२०८१ माघ १६ गते बुधवार / Jan 29 , 2025 , Wednesday
२०८१ माघ १६ गते बुधवार
Ads

मोबाइल जिन्दगी !

hardik ivf
२०८१ माघ ११ गते ०६:१०
मोबाइल जिन्दगी !

–विदुर दाहाल

फुर्सद त हुनै हुन्न । भयो कि गोजी÷झोलाबाट मोबाइल निस्किहाल्छ । नभए नि फुर्सद निस्किन्छ चलाउन । उठ्ने बित्तिकै हातमा मोबाइल÷ट्याब ! निन्द्रा नलागुन्जेलको साथी ! काम गर्दा होस् वा पढ्दा ध्यान मोबाइलमै हुन्छ ! बालकदेखि वृद्धसम्म दिनरात मोबाइलमै व्यस्त ! इन्टरनेट जोडिएको वा वाई फाई भएको मोबाइलले दुनियाँलाई एकै पटक जोड्छ । दुनियाँलाई त्यसैभित्र समावेश गर्छ । दुनियाँ एउटै मोबाइलमा अट्छ । 

प्रयोग गर्ने तरिका फरक–फरक छ । कोही सूचना, समाचार र खबर आदान–प्रदानलाई जोड दिन्छन् । बौद्धिक वर्गले नयाँ कुरा खोज्नलाई मोबाइल प्रयोग गर्छन् । महिला वर्गहरू टिकटक बनाउन, फोटो खिच्न, नाच्न–गाउन तथा भिडियो बनाई पोस्ट गर्न रमाउँछन् । त्यसैमा हराउँछन् । 

अनलाइन वा सामाजिक सञ्जालको प्रयोग गरी व्यापार प्रवद्र्धन गर्छन् व्यापारीहरू ! विज्ञापनको सजिलो माध्यम हो मोबाइल ! अनलाइन व्यापार बढेको छ । गीत सुन्ने, गीतका दृश्य हेर्ने, फिल्म हेर्ने माध्यमका रूपमा मोबाइल प्रयोग गर्ने एउटा वर्ग छ । केटाकेटीहरू अनलाइन÷अफलाइन गेम खेल्छन् । कार्टुन हेर्छन् । सदुपयोग वा दुरुपयोग आलेखको विषय होइन । सबैले अत्यधिक प्रयोग गर्ने वस्तुको रूपमा मात्र चित्रणमा गर्न खोजिएको छ । मोबाइल र वाई फाई बिना अक्सिजन नपुगे झैँ छटपटाउँछन् मानिसहरू । मानौँ त्यो प्राण वायु हो । मोबाइलमा निर्भर छ जीवन !

हुन पनि यो उपयोगी मेसिन हो । यसले रेडियो, घडी, टर्च लाइट, क्यासेट, क्यालकुलेटर, क्यामेरा, डायरी÷नोट बुक, एल्बम, टेलिभिजन, पत्रपत्रिका, नक्सा, पुस्तक आदिलाई चुनौती दियो । तिनको अस्तित्वमाथि धावा बोल्यो । आर्थिक कारोबार गर्न सजिलो भयो । पैसाको बिटो बोकेर हिँड्नु परेन । बैकसम्म पुग्नु परेन । मोबाइल बैकिङ सेवा छ । चोरीको डर घट्यो । सबै कुरा मोबाइलमै छ । मानिसका धेरै काम मोबाइलबाटै हुने भए । मोबाइल बिनाको जीवन अधुरो र अपुरो हुने भयो । 

एआई प्रविधिले मानव बुद्धि र उसको चेतनामाथि प्रश्न खडा गर्‍यो । एआई जडित मोबाइलमा सबै कुरा छ । दूध दिने भैँसी बेचेर मोबाइल किन्ने जमाना हो यो । मोबाइल बिना मानिस बाँच्नै नसक्ने भएको छ । मोबाइल लत पर्‍यो ! गाडी चढ्दा पनि मोबाइल ! गाडी पर्खिदा पनि मोबाइल ! समय कटाउने गज्जबको साधन । मोबाइल भएन भने के गर्लान् ? कसरी समय बिताउलान् ?

व्यक्तिगत अन्तरक्रियाभन्दा सामाजिक सञ्जालको अन्तरक्रिया बढी हुन्छ आजभोलि । परिचित – अपरिचित सबैसँग एकै पटक मोबाइलमा भेटघाट हुन्छ । सचेतना निर्माण वा अन्य कुनै माहौल सिर्जनामा सहयोगी हुन्छ । मानिसले आफ्ना विचार, भावना र आक्रोश सामाजिक सञ्जालमा राख्छन् । प्रचार वा कुप्रचार, भाइरल वा गालीको वर्षा दुवैको सम्भावना बराबर हुन्छ । मोबाइल नहुँदो हो भने सरकारविरुद्ध सडकमा आक्रामक भएर युवाहरू प्रस्तुत हुँदा हुन् ! मोबाइलले भुलाएको छ ! तातो रगत भएका पुस्ता मोबाइलमा व्यस्त ! वाई फाई फ्री गरिदे सरकार ! सरकारको विरोधै हुन्न । सडकमा कोही आउँदैन । सरकारलाई हाइसन्चो हुन्छ । 

प्रत्यक्ष जमघट वा भेटघाटलाई भन्दा सामाजिक सञ्जालको अन्तरक्रियालाई बढी महत्त्व दिइन्छ । फुर्सद भयो वा समय भयो भने मोबाइलमा घोप्टी हाल्छन् मानिसहरू । अरू कुरामा ध्यानै जाँदैन । समय बिताउन र दिन काट्न सजिलो साधन ! खाना खाने समय र सुत्ने समय समेत मोबाइलले चोर्दै छ । अहिलेको जिन्दगी मोबाइल जिन्दगी हो ! मान्छेले मोबाइल होइन, मोबाइलले मान्छे चलाउन थाल्यो । दुनियाँसँग समागम गराउने र मानिसलाई बेफुर्सद बनाउने मेसिन हो यो । क्षण भर छोड्न सक्दैनन् यसलाई । छोड्यो कि छटपटाउन लागि हाल्छ मान्छे । विज्ञानको उच्चतम विकास सञ्चार प्रविधि हो । मोबाइल त्यसैको वरदान हो । यसलाई मानव हित र कल्याणमा प्रयोग गर्नुपर्छ । चुरो कुरा यही हो । 

ADVenergy

सम्बन्धित खबर

Advertise