–अच्युतप्रसाद पौडेल ‘चिन्तन’
स्वस्थानी व्रत, माघ मेला सुरु भइसकेको छ । साँखु बजारबाट एक–डेढ किलोमिटर पूर्वतर्फ शाली नदी क्षेत्र छ । प्रसिद्ध नदीकै नामबाट यो क्षेत्र शाली नदी क्षेत्रले चिनिन्छ ।
साँखु बजारबाट शाली नदी क्षेत्र हुँदै पालुबारी एवं नगरकोट–तेलकोट हुँदै भक्तपुर जोड्ने सडक बनेको छ । हाल त्यहाँ यातायातको राम्रो सुविधा छ । यहाँबाट जहरसिंहपौवा, चिया बगान, भोटेचौर पुगी दिनभर दिल बहलाएर पिकनिक भर्दै काठमाडौं फर्कने क्रम अहिले तीव्र रूपमा बढेको छ । यसले आन्तरिक पर्यटनको अभिवृद्धि भएको छ भने शिवपुरी, मणिचूड क्षेत्रमा रहेकी सिद्ध देवी बज्रयोगिनीको दर्शन गर्ने क्रम पनि तीव्र छ ।
शाली नदी श्री स्वस्थानी देवीको अतिपावन पीठ हो । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म यहाँ श्री स्वस्थानी देवीको व्रत उपासना गरिन्छ । स्कन्दपुराण, केदार खण्डका अनुसार हरेक हिन्दु धर्मावलम्बीहरूका घरघरमा श्री स्वस्थानी देवीको व्रत उपासना गर्ने, स्वस्थानी कथा भन्ने, सुन्ने चलन रहेको छ ।
स्वस्थानी व्रत कथाअनुसार सत्ययुगमा हिमालयपुत्री पार्वतीले महादेवलाई पति पाउन यो व्रत गरेकी थिइन् । माघ स्नान गर्ने क्रममा शाली नदीमा स्नान गरी नजिकै रहेका हरिहरको पूजा आराधना र स्वस्थानी देवीको पूजा गरेमा इच्छित फल प्राप्त हुन्छ ।
शाली नदीको जल अर्चन गर्दैमा पनि शरीरको रोग निको हुने, आरोग्य प्राप्ति हुने, तनमा कान्ति र मनमा शान्ति प्राप्त हुने विश्वास गरिन्छ । अघि यहीँ व्रत उपासना गरेर कुरूप भएकी चन्द्रावतीले सुन्दर वदनयुक्त शरीर प्राप्त गरेकी थिइन् ।
शाली नदीमा स्नान गरेर चन्द्रावतीले गुमेका आफ्ना पति नवराजलाई पाएकी थिइन् । शरीरमा नवकान्ति प्राप्त गरेर नजिकै रहेको लावण्य देशकी रानी भएकी थिइन् ।
गोमा नामकी ब्राह्मणीले हराएको आफ्नो पुत्र नवराज प्राप्त गरेकी थिइन् । बिछोड भएका नाग–नागिनीको पुनर्मिलन भएको थियो । धनधान्य र आफ्नो अटल सौभाग्य अनि वैभव प्राप्त गर्न चाहनेहरू श्री स्वस्थानीको उपासना शाली नदी क्षेत्रमा बसेर गर्ने गर्छन् ।
बर्सेनि हजारौं व्रतालुहरू शाली नदीमा स्नान गर्ने गर्छन् । हात–गोडाको नङ काटी, शुद्ध भई, एक भक्तिले रही, नित्य महादेवको पूजा गरी, ठूलो उत्साहका साथ व्रत उपासना गर्छन् । उनीहरू व्रतकै क्रममा चाँगुनारायण, पनौती, पशुपति क्षेत्रसम्म पुग्छन् । व्रत प्रतिष्ठा गर्दै माघ शुक्ल पूर्णिमामा श्री स्वस्थानी देवीको व्रत संगे गरी विशेष यज्ञसमेत गर्छन् ।
माघ महिनामा शाली नदी क्षेत्र साँखु .शहर नयाँ दुलहीझैं झपक्क सिँगारिएको छ । साँखुलाई पहिले लावण्य देश भनिन्थ्यो । नवराज राजाले राज्य गरेको क्षेत्र अहिले पनि सुन्दर छ । कुनै बेला यहाँ शंखदेव नामक राजाले राज्य गरेका थिए भन्ने भनाइ छ । यस अर्थमा यहाँको नाम शंखपुर र पछि शंखरापुर भनिन थाल्यो । शंखरापुरपछि अपभ्रंश हुँदै साँखु नामले चिनिन पुग्यो ।
शाली नदी क्षेत्रमा प्रसिद्ध माधव नारायणको मूर्ति, ठूलाठूला पाटी र सत्तलहरू छन् । यहाँ सधैंजसो कथा प्रवचनहरू भइरहन्छन् ।
४०० मिटरजति दक्षिण समथर क्षेत्रमा चन्द्रावतीको शिला छ । स्वस्थानी कथाअनुसार यहाँ चन्द्रावतीलाई डोलीमा बोकेर ल्याउँदा हावा–हुरीमा परी लडेका डोलेका शिलाहरू पनि छन् । चन्द्रावती बस्ने सानो छाप्रो (कुटी) पनि छ । स्वर्गदेखि अप्सराहरू आएर यहाँ माघ स्नान र श्री स्वस्थानी देवीको पूजा उपासना गरेकाले यो क्षेत्र पुण्य क्षेत्र भएको हो ।
यस क्षेत्रमा बसेर चन्द्रावतीले स्वस्थानी देवीको उपासना गरेकी हुन् । स्वस्थानी देवीको स्वरूप यस्तो छ । सुवर्णवर्णकी, ३ नेत्रधारी, प्रसन्न मुद्रामा रहेकी, कमलनयनी, सिंहासनमा बसेकी, ४ हात भएकी देवीले सम्पूर्ण भक्तहरूको मनोकांक्षा पूरा गर्छिन् भन्ने जनविश्वास छ ।
एक हातमा नीलकमल, अर्को हातमा शंख र अर्को हातमा ढाल अनि अर्को हातमा वरद मुद्रा लिएकी देवीले आमभक्तहरूको सदिच्छालाई साकार पार्छिन् ।
स्वस्थानीको शाब्दिक अर्थ हुन्छ– आ–आफ्नो स्थानमा बसेर आ–आफ्नो भूमिका र कर्तव्य निर्वाह गर्नु, पथभ्रष्ट नहुनु, कर्तव्यच्युत नहुनु, सम्पूर्ण क्षेत्रबाट सबैले आ–आफ्नो पदीय आचरण, मर्यादाअनुकूलको विधि व्यवहार गर्न सकेमा सबैतिरका जनताको कल्याण हुन्छ ।
साँखु (शंखरापुर) प्राचीन समयदेखि नै पावन क्षेत्र हो । काठमाडौंको उत्तरपूर्वी क्षेत्र साँखु सिन्धुपाल्चोक जिल्ला–लप्सेफेदी– नांगलेभारे–फटक शिलातर्फ जाने प्रवेशद्वार नै हो ।
बजारको उत्तर ढोकाबाहिरपट्टि प्रसिद्ध ६४ ज्योतिर्लिंगमध्येको पावन ज्योतिर्लिंगेश्वर मन्दिर छ । परम्परागत शैलीमा निर्मित यो मन्दिरमा सुनको जलप लगाइएको गजुर छ । इँटाको गाह्रो, झिँगटीको छानो भएको २ तले कलात्मक मन्दिरलाई ज्योतिर्लिंगेश्वर मन्दिरको नामले चिनिन्छ ।
नित्य पूजा–आरती भइरहने यो मन्दिरको पूर्व, दक्षिण र उत्तरसमेत तीनैतिर सडकले छोएको छ भने उत्तरपट्टि खाली जमिन कैलाश क्षेत्र छ । गणेश, शिव, देवीहरूका मन्दिर पनि रहेको यो क्षेत्रमा शाली नदी स्नान गरी यहाँ विशेष पूजा गर्नेहरूको भीड लाग्छ । शिव र शक्तिको संयुक्त उपासना गर्ने नेपाली परम्पराअनुसार शिवजीे विराजमान रहनुभएको यो क्षेत्रमा दर्शनार्थीहरूको घुइँचो लाग्ने गर्छ ।
वैशाख शुक्ल पूर्णिमाका दिन यस मन्दिर परिसरमा विशेष पर्व पूजा हुने गर्छ । स्कन्दपुराण, हिमवत् खण्ड, नेपाल माहात्म्य अध्याय १२२ अनुसार सनातन कुमारले विशेष व्रत उपासना गरेपछि शिवजी खुसी भएर वरदान माग्न भन्नुभयो । साथै, सनातन कुमारलाई चिरञ्जीवी हुने वरदान पनि दिनुभयो । सुरुमा ब्रह्माजीबाट सृष्टि भएका ६ कुमारमध्येका सनातन कुमारले शिला स्थापना गरी यहाँ बसेर शिवजीको तप गर्नुभएको थियो । शिव प्रकट भई सनातन कुमारलाई वरदान दिएपछि सनातन कुमारले स्थापना गरेका शिलाको नाम ज्योर्तिर्लिंगेश्वर भएको हो ।
एक पटक आफ्नो कर्तव्यच्युत भएर कुसंगतका कारण दुराचारी भएका एक ब्राह्मण मृत्युपछि चराको मुख लिएर अशुची योनीमा जन्म लिन पुगेछन् । के कारणले चराको जस्तो मुख भएको अशुची योनीमा जन्म भएको होला भन्ने खोज अनुसन्धान गर्ने क्रममा उनले एक त्रिकालदर्शी ब्राह्मणलाई भेटेछन् । पूर्वजन्ममा आफूले गम्यागम्य, भक्षाभक्ष, पाप–पुण्यको कुनै परवाह नगरेका कारण यस्तो भएको कुरो ज्ञात भएपछि त्रिकालदर्शी ब्राह्मणको उपदेशअनुसार यसै ज्योतिर्लिंगेश्वरको उपासना गरेर आफू शुद्ध भएछन् ।
