२०८१ मंसिर १९ गते बुधवार / Dec 04 , 2024 , Wednesday
२०८१ मंसिर १९ गते बुधवार

लघुकथा : पुजारी

ADV
२०८१ मंसिर १५ गते ०६:२०
लघुकथा : पुजारी

–धनराज गिरी

देश दर्शनको क्रममा लहानको रमेश बर्मा पुग्यो । सुदूरपश्चिमको एउटा गाउँमा उसको फेसबुके साथी उमेश शर्मा फेला पर्‍यो । उमेशले त्यहाँको देवीको मन्दिर र पुजारीका बारेमा सुनायो । यसरी सुनायो कि ऊ सम्मोहित भयो र गयो मन्दिर अवलोकन गर्न । 

मन्दिरमा निकै भीड । बल्लबल्ल मौका पायो देवीको दर्शन गर्न र पुजारीलाई भेट्न । उसलाई देखेर पुजारी झस्कियो, अनुहारको रङ बदलियो । रमेशले थाहा पाएर पनि थाहा नपाएको अभिनय गर्‍यो । केही पनि भनेन ।

‘उमेश, तिमीलाई पुजारीका बारेमा केही थाहा छ ?’, बर्मा । 

‘छैन त, हामीले वास्ता पनि गरेनौं । हरिद्वार पढेर आएको र कोही पनि नभएको टुहुरो रे भन्ने सुनेको, अझ बाल ब्रह्मचारी रे ! यहाँ पनि नारीहरूले असाध्यै मान्छन् । किन र साथी ?’, शर्मा ।

‘त्यत्तिकै, जान्न मन लाग्यो ।’ भेद खोलेन, आवश्यक ठानेन । 

भोलिपल्ट रमेश एक्लै गयो । पुजारीले देख्यो । एकान्तमा बोलायो । कोठामा लग्यो । झ्याल–ढोका बन्द गरेर गिड्गिडायो, ‘बर्माजी, जे हुनु भइसक्यो । मेरो यहाँ ठूलो इज्जत छ । मुख नखोल्नु होला । यो १० तोला हाटक र १५ लाख दिन्छु । मेरा लागि अर्थहीन । त्यो पापपछि आत्महत्या गर्न मन लागेको थियो । सकिनँ । यहाँ आएर यो काम गरेर प्रायश्चित गर्दै छु । विन्ती है !’, पुजारी । 

‘हुन्छ, ढुक्क हुनू । सबै पापीहरूले पाप पखाल्ने साबुन यही सुन र नगदनारायण हो । तिमी एक जना मात्र पापी भए पो यो दुनियाँमा । म बोल्दिनँ ।’
झोलामा, भित्री गोप्य स्थानमा ‘बम्पर’ व्यवस्थापन गरेर टाप ! शर्मालाई पनि भेटेन । 

३० वर्षअघि उसकै गाउँमा, आफ्नै भाइ बुहारीलाई बालीको अवतार लिएर तारा बनाएको थियो त्यो पुजारीले । भाइ विदेश थियो । बुहारीले पुलिसमा नालिस हाली । ऊ गायब भयो । पत्नी मरेर विधुर थियो । सन्तान थिएनन् । 

‘यो दुनियाँमा जे गर्छ, यही नगद नारायणले गर्ने रहेछ । यो यात्रा मेरा लागि पनि फलदायी भयो । अब अतीतमा गएको एउटा ‘हादसा’लाई उजागर गरेर हुने के हो र ? ह्या, बुहारीको पनि उद्धार भयो, जेठाजुको ३ बिगाहा जमिन आफ्नो बनाई, जम्मै बेचेर अर्कोसित गई । मलाई के मतलब ?’, यस्तै सोचेर घर फर्कियो । 

‘पहाडको पुख्र्यौली जमिन बेचेर आएँ’, यति नाटक गर्‍यो । 

‘साथी, म अचानक पत्नी बिरामी भएर फर्किएँ’, उमेशलाई म्यासेज गर्‍यो । 

‘पुजारीजी सोध्दै हुनुहुन्थ्यो’, उत्तर आयो । 

‘साह्रै सज्जन पुजारी, खुसी लाग्यो’, उत्तर लेख्यो । 

‘देवता नै !’, उमेशको जबाफ । मरिमरी हाँस्यो रमेश, एक्लै ।

ADVADV

सम्बन्धित खबर

Advertise