२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

युरोप जाने सपनाले बिल्लीबाठ

ADV
कुलेन्द्र शाही
२०८१ असोज २३ गते ०६:३०
युरोप जाने सपनाले बिल्लीबाठ

सुर्खेत : सुर्खेत भेरीगंगा–२ का धनबहादुर डाँगीलाई वैदेशिक रोजगारका नाममा डेढ वर्ष झुलाएर एक एजेन्ट रकम कुम्ल्याएर बेपत्ता भएका छन् । घरमा आर्थिक अभाव झेलिरहेका २० वर्षीय डाँगी २०७९ फागुनमा वैदेशिक रोजगारीमा गएर पैसा कमाएर अभावले भरिएको जिन्दगीमा केही परिवर्तन ल्याउने निर्णय गर्छन् । वैदेशिक रोजगारमा जाने निर्णय गरेको केही समयपछि छिमेकी नाताले काका पर्ने विपिन खत्रीमार्फत वीरेन्द्रनगर–१२ चनौटे बस्ने २५ वर्षीय वीरबहादुर दर्लामी भनेर चिनिने दिपेश दर्लामीसँग भेट हुन्छ । त्यहीँबाट शुरूवात भएको ठगीको प्रपञ्चले उनलाई अन्तिममा घर न घाटको अवस्थामा पुर्‍याएको छ ।

आफूले वैदेशिक रोजगारमा जाने सोच बनाएको बताएपछि दर्लामीले उनलाई आफ्नो काठमाडौंमा प्रतिष्ठित म्यानपावर कम्पनीसँग राम्रो सम्बन्ध भएको आश्वासन दिन्छन् । त्यति मात्रै नभइ दर्लामीले डाँगीलाई सोही क्षेत्रका ५–६ जनालाई विदेश पठाइसकेको उदाहरण दिएर क्रोएशिया पठाइदिने र होटेलको काममा लगाइदिने आश्वासन दिएका थिए ।

उनले तत्कालै विदेश पठाउने बताएर प्राइम बैंकको खातामा मोबाइल बैकिङमार्फत रकम जम्मा गर्न भनेपछि  विदेश जाने हुटहुटीमा रहेका डाँगी कुनै शंका नगरी दर्लामीको खाता नम्बरमा पैसा हाल्न तयार हुन्छन् । दर्लामीले आफ्नो नभइ आमाको खातामा समेत रकम जम्मा गर्न लगाउँछन् ।

डाँगीले शुरुमा दर्लामीलाई मोबाइल बैंकिङमार्फत एक लाख १० रुपैयाँ जम्मा गरिदिन्छन् । सोही दिन उनले थप ५० हजार १० रुपैयाँ र पुनः ६ हजार १० रुपैयाँ गरी १ लाख ५६ हजार ३० रुपैयाँ खातामा जम्मा गर्छन् । आफ्नो खातामा रकम हालेको एक महिनापछि दर्लामीले आफ्नो आमाको खाता नम्बरमा रकम हाल्न लगाएका थिए । 

दर्लामीले ठगिरहेकोबारे आफूले कुनै सुईँकोसम्म पाउन नसकेको डाँगीको भनाइ छ । उनले भने, ‘मेरो उहाँसँग निरन्तर कुराकानी भइरह्यो, पहिलो पटक रकम हालेको एक महिनापछि उहाँले फेरि आमाको बैंक खाता नम्बरमा रकम जम्मा गर्न लगाउनुभयो । मैले उहाँकी आमा पुष्पा दर्लामी मगरको खाता नम्बरमा २०७९ चैत २९ गते थप दुई लाख रुपैयाँ जम्मा गरें ।’

दर्लामीले २०८० साल जेठ महिनाको पहिलो वा दोस्रो सातामा विदेश पठाउने आस देखाएर खाली कागजमा ल्याप्चे र सहीछाप गर्न डाँगीलाई बाध्य बनाएका थिए । उनले त्यति मात्रै होइन ब्लड ग्रुप, पासपोर्ट साइजको फोटो र आफ्नो राहदानीसमेत मागेका थिए । दर्लामीले मागेअनुसारका सबै कागजात दिइसकेपछि पनि भनेको समयमा डाँगीलाई वैदेशिक रोजगारमा पठाउन सकेनन् । विदेश नपठाएपछि डाँगीले आफूले दिएको पैसा फिर्ता माग्न शुरु गरे । तर दर्लामीले जसरी भएपनि क्रोएशिया पठाउँछु भन्दै बारम्बार विदेश पठाउने मिति सारिरहे । 

२०८० सालको कात्तिक महिनासम्म पनि उनले विदेश पठाउन नसकेपछि डाँगीले आफ्नो पैसा तत्काल फिर्ता गर्न आग्रह गरे । दर्लामीले आफूसँग नगद रकम नभएको बताउँदै प्राइम बैंक लिमिटेडको चेक लिएर सटही गर्न सुझाव दिएर २०८० चैत १० गते ४ लाख रकमको चेक दिए । तर बैंकमा चेक पेस गर्दा खातामा कुनै पनि रकम नभएको भन्दै बैंकका कर्मचारीले डाँगीलाई खाली हात फिर्ता गरिदिए । 

दर्लामीले पैसा आइहाल्छ भन्दै आफूलाई विश्वास दिलाएको, तर गत वैशाख पहिलो हप्तासम्म पनि रकम जम्मा नभएपछि चेक अनादर अवस्थामा पुग्छ । तर पीडित डाँगीको सोझोपनको फाइदा उठाएर दर्लामीले आफ्नी दिदी उर्मिला दर्लामीको सिटिजन्स बैंकको चेक आफ्नै नाममा काटेर दर्लामीले डाँगीलाई थमाउँछन् । उक्त खातामा पनि रकम थिएन, त्यहाँ पनि डाँगीले धोका पाउँछन् ।  त्यसपछि दर्लामीले २०८१ साल वैशाख २९ गते भेटेर डाँगीलाई एक महिनाभित्र लिएको रकम दिन नसके वीरेन्द्रनगर–१२ चनौटेमा रहेको उनको आमा पुष्पा दर्लामीको नाममा रहेको घर जग्गा दिने भनि सोही जग्गाको श्रेस्ता थमाउँछन् । आमा पुष्पाले छोराले लिएको रकम आफूले २ महिनाभित्रमा दिने प्रतिबद्धता जनाउँछिन् । उनले २०८१ भदौ ७ गते २५ दिने भाका राखेर आफू बसेको घर खाली गर्ने र सोही दिन पीडित डाँगीको नाममा जग्गा नामसारी गर्ने बताउँछिन् ।  तर असोज ७ गते उक्त घरमा जाँदा घरमा कोही पनि नभएको डाँगी बताउँछन् ।

ठगीको रकम हात पारेका दर्लामी असोज ६ गते नै घरका सम्पूर्ण सामानसहित आफ्ना बिरामी आमाबुबालाई लिएर सम्पर्कविहीन भएपछि वैदेशिक रोजगारमार्फत पारिवारिक परिस्थिति सुधार गर्ने सपना देखेका डाँगी समस्यामा परेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise