
नेपालको कूटनीतिक सम्बन्ध पछिल्ला दिनमा अपेक्षित रूपमा सहज नदेखिएको विश्लेषण हुन थालेको छ । नयाँ सरकार बनेपछि भारत, चीन र अमेरिकासँग उच्च तहमा संवाद घटेको देखिन्छ । खासगरी नेपाल–भारत सम्बन्धमा सुधार आउन सकेको छैन । तय भइसकेका भ्रमण र भेटघाटहरू स्थगित भएका छन् भने प्रधानमन्त्री वालेन्द्र शाहले गर्ने भनिएको भारत भ्रमण पनि अनिश्चित हुँदै गएको छ । पछिल्लो समय नेपालसँग कुनै संवाद वा समझदारीबिनै नेपाली भूमि लिपुलेक हुँदै भारतले मानसरोवर यात्रा खुलाएपछि आपसी सम्बन्ध चिसिएको छ । नेपालले भारत र चीन दुवैलाई यसबारे असहमति राख्दै कूटनीतिक नोट पठाएपछि भारतीय विदेश मन्त्रालयले जवाफ फर्काएको छ । यसबीचमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेश सचिवको भ्रमण रद्द हुनुले पनि कूटनीतिक संवादलाई पर धकलेको छ ।
नेपालको विदेश नीति सधैं सन्तुलित सम्बन्धमा टिकेको छ । भारतसँग हाम्रो खुला सीमा, व्यापार र सांस्कृतिक सम्बन्ध जोडिएका छन् । चीनसँग विकास परियोजना र कनेक्टिभिटीका मुद्दा छन् । अमेरिकासँग सहयोग र विकास साझेदारीका विषय जोडिएका छन् । यी सबै सम्बन्ध संवेदनशील भएकाले संवाद कम हुँदा गलत बुझाइ बढ्न सक्छ । नेपालले भूराजनीतिक चलखेल र स्वार्थको लडाइँको मार व्यहोर्नुपर्ने हुनसक्छ । छिमेक वा मित्रराष्ट्रसँग कुनै मुद्दा विशेषमा रहेर कूटनीतिक सम्बन्धमा उतारचढाव आउनु अस्वाभाविक होइन । तर जुनसुकै समस्याको समाधान सधैं संवादबाटै खोजिन्छ । कुनै पनि विवाद वा असहमति भए पनि टेबलमा बसेर कुरा गर्ने अभ्यासलाई बलियो बनाउनुपर्छ । संवाद रोकिँदा अविश्वास बढ्छ र आपसी सम्बन्ध कमजोर हुन्छ । त्यसैले विदेश नीतिलाई व्यक्तिगत शैली वा अस्थायी निर्णयभन्दा बाहिर राखेर संस्थागत रूपमा अघि बढाउन आवश्यक छ ।
नेपालले छिमेकी र अन्य साझेदार सबैसँग नियमित संवाद राख्नुपर्छ । उच्चस्तरीय भेटघाट, दूतावासमार्फत निरन्तर सम्पर्क र संयुक्त छलफल नियमित हुनुपर्छ । प्रोटोकल वा असमझदारीका कारण संवाद रोक्नु दीर्घकालीन रूपमा हितकर हुँदैन । सीमा विवाद होस् वा व्यापारिक समस्या, सबै विषय संवादमार्फत समाधान गर्न सकिन्छ । त्यसैले नेपालले आफ्नो कूटनीतिक प्राथमिकता स्पष्ट पार्नुपर्छ । नेपालजस्तो देशका लागि कूटनीति विकास, सुरक्षा र स्थायित्वसँग प्रत्यक्ष जोडिएको विषय हो । त्यसैले सरकारले सबै देशसँग सन्तुलित, नियमित र सम्मानपूर्ण संवाद कायम राख्नुपर्छ । संवाद बलियो भयो भने मात्र आपसी सम्बन्ध सुदृढ हुन्छ । विश्वव्यापीकरणको अहिलेको युगमा छिमेक वा मित्र राष्ट्रसँगको सुदृढ सम्बन्ध र नियमित संवादले मात्र राष्ट्रिय हित सुरक्षित हुन सक्छन् ।