–सन्देश अर्याल
नेपालमा युवा पलायनको समस्या पछिल्ला वर्षहरूमा अत्यन्त गम्भीर बन्दै गएको छ । देशको अर्थतन्त्र, सामाजिक संरचना र राजनीतिक स्थायित्वमा यसले गहिरो प्रभाव पारेको छ । विकासको मेरुदण्ड मानिने युवा शक्ति जब आफ्नै देश छोडेर विदेशिने क्रम बढ्छ, तब त्यसले दीर्घकालीन रूपमा प्रगतिमा अवरोध पु¥याउँछ । यस प्रवृत्तिको मुख्य कारणमध्ये एक हो, राजनीतिक अस्थिरता । जसले युवाहरूलाई आफ्नो भविष्यप्रति निराश बनाएको छ ।
नेपालले लामो समयदेखि राजनीतिक अस्थिरताको सामना गरिरहेको छ । बारम्बार सरकार परिवर्तन, कमजोर प्रशासनिक व्यवस्था र नीति निर्माणमा दीर्घकालीन दृष्टिकोणको अभावले गर्दा देशमा आर्थिक अवसरहरू सीमित भएका छन् । विकासका ठूला योजना राजनीतिक खिचातानीका कारण कार्यान्वयन हुन नसक्दा बढ्दो बेरोजगारीसँगै युवाहरू आफ्ना सपनाहरू साकार पार्न विदेश जान बाध्य भएका छन् ।
यसबाहेक, युवाहरूमा आफ्नो क्षमताको सही मूल्यांकन नहुने र देशभित्रै सम्भावना खोज्ने अवसर नपाउने अवस्था पनि सिर्जना भएको छ । राजनीतिक अस्थिरताको कारण उत्पादनशील क्षेत्रहरू जस्तै— कृषि, उद्योग र पर्यटनमा लगानी कमजोर भइरहेको छ । यसको परिणामस्वरूप, दक्ष र मेहनती युवा शक्ति विदेशमा रोजगारीका लागि पलायन हुने प्रवृत्ति बढिरहेको छ ।
युवाहरूको पलायनले देशलाई आर्थिक रूपमा परनिर्भर बनाउँदै लगेको छ । रेमिट्यान्सले अस्थायी राहत दिए पनि दीर्घकालीन प्रभावहरू गम्भीर छन् । आज देशको समग्र विकास प्रक्रियामा पनि जसको गम्भीर असरहरू देखिन थालेका छन् । युवा पलायनको अन्त्यका लागि सशक्त राजनीतिक नेतृत्व र दीर्घकालीन सोच अहिलेको मुख्य आवश्यकता हो ।
युवा पलायन कारणहरू
नेपालमा युवा पलायनका धेरै पक्षहरू छन्, जसमा आर्थिक, सामाजिक र राजनीतिक कारणहरू मुख्य रूपमा जोडिएको पाइन्छ । जसलाई यहाँ चर्चा गर्ने प्रयास गरिएको छ ।
राजनीतिक अस्थिरता : लामो समयदेखिको राजनीतिक अस्थिरता र नीतिगत अन्योलताले देशभित्र लगानीको वातावरण सिर्जना हुन सकेको छैन । युवाहरूको विश्वास राजनीतिक प्रणालीप्रति घट्दै गएको छ । उनीहरूलाई लाग्छ, नेपालमा अवसर खोज्नु भन्दा विदेश जानु नै उचित विकल्प हो ।
रोजगारीको अभाव : नेपालमा रोजगारीका अवसर सीमित छन् । कृषिमा आधारित अर्थतन्त्र र औद्योगिक विकासको कमीले गर्दा युवाहरू विदेश जान बाध्य भएका छन् । खाडी देश र मलेसियाजस्ता देशहरूमा शारीरिक श्रममार्फत रोजगारी खोज्ने क्रम अत्यधिक छ ।
