढो हुँदै गएको सपनाहरूको डायरी । युवा समयसँगै अन्यलाई जस्तै मलाई पनि प्रेम गर्न रहर थियो । तर, कहिल्यै हिम्मत गर्न सकिन ।
तर, एक दिन हाम्रो कलेजमा नयाँ छात्रा आइन्– निशा । शुरुमा त म सामान्य साथीझैं व्यवहार गरेँ । तर भित्रभित्रै उनीप्रति केही विशेष महसुस गर्न थालेँ । हरेक दिन उनलाई हेर्नु, कुराकानी गर्नु, हाँस्नु... मेरो दिनचर्या जस्तो बन्यो ।
बिस्तारै प्रेमले पाइला चाल्यो । एक दिन निशाले मलाई सोधिन्, आयुष, तिमी किन सँधै मेरो नजिक हुन्छौ ?’
म मुस्कुराएँ र भनेँ, ‘किनकि तिमी नजिक हुँदा म आफैँ नजिक महसुस गर्छु ।’
त्यस दिन उसले पहिलो चोटि मेरो आँखामा लामो समयसम्म हेरिन् ।
शीतल साँझ थियो, हामी पोखराको फेवाताल किनारमा बसिरहेका थियौँ ।
मैले भनेँ, ‘निशा, तिमीलाई हरेक दिन हेर्ने बानी परेको छ । त्यो बानी छुटाउने चाहना छैन । के तिमी मेरा बानी बन्न सक्छ्यौ ?’
उनी केहीछिन चुप रहिन् । अनि मुस्कुराउँदै बोलिन्, ‘यदि तिमी सधैँ मलाई यसरी माया गर्यौ भने, म तिमी मात्रको हुनेछु ।’
त्यो दिनदेखि हामी दुईको यात्रा सुरु भयो । झगडा, हाँसो, आँसु, रमाइलो र साथ ।
समय बिस्तारै बगिरहेको थियो । हामी दुबै स्नातक सकेर आ–आफ्नो करियरतिर लागेका थियौँ । म काठमाडौंमै एक आईटी कम्पनीमा काम गर्न थालेको थिएँ, निशा भने बुटवलमा शिक्षिका बनिन् ।
दूरी थियो, तर माया अझै मजबुत थियो । माया कहाँ शहरले नापिन्छ र ? हामी हरेक साँझ फोनमा कुरा गथ्र्यौं, कहिले श्ययm डेट, कहिले कविता पठाएर दिन सुरु गर्ने । तर जीवनमा कहिले काँडाहरू पनि उम्रिन्छन् ।
एकदिन निशाले भनिन्, ‘आयुष, बाबा बिरामी हुनुहुन्छ, म यतिबेला विवाहको कुरा सोच्न सक्दिन ।’
म स्तब्ध भएँ । मैले त मनमा भविष्यको चित्र बनाइसकेको थिएँ, जहाँ म र ऊ एउटै छानोमुनि हुन्थ्यौं । तर मैले केही नबोली भनेँ, ‘म तिमीलाई समय दिन्छु । म तिम्रो साथ मात्र होइन, तिम्रो पर्खाइ बन्न पनि तयार छु ।’
तीन महिना बित्यो । न फोन, न म्यासेज । एक साँझ कामबाट फर्कँदै गर्दा मेरै अफिसको गेट अगाडि निशा उभिएकी थिई । उसको आँखामा आँसु थियो, तर ओठमा मुस्कान ।
‘आयुष... म फर्के । तिमीले दिएको त्यो ‘समय’ले मलाई थाहा दियो, म तिमी बिना अधूरी थिएँ ।’
म केही बोलिनँ, उसलाई अँगालोमा हालें ।
दुई महिनापछि हामीले दुबै परिवारको आशीर्वाद लिएर सानो, तर आत्मीय विवाह गर्यौँ । कुनै महँगो हल थिएन, कुनै भव्य सजावट थिएन, तर थियो साँचो प्रेम, हाँसो र आँसु मिसिएको एउटा न्यानो कथा ।
आज म बिहान हरेक दिन उसलाई चिया ल्याउँछु । ऊ मसँगै बिस्तारै जिन्दगी बुनिरहेकी छे । कहिलेकाहीँ ऊ हिजोको कुरा सम्झेर भन्छे, ‘धन्य तिमीले त्यो दिन प्रतीक्षा गर्यौ, आयुष ।’
र म भित्रैभित्र सोच्छु, ‘साँचो प्रेम भनेको समय दिन सक्नु हो । त्यो समयले आज हामीलाई जीवन बनाएको छ ।’
हाम्रो नानी, हाम्रो नयाँ संसार, सानो हात, ठूलो मायाको कथा ।।
विवाहपछिका पहिलो दुई वर्ष निकै रमाइला भए । हामी काम र प्रेमको सन्तुलनमा जीवन बुनिरहेका थियौँ । कहिले पोखराको यात्रा, कहिले टेरेसमा रात्रिभोज– हामी आफ्नै संसारमा रमाइरहेका थियौँ । तर एक दिन निशा हतारिँदै आइन् । उसको हातमा रिपोर्ट थियो । उसको आँखाबाट आँसु झर्दै थियो, तर त्यो दुःखको थिएन ।
ऊ बिस्तारै फुसफुसाई, ‘आयुष... म आमा बन्दैछु ।’
त्यो पल मेरो लागि संसारकै सबैभन्दा ठूलो उपहार थियो । म शब्दै गुमाएँ, तर उसलाई अँगालो हालेर भनेँ, ‘अब त हामी तीन भयौँ ।’
निशाको पेटसँगै हाम्रो प्रेम पनि अझ गहिरिँदै गयो । म उसलाई माया मात्र होइन, स्याहार पनि दिन थालेँ । फुर्सदमा हामी सँगै बच्चाको नाम सोच्थ्यौं– छोरी भयो भने ‘आश्मा’, छोरा भयो भने ‘ओजस’ ।
पुसको चिसो बिहान थियो । निशाको प्रसव पीडा सुरु भयो । म प्रशुती अस्पताल बाहिर हात जोडी बसेको थिएँ । त्यो पल हरेक सेकेन्ड घडीको काँटाजस्तो लाथ्यो । अन्ततः डाक्टर निस्किनुभयो र मुस्कुराउँदै भन्नुभयो, ‘बधाई छ, छोरी भएकी छ ।’
मभित्र नसोचेको खुसीको भेल आयो । म दौडिएर निशासँग गएँ, उसले थाकेका आँखाले मलाई हेरी र बिस्तारै मुस्कुराई, ‘हामी सफल भयौँ, आयुष ।’
आज आश्मा दुई महिनाकी भइन् । सानो हातले मेरो औंला समात्दा, मभित्र एउटा नयाँ मान्छे बाँच्न थाल्छ ।