–नवराज ढकाल
जलवायु परिवर्तनबाट सिर्जित असरलाई न्यूनीकरण गर्नको लागि स्वच्छ ऊर्जा रूपान्तरण अपरिहार्य रहेको छ । स्वच्छ ऊर्जा रूपान्तरणको अवधारणालाई विश्वव्यापीरूपमा बहसमा ल्याउने कार्यको सुरुवात जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय अन्तर सरकारी संस्था (आईपीसीसी)ले गरेको पाइन्छ । पृथ्वीको तापमान वृद्धिको प्रमुख कारक तत्त्वको रूपमा लिइएको हरित गृह ग्यास उत्सर्जन न्यूनीकरणको लागि स्वच्छ ऊर्जाको व्यापक रूपमा प्रवर्द्धन र विस्तार गर्नुपर्ने आवश्यकता रहेको छ । नेपालको परिवेशमा स्वच्छ ऊर्जा रूपान्तरणलाई अघि बढाउन नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
सन् २०१५ मा फ्रान्सको राजधानी पेरिसमा आयोजित २१औँ जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप २१)को अवसरमा जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता भयो जसमा विश्वका प्रायः सबै देशहरू सामेल थिए । यो सम्झौतालाई पृथ्वीमा बसोबास गर्ने मानव जातिको हितको लागि महत्वपूर्ण सम्झौताको रूपमा लिइन्छ । जलवायु परिवर्तनबाट सिर्जित विभिन्न समस्याहरू विश्व तापमानमा वृद्धि, जलवायु संकट, जलवायुजन्य प्रकोप आदिको यही सम्झौताको आधारमा सम्बोधन गर्ने पहल भइरहेको छ । नेपालले पेरिस सम्झौता अन्तर्गत तयार गरेको राष्ट्रिय निर्धारित योगदान र सन् २०४५ सम्ममा खुद शून्य उत्सर्जनका लागि दीर्घकालीन रणनीतिमा ऊर्जा क्षेत्रले उच्च प्राथमिकता पाएको छ । जसमा स्वच्छ ऊर्जा उत्पादनदेखि उपयोगसम्मका विभिन्न लक्ष्यहरू समेटिएका छन् ।
जलवायु परिवर्तनको असर प्रायः सबै क्षेत्रहरूमा परिरहेको सन्दर्भमा यसलाई न्यूनीकरण गर्न हरेक क्षेत्रबाट रणनीति तय गर्न जरुरी देखिन्छ । स्वच्छ ऊर्जा उपयोग गर्न सकेमा नेपालले पेट्रोलियम पदार्थ आयातमा वार्षिक रूपमा खर्च हुने करिब साढे २ खर्ब रुपैयाँ बचत गर्न सक्दछ भने परम्परागत ऊर्जा माथिको निर्भरतामा पनि कमी आउँछ । यसका लागि ऊर्जा रूपान्तरण प्रभावकारी माध्यम मानिएको छ र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता मार्फत यस दिशामा कार्य गरिरहेको छ ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत रही नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी कार्य गर्ने नेपाल सरकारको प्रमुख निकाय हो । केन्द्रले स्थापनाकालदेखि नै नवीकरणीय ऊर्जा प्रविधि विस्तार तथा ऊर्जा दक्ष प्रविधि र उपायहरूको प्रवर्द्धनको माध्यमबाट स्वच्छ ऊर्जाको पहुँच वृद्धि, ऊर्जा सेवालाई भरपर्दो, गुणस्तरीय र दिगो बनाउने र ऊर्जा सेवालाई आर्थिक क्रियाकलापहरूसँग सम्बद्ध गराई समावेशी आर्थिक सामाजिक विकासमा योगदान पुर्याउँदै आएको छ । साथै, नवीकरणीय ऊर्जा प्रविधिमा आधारित कार्बन परियोजनाहरूको विकास तथा हरित जलवायु कोषको प्रत्यक्ष पहुँच निकायको रूपमा समेत कार्य गर्दै आएको छ ।
