डा. ऋषि बस्ताकोटी
नेपाली साहित्यमा मूलतः कवि तथा साहित्यिक संगठकको परिचय बनाएका पदम विश्वकर्मा ‘तमसुक’ लिएर कथा साहित्यको बजारमा प्रवेश गरेका छन् । शिख बुक्सले ०७६ वैशाखमा बजारमा ल्याएको तमसुकभित्र पदम विश्वकर्माका घरदेशदेखि परदेशसम्ममा जीवन भोगाइका विविध आयाम समेटिएका २३ कथाहरू संग्रहित छन् ।
लमजुङको धमिलिकुवामा निम्न मध्यम वर्गीय परिवारमा जन्मी हुर्केर समाजशास्त्र र मानवशास्त्रमा स्नातकोत्तर गरी दस वर्षसम्म नेपाल रेडक्रस सोसाइटीमा कार्यक्रम अधिकृतको रूपमा काम गरेका र विगत करिब दुई दशकदेखि अमेरिकाको कोलोराडोमा बसोबास गर्दै आएका पदमले जीवनमा अनेक रंगका भोगाइहरू भोगेका छन् । अनेक बान्कीहरू देखेका छन् । नेपालमा हुँदा पदमले अध्ययन र रोजगारीको सिलसिलामा देशका गाउँदेखि सहरसम्म डुलेर नेपाली समाजको आर्थिक, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक पक्ष नजिकैबाट अनुभूत गरेका छन् ।
अमेरिका प्रवाशनपछि सुरुका दिनमा आफू स्थापित हुन उनले पनि आमआप्रवासीजस्तै अनेक दुःख–कष्ट भोगेका छन् । अनेक हण्डर–ठक्कर खाएका छन् । उनी रोजीरोटी र व्यक्तिगत सुखसयलका लागि मात्रै पछि नदौडेर विभिन्न सामाजिक तथा साहित्यिक संस्थाहरूमा क्रियाशील छन् । उनी दुई कार्यकालसम्म अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अध्यक्ष भई नेपाली साहित्यको विश्वव्यापीकरणमा सक्रिय रहे । हाल अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको बोर्ड अफ ट्रष्टीको उपाध्यक्ष छन्, उनी । पदम जातीय भेदभावविरुद्ध विश्वमञ्चको वरिष्ठ उपाध्यक्षको रूपमा जातीय विभेदविरुद्धको सामाजिक आन्दोलनमा पनि क्रियाशील छन् । यसरी जीवनको पाँच दशकको अवधिमा धमिलिकुवाको गाउँदेखि सपनाको देश भनिने अमेरिकाको कोलोराडोसम्म आइपुग्दा देखेका, भोगेका र अनुभूत गरेका कुराहरूलाई पदमले तमसुकभित्रका कथाहरूमा सरल र मिठासपूर्ण तरिकाले बुनेका छन् ।
पदमले २३ थान कथाभित्र आफूले देखेको भोगेको समाज इमान्दारीपूर्वक लेखेका छन् । उनका कथाका पात्रहरूले पाठकलाई कहिले लमजुङ, तनहुँ र गोरखाका गाउँहरूमा डुलाउँछन्, चेपे, मादी र मस्र्यांदीका किनारै–किनार हिडाउँछन् । काठमाडौं, पोखरा र धरान डुलाउँछन् । पात्रहरूसँगै दुःख र ऋणको भारी बोकेर कहिले अरबको खाडी पुग्न पाइन्छ त, कहिले मीठा–मीठा सपना बोकेर बेलायत र अमेरिका सयर गर्न । पात्रहरूले आफूसँगै कहिले टेक्सास पु¥याउँछन् त कहिले लसएन्जलस घुमाउँछन् । कहिले नेव्रास्का र मिनेसोटा देखाउँछन् । पदमका कथाहरूले कहिले शरणार्थी सपना बोकेर खुदुनावारीको शिविरदेखि अमेरिकाका विभिन्न सहरहरूमा भएका जीवन संघर्षका पेटारो फुकाउँछन् । दुव्र्यसनले बर्वाद पारेका जीवनका दर्दनाक व्यथा सुनाउँछन् ।
विषयबस्तुका हिसाबले पदमले तमसुकभित्र कतै आर्थिक, सामाजिक विभेद लेखेका छन्, कतै रगत उम्लने गरी साहुको थिचोमिचो देखाएका छन् । कतै समयको कालखण्डमा मुलुकले भोगेको युद्धको त्रासद् घाउ कोट्याएका छन् । पछिल्लो समय युवाशक्ति खाडीमा निर्यात गर्ने र रेमिट्यान्सको भरमा चल्दै गरेको कटु यथार्थ छ । यसले यौन विकृति, मनोसामाजिक व्यथा र पारिवारिक विखन्डनको सवाललाई पनि पदमले तमसुकका केही कथाहरूमा प्रस्ट पारेका छन् । विश्वव्यापीकरण र प्रविधिको पहुँचसँगै युवा पुस्तामा पलाउँदै आएका असीमित सपनाहरू, उपभोक्तावादी संस्कृति, सामाजिक आडम्बर, यौन विकृति पनि पदमका कथाका विषयवस्तु बनेका छन् । कुनै कथाले दलित र एकल महिलामाथि शक्तिको आधारमा हुने यौन शोषणलाई देखाएका छन् भने कुनै कथामा यौनलाई जीवनको अपरिहार्य आवश्यक पक्षको रूपमा लिएर यौन मनोविज्ञानको सुक्ष्म प्रस्तुति गरेका छन् ।
कथाकार स्वयं करिब दुई दशकदेखि अमेरिका बसोबास गर्छन् । सायद यसैले पनि होला, तमसुकभित्रका धेरैजसो कथाहरूमा कथाकार पदमले अमेरिकाको नेपाली जनजीवन लेखेका छन् । डिभी चिठ्ठामार्फत होस् या अन्य कुनै माध्यमबाट, ठूलो सपना बोकी अमेरिका आएका पहिलो पुस्ताको संघर्षको कथा लेखेका छन् । पात्रहरूको यान्त्रिक दिनचर्या, जीविकाका लागि क्रेडिटकार्ड घोट्न रातदिन तनावयुक्त जीवन, नयाँ ठाउँमा आएपछि नेपालीले भोगेका सामाजिक, सांस्कृतिक समस्या पदमले कथाहरूमा उजागर गरेका छन् । आप्रवासनसँगै आफ्नो वृत्ति विकास गर्नभन्दा पनि खुला समाजमा देखिएका विकृति र स्वच्छन्दपन मात्रै सिकेर मानसिक तनावमा फसेका एकखाले प्रवृत्तिको पनि पदमले पर्दाफास गरेका छन् । अमेरिकी परिवेशमा लेखिएका केही कथाहरूमा भने पदमले अमेरिकी मूल प्रवाहका पात्रहरूमार्फत अमेरिकी जीवनशैली, संस्कार र सामाजिक–पारिवारिक सम्बन्धलाई मिहीन रूपमा केलाएका छन् ।
नेपालीसन्दर्भका पाठकलाई अमेरिकी परिवेशको स्वाद चखाउने ल्याकत पनि कथाहरूमा छ । पदमले अर्का एक थरी कथामा हाम्रो समुदायका कथित वुद्धिजीवीहरू जति सुकै रूपान्तरणको नारा आलापे पनि, अरूलाई परिवर्तनको ठूलाठूला पाठ सिकाए पनि जातीय विभेदको पक्षपोषण गर्दै सामाजिक क्षेत्रमा अघि बढ्न लागेका पात्रहरूको आत्मसम्मानमा कसरी ठेस पु¥याइरहेका छन् भन्ने कुरा मर्मस्पर्शी तरिकाले प्रस्तुत गरेका छन् ।
तमसुकभित्रका कथाहरू हाम्रै कथा हुन् । हामीले वर्षौंदेखि देखेभोगेका हाम्रै समाजभित्रबाट टपक्क टिपिएका कथा हुन् । केही कथाका कथावस्तु पुरानो परिवेशका छन् । धेरैजसो विषयवस्तु भने बदलिँदो विश्व परिवेश र बदलिँदो समाजसँगै विकास भएका घटना परिघटनासँग सम्बन्धित छन् । संरचनाका हिसाबले सबैजसो कथाहरू घटनाप्रधान र विवरणात्मक लाग्छन् । कतिपय कथाहरूमा मनोवैज्ञानिक पक्ष राम्रैसँग घोलिएको छ । शैलीगत हिसाबले तमसुकका सबैजसो कथाहरू गुरूप्रसाद मैनालीलगायतले विकाश गरेको परम्परागत शैलीमै छन् । कथामा पात्रहरूको सुहाउँदो तरिकाले चयन गरिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies