२०८१ कार्तिक २१ गते बुधवार / Nov 06 , 2024 , Wednesday
२०८१ कार्तिक २१ गते बुधवार

तिहारमा स्वस्थ उपहार

ADV
२०८१ कार्तिक १५ गते ०६:१५
तिहारमा स्वस्थ उपहार

–डा अरुणा उप्रेती

नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा आएको छ । यस पर्वलाई दाजुभाइ र दिदी बहिनीबिच विभिन्न उपहार पनि लिनेदिने पर्वका रूपमा पनि लिने गरिन्छ । दिदीबहिनीले दाजुभाइको दीर्घायु र सुस्वास्थ्य कामना गर्ने पर्व हो, तिहार । दाजुभाइलाई विभिन्न किसिमका भाइ मसला मिठाईका परिकार खुवाउने, टीका लगाउने, पूजा गर्ने र त्यसपछि दाजुभाइले पनि दिदीबहिनीलाई स्नेहपूर्वक उपहार दिने एकदमै राम्रो चलन हो । यो चलनलाई जोगाउनुपर्छ । तर यो पर्व मनाउँदै गर्दा विभिन्न मसला र भोजन दाजुभाइलाई दिँदा त्यस्तो भोजन कस्तो तरिकाले बनाइएको र कस्तो तेल प्रयोग गरिएको छ भनेर विचार चाहिँ गर्नुपर्छ । 

तेलको गुणस्तरले भोजनको गुणस्तरमा पनि असर पार्ने हुँदा आफूले प्रेमपूर्वक दिएको खानेकुराले कुनै असर नगरोस् भन्ने कुरामा ध्यान दिनु आवश्यक छ । बारम्बार एउटै तेलको प्रयोग गर्दा त्यसमा नराम्रो खालको चिल्लो उत्पन्न हुन्छ । त्यसले मुटु र कलेजोलाई हानि पुर्‍याउँछ । यस्तो खाना खाएपछि दाजुभाइलाई समस्या उत्पन्न हुनसक्छ । त्यसमाथि पनि मधुमेह, उच्च रक्तचापको समस्या भएका व्यक्तिहरूमा झन् समस्या थपिन सक्छ । त्यसैले दिदीबहिनीले सबैलाई स्वास्थ्यकर हुने घरमा बनाइएका खानेकुराको बढी प्रयोग गरे दाजुभाइलाई ‘माया’ गरेको ठहरिन्छ ।

तिहार पर्व मनाइरहँदा सन्तुलित र स्वस्थ खानेकुरातर्फ ध्यान दिन जरुरी छ । यो बेलामा विभिन्न तरिकाले बनाएका बढी मासु खाँदा स्वास्थ्यमा समस्या पनि आउन सक्छ । धेरै चिल्लो, मसला र पिरो राखेर पकाएको मासु स्वादिष्ट त हुन्छ । भात, रोटी, चिउरासँग त्यो स्वादिष्ट मासु खाएर पेट टन्न हुँदा पनि जिब्रो अघाएन र जिब्रोले स्वाद खोज्यो भन्दै पुनः थपेर खाँदा पेटको स्वास्थ्यमा असर गर्छ । जिब्रोको स्वादका आधारमा यसरी मासु र धेरै परिकार तथा अन्य खानेकुरा खाँदा स्वास्थ्यमा अनेक समस्या आउन सक्छ । त्यसैले संयमित भएर भोजन गर्नुपर्छ । 

पहिला नेपालीलाई मासु खानका लागि दशैं, तिहारजस्ता चाडपर्व नै कुर्नुपर्थ्यो । आजभन्दा ४४–४५ वर्षअघि दसैँ, तिहारमा मासु भात, मासु चिउरा, मिठाइ खान पाइन्छ भनेर खुसी भइन्थ्यो । यही बेलामा मात्रै मन लागे जति मासु खान पाइन्थ्यो । अरुबेलामा त एक पाउ ल्याएर परिवारले खाने भएर होला, दसैँ, तिहारको बेला धेरै मासु खाने चलन थियो । अहिले मासु खान दसैँ, तिहारजस्ता चाडपर्वमा पर्खिनु पर्दैन । दैनिक जीवनमा पनि हप्तामा एक÷दुई चोटि मासु प्रायः धेरै परिवारमा पाक्छ । मासु मात्रै लगातार खाने अनि दाल, गेडागुडी, हरियो सागसब्जीलाई बेवास्ता गर्दा कब्जियतको समस्या हुन्छ । शरीरलाई चाहिने प्रोटिन तत्व प्राप्त गर्नका लागि सबै खानेकुरालाई मिलाएर खानुपर्छ । 