शिक्षा : नेपालको शैक्षिक प्रणाली रोजगारमुखी छैन । प्रविधि, व्यवसाय र उद्यमशीलतालाई प्राथमिकता दिने शिक्षाको अभावमा युवाहरूले विदेशमा गुणस्तरीय शिक्षा र उज्ज्वल भविष्यको खोजी गरिरहेका छन् ।
सामाजिक कारण : नेपाली समाजमा विदेश जाने, राम्रो आम्दानी गर्ने, र परिवारलाई आर्थिक सहयोग गर्ने मानसिकता गहिरो छ । सामाजिक प्रतिष्ठासँग विदेशमा कमाइ जोडिने भएकाले पनि युवाहरूको विदेश मोह बढेको छ ।
राजनीति र युवा पलायन
नेपालको राजनीतिले युवा पलायनलाई नरोक्नुका साथै कतिपय अवस्थामा प्रोत्साहन गरेको जस्तो देखिन्छ । राजनीतिक अस्थिरता र कुशासनले गर्दा युवाहरूले देशमा भविष्य सुरक्षित देखेका छैनन् । मुख्यगरी राजनीतिसँग भ्रष्टाचार जोडिएको छ । भ्रष्टाचारले विकासका सम्भावनाहरू नष्ट गरेको छ । रोजगारी सिर्जना गर्ने परियोजनाहरूमा घोटाला र अनियमितताले गर्दा युवाहरूको भरोसा हराउँदै गएको छ ।
यसैगरी, लगानीकर्ताहरूलाई प्रोत्साहित गर्ने दीर्घकालीन नीति नहुँदा रोजगारीका अवसरहरू सीमित छन् । उद्योग, पर्यटन र सूचना प्रविधिजस्ता सम्भावना भएका क्षेत्रहरूमा सरकारले आवश्यक ध्यान दिन सकेको छैन । युवाहरूलाई निर्णय प्रक्रियामा संलग्न गराउने कार्यक्रमको कमीले उनीहरूलाई राजनीतिक प्रणालीबाट विमुख बनाएको छ । राजनीतिमा पहुँच र सम्बन्धकै आधारमा अवसर उपलब्ध हुने भएकाले धेरै युवा यसप्रति निराश छन् ।
युवाको पलायनका प्रभावहरू
युवाको पलायन मुलुकका लागि ठूलो दुर्भाग्यको विषय हो । यसले देशलाई रेमिट्यान्समार्फत तत्कालिनरूपमा आर्थिक राहत दिए पनि दीर्घकालिनरूपमा समस्याहरू सिर्जना गरिरहेको छ । युवा पलायनसँगै श्रम शक्तिको कमीले कृषि, उद्योग र अन्य क्षेत्रहरूमा उत्पादन क्षमता घटेको छ भने मुलुक सबै हिसाबले परनिर्भरताको अवस्थामा जान थालेको छ । परिवार टुटफुट हुने र पारिवारिक सम्बन्धमा असर पर्ने समस्या सामान्य बनेका छन् । आज समाजमा आएको विग्रहको कारण पनि युवाको पलायन हो ।
सँगै, युवा शक्तिको विदेश पलायनले देशभित्र नेतृत्वको अभाव सिर्जना गरेको छ । युवा पलायनले राजनीतिक नेतृत्वलाई जिम्मेवार बनाउन दबाब दिन सक्ने प्रमुख जनशक्तिलाई कमजोर बनाएको छ । विदेशमा रहेका युवाहरूको मताधिकार सीमित हुँदा उनीहरूको राजनीतिक आवाज पनि दबिएको छ । आज किन बुढा पुस्ताले मात्रै नेतृत्वमा हैकम जमाएका छन् भन्ने प्रश्नको उत्तर युवाको पलायनको स्थितिबाट भेटिन्छ ।
समाधान र सम्भावना
युवाको पलायन निकै गम्भीर खालको समस्या हो । यो रोक्न राजनीतिक, सामाजिक र आर्थिक तहमा ठोस कदम चाल्नु आवश्यक छ । मुख्यगरी आर्थिक, सामाजिक, राजनीतिकलगायतका क्षेत्रमा परिवर्तनको ठूलो खाँचो देखिन्छ । रोजगारी सिर्जना गर्न उद्योग र व्यापारलाई प्रोत्साहन गर्ने नीति अति आवश्यक छ । कृषि, पर्यटन र सूचना प्रविधिमा युवाहरूलाई सहभागी गराइने नीति ल्याउनुपर्छ । सँगै, राजनीतिक स्थायित्व र कुशासनको अन्त्य गरिनुपर्छ । युवा नेतृत्वलाई प्रोत्साहन गर्दै उनीहरूको राजनीतिक सहभागिता सुनिश्चित गर्नुपर्छ ।
आजको मुख्य समस्या बेरोजगार उत्पादन गर्ने शिक्षा प्रणाली पनि हो । रोजगारमुखी र व्यावसायिक शिक्षा प्रणाली लागू गर्नुको विकल्प छैन । युवाहरूलाई उद्यमशीलता र नवप्रवर्तनका लागि आवश्यक सीप र स्रोत उपलब्ध गराउनुपर्छ । साथै, विदेश जानु मात्र समाधान होइन भन्ने सन्देश फैलाउनु आवश्यक छ । देशभित्रै केही गर्न सकिन्छ भन्ने प्रेरणा र वातावरण निर्माण गर्नुपर्छ ।
निष्कर्षमा,
युवा पलायन नेपालको वर्तमान र भविष्यको एक गम्भीर चुनौती हो । राजनीतिक स्थायित्व, रोजगारीका अवसरहरू र कुशासनको अन्त्य गर्न नसकेसम्म यो समस्या समाधान हुने देखिँदैन । देशको विकासका लागि युवा शक्तिलाई देशमै उपयोग गर्ने वातावरण निर्माण गर्नु अपरिहार्य छ । यसका लागि सरकार, समाज र निजी क्षेत्रले संयुक्तरूपमा प्रयास गर्नुपर्छ । युवाहरू देशको प्रमुख सम्पत्ति हुन् र उनीहरूको सहभागिताबिना राष्ट्रको समृद्धि असम्भव छ ।
युवा पलायनले नेपाललाई दीर्घकालीन रूपमा आर्थिक, सामाजिक र सांस्कृतिक असर पुर्याएको छ । विदेशी रोजगारका कारण रेमिट्यान्सले आर्थिक राहत दिएको भए पनि देशभित्र उत्पादनशील जनशक्तिको कमीले उद्योग, कृषि र अन्य क्षेत्रको विकासमा अवरोध पु¥याएको छ । यसले आत्मनिर्भरतालाई कमजोर बनाउँदै आयातमुखी अर्थतन्त्रलाई प्रोत्साहन दिएको छ ।
सामाजिक दृष्टिकोणले, युवाहरूको विदेश पलायनले परिवारमा बिछोड, सामाजिक संरचनाको क्षयीकरण र पारिवारिक सम्बन्धमा खाडल उत्पन्न गरेको छ । यसले मानसिक स्वास्थ्य र बा(लबालिकाको पालनपोषणमा समेत चुनौती थपेको छ । त्यसैले, युवा पलायनको समस्याको समाधानका लागि दीर्घकालीन रणनीति आवश्यक छ । देशभित्र रोजगारीका अवसर सिर्जना, राजनीतिक स्थिरता कायम र युवा उद्यमशीलताको प्रवर्द्धनमार्फत मात्र यो समस्या समाधान गर्न सकिन्छ । युवाहरू देशकै समृद्धिका आधार स्तम्भ हुन् र उनीहरूको भविष्यप्रति लगानी गर्नु नै राष्ट्र निर्माणको मुख्य उपाय हो ।