त्यसै बेलादेखि यस शिवलिंगको उपासना गर्न थालिएछ । आफ्नो शरीर शुद्ध र मन पवित्र राख्न चाहनेहरू यहाँ दर्शन, पूजा–आरती र रुद्री पाठ गर्न जान्छन् । यस वर्षको स्वस्थानी आरम्भ र शाली नदी मेला यही २९ पुसदेखि प्रारम्भ भएको छ । १ महिनासम्म चल्ने यस पर्वमा साँखुको शाली नदी तीर्थको भ्रमण गर्नेहरूको विशेष घुइँचो लाग्ने गर्छ ।
बज्रयोगिनीको चर्चा गर्दा सृष्टिको उषाकालमा विष्णुका पसिनाबाट उदय भएका मधु–कैटभ सृष्टिकर्ता ब्रह्माप्रति जाइलागे । ब्रह्माजी डराएर योग निद्रामा रहेका विष्णुलाई जागा भएपछि त्रिदेव ब्रह्मा–विष्णु–शिवले संयुक्त रूपमा स्तुति गरेकाले देवीको नाम योगिनी रहेको र योगिनी देवीको कृपाबाट मोह र क्रोधरूपी मधु–कैटभलाई वध गर्न सफल भए । यी देवीको निवास स्थानलाई योग कुट पर्वत भनिन्छ ।
तान्त्रिक विधिबाट नित्य बज्रयोगिनीको पूजा हुने गर्छ । काठमाडौं खाल्डोबाट चोभारको डाँडो काटी पानी बाहिर पठाउन र स्वयम्भू स्तूपको निर्माण गर्न मञ्जुश्रीलाई प्रेरणा दिने देवी यिनै हुन् भन्ने विश्वास गरिन्छ । बज्रयोगिनी देवी एक प्रसिद्ध शक्ति पीठ हुन् ।
काठमाडौं उपत्यकाको उत्तरपूर्व मणिचूड डाँडोमा बज्रयोगिनी मन्दिर छ । काठमाडौंबाट करिब २२ किलोमिटरको दुरीमा साँखु बजार छ । साँखु बजारदेखि उत्तर उकाली चढ्दै गएपछि बज्रयोगिनी मन्दिर पुग्न सकिन्छ । यो मन्दिर नेपाली शैलीमा बनेको छ । ३ तले यो मन्दिर अलिक एकान्त स्थलमा छ । वरिपरि घना जंगल छ ।
नजिकै रहेको बजारलाई लावण्य देश पनि भनिन्छ । नजिकै पूर्व दिशामा प्रसिद्ध तीर्थ शाली नदी छ । हरिहर क्षेत्र शाली नदी स्नान गरेर प्राचीन समयमा नवराजले साँखु शहरको राजा हुने अवसर पाएको कुरा स्वस्थानी कथामा वर्णित छ । यो शहरलाई ८ देवीहरूले रक्षा गरेका छन् भन्ने जनश्रुति छ ।
अष्टमात्रिका, ८ देवताहरूद्वारा रक्षित साँखु शहर सफा र सुग्घर छ । लिच्छविकालको अभिलेखले साँखु शहर बौद्धतीर्थ हो भन्ने पनि जनाउँछ । हिन्दुहरूले प्रसिद्ध बज्रयोगिनीलाई काठमाडौंको दक्षिणतर्फ रहेकी दक्षिणकालीकै रूपमा मान्छन् ।
बज्रयोगिनीको अर्को नाम डाकिनी पनि हो । हिन्दुहरूले ६४ ज्योतिर्लिंगलाई शिवलिंगका रूपमा विशेषगरी मनाएझैं ६४ योगिनीका रूपमा भगवतीलाई मनाउँछन् । ६४ योगिनीमा नैरात्मा योगिनी, खड्ग योगिनी, विद्या योगिनी आदि प्रमुख हुन् ।
देवमाला वंशावलीका अनुसार बज्रयोगिनीको मन्दिर सन् ८२४ मा निर्माण भएको हो । नेपालमा रहेका विभिन्न पीठहरूको अध्ययन गर्दा हालसम्म अन्यत्र क्षेत्रमा योगिनी देवीको मन्दिर भेटिएको छैन ।
स्कन्दपुराण, हिमवत् खण्ड नेपाल माहात्म्यमा ‘ने’ नामक मुनिले योगिनी देवीको विशेष उपासना गरी देवीको वरद कृपाबाट नेपालको स्थापना गरेका हुन् भन्ने उल्लेख भएको पाइन्छ । यसअनुसार ने मुनिले नेपालको स्थापना गर्न यिनै देवीको कृपाप्रसाद प्राप्त गरेको आँकलन सहजै गर्न सकिन्छ ।