चाडपर्वको बेला मासु बढी खाने तर अन्य स्वस्थकर खानेकुरालाई बेवास्ता गर्दा मधुमेह, युरिक एसिड, अत्यधिक मोटोपन, ग्यास्ट्रिक भएकाहरूलाई झन् समस्या पर्छ । विदेशतिर काँचो मासु काटेर डिप–फ्रिजमा राख्छन् र आफूलाई चाहिएका बेला निकालेर पकाउँछन् । हामीकहाँ चाहिँ धेरै मासु एकै पटक पकाएर फ्रिजमा राख्ने, त्यसपछि पुनः खानेबेलामा सबै निकालेर एकैचोटी तताउने, चाहिएको खाने अनि फेरि फ्रिजमा राख्ने गरिन्छ । यसरी फ्रिजमा राख्दै, बाहिर निकाल्दै खाने अनि फेरि फ्रिजमा राख्ने गर्दा मासुमा भएको पौष्टिक तत्व र गुणात्मकता घट्छ । खानामा विषालु तत्व उत्पन्न पनि हुनसक्छ । धेरै मासु एकैचोटी ल्याएर डिप–फ्रिजमा काँचो मासु राख्ने, जति चाहिन्छ, त्यति मात्रै निकालेर पकाउने गर्नुपर्छ । सकेसम्म जुनसुकै खानेकुराहरू फ्रिजमा राखेको २४ घण्टादेखि ४८ घण्टाभित्र खानुपर्छ । अहिले नसर्ने रोगहरूको बिगबिगी बढेकाले दाजुभाइको स्वास्थ्यमा राम्रो फाइदा गर्ने भोजन दिनुपर्छ । 

हामीले तिहार पर्व दाजुभाइको दीर्घायु र सुस्वास्थ्यको लागि मनाउँछौँ । त्यसैले उनीहरूको स्वास्थ्यको ख्याल राख्नु दिदीबहिनीको कर्तव्य हो । अहिले उपहारमा पनि अनेक फलफूलको जुस होइन, स्थानीय फलफूल नै दिनुपर्छ । बट्टाको फलफूलको जुसले शरीरमा धेरै बेफाइदा गर्छ । बट्टाको जुसहरूमा एकदमै धेरै चिनीको मात्रा हुन्छ । अहिलेको समयमा चिनीको प्रयोगले मानिसहरूलाई विभिन्न किसिमका समस्या आइपरेका छन् । त्यसमाथि यदि कसैका दाजुभाइ मधुमेहका बिरामी छन् भने त झनै समस्या हुन्छ । त्यसकारणले बारीमा, पसलमा सजिलै पाइने अम्बा, सुन्तला, अमला हलुवाबेदजस्ता खानेकुराले दाजुभाइको तिहार विशेष बनाऔँ । खानेकुरा घरमा दाल, भात, तरकारी, माछा मासु बनाउँदा पनि चिल्लो, पिरो कम गरी बनाउनु पर्छ । स्वादको लागि टमाटर, लप्सी, तिल, सिलाम, आलस, आलुको अचार बनाउन सकिन्छ । अचार खाँदा यसमा हालेको अमिलोमा भिटामिन ‘सी’ हुन्छ, त्यसले रोगसँग लड्ने शक्ति बढाउँछ । सरल र सहज रूपमा पाइने खानेकुराको प्रयोग गरेर पनि तिहार विशेष बनाउन सक्छौँ । 

चाडपर्व भन्दैमा खानेकुरा अव्यवस्थित रूपमा खानु हुँदैन । खानेकुराको व्यवस्थापन र उचित आहार स्वस्थ जीवनशैलीको प्रतीक हो । चिल्लो, पिरो, अमिलो तथा हरेक प्रकारका खानेकुरालाई व्यवस्थापन गर्न सकिन्छ । हरेक खानेकुरा समयमा खानाले स्वास्थ्य भई चाड मनाउन सकिन्छ । रमाइलो गर्ने हो तर स्वास्थ्यको ख्याल गर्दै गरेका हरेक कुरा हाम्रा लागि लाभदायक हुने गर्दछन् । चाडबाड मनाउँदै गर्दा स्वास्थ्यको क्षति नगरी हरेक खानेकुराले आफन्ती तथा दाजुभाइको स्वास्थ्यको ख्याल गर्नुपर्छ ।

ADVADV

सम्बन्धित खबर

Advertise