केन्द्रले सबैमा स्वच्छ ऊर्जाको सर्वसुलभ पहुँच पुर्याउने सरकारको नीतिलाई कार्यान्वयन गर्न विद्युत् पहुँच पुग्न बाँकी रहेका भौगोलिक क्षेत्र तथा घरधुरीमा पूर्ण विद्युतीकरणका लागि एकीकृत योजना तयार गरी सोही बमोजिम विद्युत् विस्तार कार्य गरिरहेको छ भने खाना पकाउने स्वच्छ ऊर्जा प्रविधिको पहुँच विस्तारको लागि विद्युतीय चुलो, बायो ग्यास र सुधारिएको चुलो लगायतका प्रविधिहरू प्रवर्द्धन गर्दै आएको छ । नेपाल सरकारले सन् २०३५ सम्ममा जडित क्षमता २८ हजार ५०० मेगावाट र वार्षिक प्रतिव्यक्ति विद्युत् खपत १ हजार ५०० किलोवाट घण्टा (युनिट) पुर्याउने लक्ष्य सहित हालै स्वीकृत गरेको ‘ऊर्जा विकास मार्गचित्र तथा कार्य योजना, २०८१’ लाई दृढतापूर्वक कार्यान्वयन गर्न लागिपरेको छ । जसमा राष्ट्रिय ग्रिड नपुगेका स्थानहरूमा अपग्रिड सौर्य, वायु तथा लघु जलविद्युतमार्फत आगामी दुई वर्षभित्र शतप्रतिशत घरधुरीमा विद्युत् पुर्याउने, राष्ट्रिय ग्रिडमा आबद्ध नभएका विद्युतीय पूर्वाधारलाई ग्रिडमा आबद्ध गर्दै जानेलगायतका लक्ष्यहरू समेटिएका छन् ।
सबैमा विद्युत् पहुँच पुर्याउन तथा दिगो विकास लक्ष्यले लिएका नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता तथा जलवायु परिवर्तनसँग सम्बन्धित लक्ष्यहरू हासिल गर्ने सरकारको प्राथमिकतामा केन्द्रको योगदान रहँदै आएको छ । केन्द्रले स्थापनाकालदेखि नै नवीकरणीय ऊर्जाको विस्तार तथा ऊर्जा दक्षताको अवलम्बनमार्फत आधुनिक ऊर्जाको पहुँच वृद्धि गर्ने तथा ऊर्जा सुरक्षा सुनिश्चित गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । केन्द्रले विभिन्न घरायसी, संस्थागत र सामुदायिक नवीकरणीय ऊर्जा प्रविधिहरूको प्रवर्द्धन र विस्तार मार्फत हालसम्म समग्रमा देशका करिब ३६ लाख ५० हजार घरधुरीमा स्वच्छ नवीकरणीय ऊर्जा प्रविधिको सेवा पुर्याएको छ । कूल विद्युत् पहुँचमा नवीकरणीय ऊर्जा प्रविधिको हिस्सा करिब ४ प्रतिशत रहेको छ । केन्द्रले ऊर्जा क्षेत्रको विकास तथा विस्तारमा विभिन्न विकास साझेदार, सरकारी निकाय, प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र, गैरसरकारी संस्था, वित्तीय संस्था तथा स्थानीय समुदायसँग सहकार्य गर्दै आएको छ ।
केन्द्रले स्थापनाको २८ वर्षको अवधिमा लघु तथा साना जलविद्युत आयोजनाबाट, ४० हजार २५३ किलोवाट विद्युत् ११ हजार १०४ सुधारिएको पानी घट्ट जडान, ९ लाख ९६ हजार ६४७ घरेलु सौर्य विद्युत् प्रणाली जडान भएका छन् । यसैगरी, ४ हजार ३३२ संस्थागत सौर्य विद्युत् प्रणाली, ३ हजार ९७ किलोवाट पिक सौर्य मिनि ग्रीड, सौर्य वायु मिनि ग्रीड जडान, १८ हजार २९३ किलोवाट पिक सौर्य रूफटप, २ हजार ४६४ सौर्य ड्रायर तथा कुकर जडान, ३ हजार ६९१ सौर्य खानेपानी तथा सिँचाइ पम्प, १ लाख ३२ हजार २११ फलामे सुधारिएको चुलो, ३३ वटा संस्थागत ग्यासिफायर, ५९ हजार ३८५ विद्युतीय चुलो, ४ लाख ५० हजार ७७० घरायसी बायो ग्यास, १४ लाख २३ हजार २४२ सुधारिएको माटोको चुलो, ३६९ संस्थागत, सहरी तथा व्यावसायिक बायो ग्यास, १ हजार ७६६ ऊर्जाको उत्पादनमूलक परि प्रयोग, ३३०९ सौर्य सडक बत्ती र ४ हजार ७५८ मठ, मन्दिर तथा होमस्टेमा सौर्य ऊर्जा जडान/निर्माण गर्न सफल भएको छ । विद्युत् पहुँच विस्तार र खाना पकाउने स्वच्छ ऊर्जा प्रविधि (क्लिन कुकिङ्ग)को क्षेत्रमा केन्द्रले विशेष जोड दिँदै आएको छ । नवीकरणीय ऊर्जाको क्षेत्रमा ५०० भन्दा बढी कम्पनीहरू क्रियाशील रहेका छन् जसबाट प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ४० हजारभन्दा बढी रोजगारी सिर्जना भएको छ ।
संयुक्त राष्ट्रसंघले ‘पृथ्वी र पृथ्वीमा बसोबास गर्ने मानव तथा सम्पूर्ण प्राणी जगतको हित गर्ने स्वच्छ ऊर्जाको न्यायपूर्ण र समावेशी रूपान्तरणको लागि सचेतना जगाउने र सोही बमोजिमका क्रियाकलापहरू सञ्चालन गर्न’ उद्देश्यका साथ सन् २०२४ देखि हरेक वर्ष जनवरी २६ तारिखलाई अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसको रूपमा मनाउने घोषणा गरेको छ । जसलाई लक्षित गरी केन्द्रले पनि विभिन्न कार्यक्रमहरू तय गरेको छ । यस क्षेत्रसँग सम्बन्धित समस्या, चुनौती तथा अवसरहरूको बारेमा सरोकारवालाहरूसँगको अन्तरक्रियासहित नेपालमा उत्थानशील एवं न्यून कार्बनमा आधारित अर्थतन्त्रको विकासमा सघाउ पुर्याउने स्वच्छ ऊर्जा रूपान्तरणलाई तीव्रता दिनको लागि सरोकारवालाहरूबिच अनुभव आदान प्रदान, लगानीको अवसरबारे अन्तरक्रिया एवं आवश्यक रणनीति तर्जुमाको लागि उत्थ(ानशील एवं न्यून कार्बनमा आधारित अर्थतन्त्रको लागि स्वच्छ ऊर्जा रूपान्तरणसम्बन्धी सम्मेलन हुनेछ ।
ऊर्जा रूपान्तरणको क्षेत्रगत अवस्था, अवसर तथा चुनौती, खुद शून्य उत्सर्जन र उत्थानशील अर्थतन्त्रको लक्ष्य हासिलको लागि ऊर्जा रूपान्तरण, ऊर्जा रूपान्तरणको लागि लगानी तथा कार्बन वित्त ः आन्तरिक र बाह्य लगानीको आवश्यकता, ऊर्जा रूपान्तरणको लागि नियामक ढाँचा, सुशासन र क्षमता विकास न्यून कार्बनमा आधारित अर्थतन्त्रसहितको ऊर्जा रूपान्तरणको लागि भविष्यको मार्गचित्र लगायतका विषयवस्तुहरू सम्मेलनको छलफलको प्रमुख विषयवस्तु हुनेछन् । सम्मेलनबाट ऊर्जा रूपान्तरणको लागि क्षेत्रगत आवश्यकताको पहिचान, ऊर्जा रूपान्तरणको लागि लगानी आवश्यकता र जलवायु वित्तको लागि विभिन्न संयन्त्रहरूको पहिचान, लगानी अभिवृद्धि एवं विकास सहकार्य थप मजबुत हुने अपेक्षा रहेको छ । साथै, यस सम्मेलनबाट नेपाल सरकारबाट हालै स्वीकृत ‘ऊर्जा विकास मार्गचित्र तथा कार्य योजना, २०८१’ र ‘विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरण सम्बन्धी कार्य योजना, २०८०’को प्रभावकारी कार्यान्वयनका लागि समेत सहयोग पुग्नेछ ।
(ढकाल, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक हुन् ।)