२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

जनताको दुःख नदेख्ने सत्ता राजनीति

ADV
२०८१ भदौ २ गते ०६:२०
जनताको दुःख नदेख्ने सत्ता राजनीति

–गोविन्द विक

नेपाली राजनीति सत्तामुखी मात्रै भएको छैन, सत्ता हत्याउनका लागि सिद्धान्त, दर्शन, विचार र आदर्शलाई तिलाञ्जलि दिएर व्यक्ति केन्द्रित स्वार्थमा रमाइराखेको छ । जुन निरन्तर भइरहेका सत्ता समीकरण फेरबदलका घटनाक्रमहरूले पुष्टि गर्दछन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एमाले)को समर्थनमा पहिलो पटक प्रधानमन्त्री बनेका थिए । एमालेको समर्थनबाट प्रधानमन्त्रीको स्टेरिङमा बसेर सत्ताको रेल हाँकेका प्रचण्ड स्थिर हुन सकेनन् । एमालेसँगको सत्ताको जुइनो छिनालेर संसदमा प्रमुख पार्टीको रूपमा उपस्थित भएको दल नेपाली काँग्रेससँग सत्ताका लागि कुम जोड्न पुगे । काँग्रेससँग कुम जोडेपछि प्रचण्डको सत्ता यात्रा केही समय चल्यो । 

जनतामुखी कामभन्दा पनि भागबन्डा र सत्ताको अर्घेलो मिलाउनमा नै प्रचण्डको समय बित्यो । सत्ता यात्रा चलिरहेकै बेला फेरि प्रचण्डले नेपाली काँग्रेसलाई छोडेर पुनः बाम गठबन्धन ब्युँताउने निहुँमा एमालेसँग सत्ताको कुम जोडन पुगे । काँग्रेससँगको सत्ता यात्रामा काम गर्न नसकिएको हात–खुट्टा बाँधिएको बाघ जतिकै आफू भएको प्रतिक्रिया प्रचण्डले दिए । एमालेसँग सत्ताको यात्रा अगाडी बढाउँदा प्रचण्डले म नमरुन्जेल देशमा उथलपुथल भइरहने अभिव्यक्तिसमेत दिन भ्याए । देशको प्रधानमन्त्रीले जनता र मुलुकको समस्या के हो भन्ने चिन्ता र चासो गर्नुपर्नेमा म रहुन्जेल राजनीतिक उथलपुथल भइरहने भाषण गर्दै हिँड्नु जतिको हास्यास्पद अरू के हुन सक्छ ? ओलीले प्रचण्डलाई विगतमा पनि सत्ताको यात्रामा धोका दिएका हुनाले प्रचण्ड ओलीप्रति निकै संशकित हुँदै सत्ताको यात्रा तय गरिरहेकै थिए । त्यस समयमा पनि प्रचण्डलाई जनमुखी समस्याको चासो र चर्चोभन्दा पनि ओली भड्केलान् भन्ने डर कम गर्ने उपाय खोज्नमै समय बित्यो । 

सत्ता समीकरणभित्रका दलहरूको विभिन्न काण्डले मच्चाएको ताण्डवको ढाकछोप गर्नुपर्नेमै प्रचण्डको समय बितेको थियो । गिरीबन्धु, सहकारी यस्तै–यस्तै काण्ड छोप्नुपर्ने विवशताबाट प्रचण्ड पिल्सिराखेका थिए । यता एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जसरी पनि आफू प्रधानमन्त्री हुनुपर्ने समय घर्किसकेको बेचैन त छँदै थियो भने उता नेपाली काँग्रेसले सत्ता फुत्केको पीडा लुकाउन नसकी सत्तासीन दलहरूप्रति कटाक्ष गरिरहेकै थिए । सहकारी ठगीको आरोपमा मुछिएका तत्कालीन गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नुपर्ने अडान राखी महिनौँ संसद् अवरुद्ध बन्यो । जनताको समस्या त, कता हो कता मुलुकको समस्या कता हो कता महँगी नियन्त्रणको सवाल कता हो, कता दैनिक बिदेसिने युवाको लर्को चलिरहेको छ । त्यसलाई राख्ने कार्यक्रम त कता हो कता, न सत्ता पक्षलाई जनताको दुःखको चिन्ता छ न प्रतिपक्षलाई । सत्ता पक्ष गठबन्धन जोगाउने उपायमै समय पुग्दैन भने प्रतिपक्ष सत्ता कसरी ढाल्ने भन्दै दिन गन्ती सुरु गरिहाल्ने, यसरी नै सत्तामुखी राजनीति चलिरहेको बेला प्रमुख दुई ठुला राजनैतिक दल मिलेर फेरी अर्को सत्ता समीकरणको यात्रा सुरु भयो । वर्तमान सत्ताको स्टेरिङमा केपी ओली छन् । चौथो पटक सत्ताको रेल हाँक्न तम्सिएका ओलीलाई असफल हुने छुट त छैन नै छलछामको राजनीतिलाई पनि निस्तेज पार्नुपर्ने चुनौती पनि त्यत्तिकै छ । 

सत्ता स्वार्थमा चुर्लुम्म डुबेको राजनीतिक नेतृत्वबाट प्राकृतिक विपत्मा आहत खेपिरहेका जनताको दुःखमा मलहम लगाउला भन्ने विश्वास मर्दै मात्रै गएको छैन, यस्ता घिनलाग्दा राजनीतिक दोहोरीले आम नागरिकमा वितृष्णासमेत जागिरहेको छ । जब–जब मुलुकमा प्राकृतिक विपत् आउँछ, तब–तब राजनैतिक दलहरू सत्ताको दोहोरीमा रूमालिन्छन् । यो अभ्यास नयाँ हैन पुरानै हो ।

कोरोनाकालमा दलहरू सत्ताका लागि दोहोरी खेल्नमा व्यस्त हुँदा राधा सदाहरू भोकसँग लडाइँ गरिरहेका बिर्सन सकिन्न । विपत्ले नागरिकमा विचल्ली बनाएको छ । जताततै बाढी–पहिरोले जनधनको क्षति दिनहुँ । दिनहुँ हुने सडक दुर्घटनाले सडकको दुरदर्शालाई देखाइरहेको छ भने हवाई दुर्घटना त्यत्तिकै बढ्दा जनता असाध्यै पीडामा छन् । शौर्य एयरलाइन्सको विमान दुर्घटना होस् वा सिमलालमा भएको दुर्घटना सामान्य छैन । यद्यपि, सिमलाल दुर्घटना भएको महिनौँ बित्यो, न बस भेटियो न त लास नै भेटिए । विशेषगरी प्राकृतिक विपत्ति यो पहिलो पटक होइन, वर्षौनी विपत् आइनै रहन्छ तर, कुनै पनि सरकार प्राकृतिक विपतलाई रोकथाम गर्ने पूर्व तयारीका बारेमा न छलफल नै गर्छ न योजना नै बनाउँछ ।

प्राकृतिक विपत्बाट भएका क्षतिबाट पाठ सिकेर आगामी वर्षका लागि पूर्व तयारीमा योजनासहित सरकारले काम गर्ने हो भने केही हदसम्म प्राकृतिक विपत्बाट जनतालाई जोगाउन सकिन्छ । दलका उच्च नेतृत्वलाई अहिले पनि जनताको चिन्ता छैन । कुन दलसँग एकता गरेर फेरी कसलाई प्रधानमन्त्री बनाउने भन्ने धाउन्नमा नेतृत्वको समय बित्न थालेको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगको पार्टी एकता गरी नेपाललाई प्रधानमन्त्री बनाउने जिम्मा लिँदैछन् । नेतृत्वको यस्तै उल्टो–पाल्टो व्यवहारले गर्दा पार्टी सकिएको भेउ नेतृत्वलाई छैन । के दलहरूले भन्ने गरेको सुशासन र समृद्धिको अभ्यास यही हो । संसदमा दलहरू एक–अर्कालाई आक्षेप लगाउने दोहोरी मै व्यस्त भएको उदाहरण त जीवितै छ । जनताका मुद्दालाई संसदमा उठाउँदा सत्तापक्ष र प्रतिपक्षको बार लगाएर सांसदहरू विभाजित भई एक–अर्कालाई औलो उठाउनेभन्दा संसदका अरू केही भएको छैन । आज बाढीले विस्थापित भएकाहरूलाई राहतको कुरा खोइ ? पहिरोले घरबार विहीन भएकाहरूलाई सरकारले ओत दिएको खोइ ? संघ र प्रदेश सरकारलाई सत्ता मिलाउनमै समय छैन, स्थानीय सरकारसँग बजेट नै पर्याप्त छैन । यस्तो अवस्थामा सरकारप्रति राजनैतिक दलप्रति जनभरोसा कसरी कायम रहन्छ ? यी र यस्ता प्रश्नहरूले गर्दा जनता राजनैतिक दलप्रति निराशा भएका छन् ।

सुशासनका परिभाषा आ–आफ्नै अनुकूल निर्माण गर्न व्यस्त हुने दलका नेतृत्वकर्ता जनस्तरको पीडामा कहिल्यै घोत्लिने गरेनन् । आफै सत्तामा गए सबै ठिक हुने, आफै प्रधानमन्त्री बने सबै ठिक हुने, सुशासन आउने देश र जनताको समृद्धि आइहाल्ने तर, अरू सत्तामा गए देश बर्बाद हुने, अरू प्रधानमन्त्री भए जनताले सुख नपाउने जस्ता मनोगत झुट गत भाष्य निर्माण गर्ने अभ्यासमा राजनीतिक दलका उच्च तह नै लागुन्जेल यो मुलुकमा समृद्धि आउने र जनताले सुख पाउने सपना कहिल्यै पूरा नहुने पक्का नै छ । 

सत्ता पक्षले प्रतिपक्षलाई दोष र प्रतिपक्षले सत्ता पक्षलाई दोष, एक अर्काको कटाक्ष गर्ने, एक–अर्कालाई निषेध गर्ने, एक अर्कामाथि बैमनष्यता थोपर्ने अभ्यासभन्दा बाहेक केही नभएको पछिल्लो राजनीतिक नेतृत्वको व्यवहारले प्रस्ट पारिसकेको छ । जनताको दुःख र पीडा महसुस गर्न नसक्ने नेतृत्व सुशासन र समृद्धिको नायक कहिल्यै हुन सक्दैन । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise