–एल. पी. भानु शर्मा
योग शब्द संस्कृतको ‘युज्’ धातुबाट बनेको हो, जसको अर्थ जोड्नु भन्ने हुन्छ । आत्माको परमात्मासँगको मेल वा जोड नै योग हो । यो एक पूर्ण मनुष्य बन्ने जीवन पद्धति पनि हो ।
सर्वांगीण स्वास्थ्यको विज्ञान पनि हो । योगले प्रत्येक मनुष्यलाई सबै दुःखबाट मुक्ति प्राप्त गर्ने मार्ग पनि दिलाउँछ । योग साधना हाम्रो प्राचीन सभ्यताको मौलिक उपज हो । योग हाम्रो प्राचीन ज्ञानशास्त्रको महत्त्वपूर्ण विधा हो र यसले मानिसको शरीर, मन र कर्मलाई एकै स्थानमा अवस्थित गर्छ । मन, शरीर र कर्मको दुरी हटाई एकरसता प्रदान गर्नु योग हो ।
योग जीवन जोड्नु वा स्थापित गर्नु हो । जोड २ चरणमा सम्भव छ । पहिलो, आफूभित्र रहेका सम्भावना र क्षमतासँग जोड्नु हो । क्षमता र सम्भावना मुख्यतः स्वास्थ्यको सम्भावना र सुख, शान्ति, प्रेम, आनन्द, समृद्धिको सम्भावना हामीभित्र लुकेको हुन्छ । मानिसलाई जे सम्भावना दिएको छ, त्यसको भरपूर उपयोग गर्नु नै योग हो ।
दोस्रो, योगको माग जसरी आफ्नो क्षमतासँग जोडिन चाहन्छ, अरूलाई आफ्नो क्षमता र सम्भावनालाई जोड्न मद्दत गर्नु योग हो । हामी हरेक व्यक्ति आन्तरिक र बाह्य जीवन जिउन चाहन्छौं ।
योगको माध्यमबाट मात्र आन्तरिक र बाह्य जीवनलाई जोड्न सकिन्छ । जसले जोड्न पहल गर्छ, यसको जीवनमा नेतृत्वकलाको पनि विकास हुन्छ । हरेक व्यक्तिभित्र नेतृत्व क्षमता हुन्छ । त्यस्तो क्षमता भनेकै योग हो ।
योगको सरल, प्राकृतिक र मौलिक चरित्र हुन्छ । सरल यस अर्थमा कि योग जसले पनि गर्न सक्छ । यसमा कुनै जटिलता हुँदैन । हाम्रो शारीरिक संरचना नै योगको अभ्यास गर्नेगरी प्राकृतिक रूपमै निर्माण भएको छ । मौलिक यस अर्थमा कि योग हिमवत् खण्डबाट सिर्जित भएको विद्या हो । यो हाम्रो मौलिकता हो, सम्पत्ति हो र क्षमता पनि हो ।
योगलाई हामी प्रत्येक व्यक्तिले जीवन पद्धति बनाउन सक्नुपर्छ । यसलाई व्यक्तिगत रूपमा मात्र नभई सामाजिक र सरकारी तहबाटै आत्मसात् गर्नु आवश्यक छ । समाज स्वस्थ त्यतिखेर हुन्छ, जब हरेक व्यक्तिले योगलाई प्रयोग गर्छन् । जब हामी योगको पद्धतिमा प्रवेश गर्छौं, रोग, अभाव समाप्त भएर जान्छ र त्यसले स्वाभाविक रूपमा समृद्धि ल्याउँछ । हाम्रो योगको विज्ञान र विधिअनुसार अरूलाई सिकाउन थाल्यौं भने समृद्धि बढ्छ ।
योगले आफूलाई सक्रिय र सजग बनाउँछ, सम्बन्ध बढाउन ऊर्जा बढाउने काम गर्छ भने स्वतः भाइचाराको विकास हुन्छ, बन्धुत्वको भाव आत्मीय रूपमा विकास हुन्छ । योगलाई व्यापक अर्थमा प्रयोग गर्न सकिन्छ ।
योगको पहुँच नेपालमा भएका आयुर्वेदिक पद्धति, प्राकृतिक चिकित्साका पद्धतिसँग रहेको छ । हाम्रा अमूल्य जडीबुटीहरू, मठ–मन्दिर, ध्यान केन्द्रहरू, जात्रा–महोत्सव जस्ता धार्मिक साँस्कृतिक अवयवहरू योगसँग नै जोडिएका हुन्छन् ।
विगत केही वर्षयता विश्वमा योग विज्ञानको प्रभाव र अभ्यास गर्ने व्यक्तिहरूको संख्यामा निरन्तर वृद्धि भइरहेको छ । नेपाल सरकारले पनि योगलाई स्वास्थ्य र कल्याणका लागि महत्त्वपूर्ण अभ्यासका रूपमा अघि सार्नु आवश्यक छ । विभिन्न विद्यालय, विश्वविद्यालय र समुदाय स्तरमा योग अभ्यासलाई प्रोत्साहन गर्न सकिन्छ ।
नेपाल योगको उत्पत्तिसँग जोडिएको देश मानिन्छ । योग प्राचीन वैदिक परम्पराबाट आएको हुनाले यसको जरा नेपाली समाज र धर्ममा गहिरो छ । विश्व समुदायमा नेपालले जहिले पनि शान्ति र आरोग्यको कामना गर्दै आएको छ । विश्वमा अहिले आरोग्य पर्यटन बढ्दो छ । यसको फाइदा नेपालले लिन सक्नुपर्छ । यसले मुलुकको समृद्धिका साथै विश्व शान्तिमा पनि नेपालले योगदान गर्न सक्छ ।
नेपाल जस्तो हिमाली देशमा योग पर्यटनलाई प्रवद्र्धन गरेर विदेशी पर्यटकलाई आकर्षित गर्ने ठूलो सम्भावना छ । नेपालसँग प्राकृतिक, धार्मिक र साँस्कृतिक सम्पदाको प्रसस्त सम्भावना छ । यी सबै सम्पदाहरू आरोग्यसँग जोडिएका छन् ।
एक अध्ययनले सन् २०३० सम्म विश्वव्यापी रूपमा पर्यटनको २० देखि २५ प्रतिशत हिस्सा आरोग्य पर्यटनले ओगट्ने देखाएको छ । त्यसैले नेपाललाई आरोग्य गन्तव्यको रूपमा विकास गर्न सकिएमा पर्यटनको माध्यमबाट ठूलो फाइदा लिन सकिन्छ ।
विगतमा जस्तो पर्यटनलाई नहेरी सरकारले आरोग्य पर्यटनको नेतृत्व लिनेगरी नीति, योजना र कार्यक्रमहरू बनाउनु आवश्यक छ । यसका लागि हामीसँग राम्रो क्षमता छ । आरोग्य पर्यटनबाटै मुलुकले अर्थतन्त्रको आधार विन्दुको रूपमा स्वीकार गरी घोषणा गरी अघि बढ्नुपर्छ । यसमा सरकार र निजी क्षेत्र दुवैको उत्तिकै भूमिका रहेको छ ।
अन्य पर्यटकको तुलनामा आरोग्य पर्यटकले ३० देखि ३५ प्रतिशत बढी खर्च गर्ने सन् २०२१ मा गरिएको एक अध्ययनले देखाएको छ । नेपालमा आउने पर्यटकहरू भनेका खासगरी आरोग्य पर्यटकहरू नै हुन् ।
यहाँको प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्पदाहरूको स्वाद लिन नै उनीहरू आएका हुन्छन् । अब हामीले विधिवत् रूपमै छुट्टै गहिरो, प्रभावकारी अर्थतन्त्रमा टेवा पुग्नेगरी आरोग्य पर्यटनलाई विकास गर्नुपर्छ ।
आरोग्य पर्यटनको महत्त्व बुझेका देशहरूले यसलाई ब्रान्डिङ गर्न खोजिरहेका छन् । नेपालको मौलिकता यस्तो छ कि यसका लागि हामीले अलग्गै पूर्वाधार वा अन्य प्रयासहरू गर्न जरुरी छैन, नेपालको उत्पत्तिसँगै विकास भएर आएका छन्, मात्र हामीले त्यसलाई व्यवस्थित रूपमा संचालन गरे पुग्छ । त्यसैले नेपाल भ्रमणमा आउने पर्यटकहरू सुन्दर भाव लिएर फर्किन्छन् । नेपाललाई उनीहरू स्वास्थ्य र शान्ति प्राप्त गर्न सकिने देशको रूपमा लिने गर्छन् । तसर्थ, नेपालले योगलाई सांस्कृतिक र ऐतिहासिक रूपमा महत्त्व दिनुपर्छ ।
आज हामी स–साना समस्याहरूसँग पनि जुध्ने क्षमता गुमाइरहेका छौं । आफूभित्र रहेको अपार सम्भावनालाई खोज्न नसक्दा ठूलो युवा शक्ति विदेश पलायन भइरहेको छ । विदेशीहरूले भने हाम्रा होटेल, होमस्टे, ध्यान केन्द्रहरूमा नै ठूलो ज्ञान शक्ति आर्जन गरिरहेका छन् । हामी किन पछाडि प¥यौं ? हामी किन विदेशीलेझैं फाइदा लिन सकेनौं ?
सबै हामीभित्रको अन्तर्निहित क्षमताको कारण हो । यसलाई पहिचान गर्नु पनि हाम्रा लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हुन जान्छ ।
(जीवन विकास विशेषज्ञ शर्मासँग गरिएको कुराकानीमा आधारित ।)