२०८१ माघ १७ गते बिहिवार / Jan 30 , 2025 , Thursday
२०८१ माघ १७ गते बिहिवार
Ads

स्वतन्त्रता कि दासता ?

hardik ivf
२०८१ माघ १६ गते ०६:१०
स्वतन्त्रता कि दासता ?

–लोकनारायण सुबेदी

हामी २१औँ शताब्दीको विकासको युगमा छौँ । युगअनुसार हाम्रो चेतना मात्रै विकास भएको छैन, हामी प्रविधि प्रयोगको हिसाबले पनि धेरै अगाडि छौँ । जसमा अहिले सबैभन्दा बढी सूचना–प्रविधिको विषय जोडिएको पाइन्छ । जुन हाम्रो कल्पनाभन्दा माथिबाट विकास भइरहेको छ । यद्यपि, यी विकासले केही प्रश्नहरू उब्जाउन थालेको छ । कतै विकाससँगै हामी फरक दासताको युगमा त प्रवेश गर्दै छैनौ ? यो निकै सोचनीय प्रश्न बनेको छ ।

सबैलाई थाहा छ, आजको विश्वमा स्वाभाविक रूपमा बहुचर्चित दुई जना व्यक्ति छन् । तीमध्येका एक हुन् ‘एलन मस्क’ अर्का हुन् ‘मार्क जुकरवर्ग’। विश्वभरिका सञ्चार माध्यमहरूमा आज यिनै दुई जनाको नयाँ ‘फ्री स्पीच’ सम्बन्धी नीतिहरूको चिन्ता र चर्चा चलिरहेको छ । यी दुवै नै आजको डिजिटल क्रान्तिको कालखण्डमा विश्वकै सबैभन्दा धनाढ्य व्यक्ति बन्न पुगेका छन् । यसरी विश्वका सबैभन्दा धनी व्यक्ति बनेका एलन मस्क  यति बेला ४२१.२ बिलियन डलरको मालिक छन् भने मार्क जुकरवर्ग २१६ बिलियन डलरका मालिक छन् । 

अभूतपूर्व प्रविधि क्रान्तिको एउटै कालखण्डमा दुवै व्यक्ति संसारकै अत्यधिक धनी व्यक्ति बनेका छन् भने यी दुबैका बिच प्रतिस्पर्धा पनि भइरहेको छ । बितेको वर्षमा ती दुईका बिच यस्तो व्यक्तिगत चर्काचर्की पनि परेको थियो कि ती एकले अर्कोलाई ‘कुङफू’ किसिमको लडाई गर्ने चुनौती पनि दिएका थिए । तर, त्यसलाई पछिबाट फिर्ता लिइएको थियो । तर, उनीहरूबिचको लडाइँ पूरै रोकिएको भने छैन ।

सबैलाई थाहा भएकै कुरा हो कि एलन मस्कले गएका दिनमा ‘ट्विटर’ नामको प्लेटफर्म ठूलो रकम तिरेर किने । अनि त्यसको नाम परिवर्तन गरेर ‘एक्स’ राखे । त्यसमाथिको व्यक्तिगत ‘सेन्सर’ पनि हटाएर त्यसलाई ‘फ्री स्पीच’को पक्षधर पनि बनाइदिए । अमेरिकी चुनावमा ट्रम्पको पक्षमा मस्कले सो प्लेटफर्ममार्फत ‘अभियान’ पनि चलाए । शायद त्यसै कारणले पनि होला मस्कले बेलायतमा ‘साना बालिकाहरूमाथि एक थरी पाकिस्तानीद्वारा गरिएको जबरजस्ती यौन दुराचार काण्डका विरुद्ध बेलायतका प्रधानमन्त्रीसम्मलाई ताने । यसबाट स्पष्ट हुन्छ कि एलन मस्क माइक्रो मिडिया प्लेटफर्म ‘एक्स’ मालिक मात्र होइनन् आफ्नो ‘एक्स’का आफ्नै किसिमका एक ‘अभियन्ता’ पनि हुन् । उनी ‘विश्व जनमत’लाई प्रभावित तुल्याउने गरी अगाडि बढिरहेका छन् । 

एलन मस्कको ‘एक्स’को ‘फ्री स्पीचवादी’ नीतिलाई देखेर जुकरवर्गले पनि आफ्नो ‘मेटा’मा आउने ‘कन्टेन्ट’लाई ‘फुल्ली फ्री’ गर्न सकिने बताउन थालेका छन् । एलन मस्कले जस्तै जुकरवर्गले पनि यसलाई डिजिटल क्रान्तिका लागि आवश्यक ‘फ्रीडम अफ स्पिच’ भन्ने नाम दिएका छन् । उनले विश्वभरिमा मानिसले आफू स्वयंलाई ‘मुक्त भाव’ व्यक्त गर्न सक्दछ । 

आज एलन मस्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समूहका एक शक्तिशाली सदस्य मात्र बनेका छैनन्, ट्रम्पका नीतिहरूका समर्थक, निर्माता तथा प्रचारक पनि बनेका छन् । त्यसको कारण उनको पैसाको ‘शक्ति’ हो । अर्कोतिर जुकरवर्ग पनि प्रविधि क्रान्तिका एउटा ठूला प्रणेता र विश्वमा सबैभन्दा लोकप्रिय डिजिटल प्लेटफर्म ‘फेसबुक’का मालिक हुन् । विश्वभरिमा तीन अर्बभन्दा बढी मानिसहरू आज उनको ‘फेसबुक’ र उनको ‘ह्वाट्सएप’ नामको डिजिटल प्लेटफर्मको उपयोग गर्दछन् र आफूलाई अनेक किसिमले अभिव्यक्त गर्ने गर्दछन् । संवाद गर्ने गर्दछन् । एक अर्कासँग सम्बन्ध बन(ाउने गर्दछन् । अनि समाजको समानान्तर आ–आफ्ना समूह र समुदाय बनाउँदछन् । 

भनिरहनु नपर्ला कि ‘एक्स’ होस् वा ‘फेसबुक’ वा ‘ह्वाट्सएप’ आदि प्लेटफर्मले विश्वको राजनीतिदेखि अर्थनीति, सांस्कृतिक नीति यतिसम्म कि युद्ध नीतिलाई पनि प्रभावित तुल्याउँदछन् । यस्ता प्लेटफर्महरूको माध्यमबाट ‘सेट’ गरिने गरेका ‘भाष्य’ या ‘न्यारेटिभ’ले कुनै पनि देशमा हस्तक्षेप गर्न सक्दछन् । कसैलाई उठाउन र कसैलाई खसाल्न सक्दछन् । सत्यलाई झूटो र झूटोलाई सत्य बनाएर बेच्न  सक्छन् । ‘फेक न्यूज’ ‘पोष्ट ट्रुथ’ र यस्तै विभिन्न ‘पद’ र ‘पदावली’हरूले आजको डिजिटल सञ्चार माध्यमहरूलाई समेत ‘सन्दिग्ध’ बनाइसकेका छन् । त्यसले आज के ‘सत्य’ हो के ‘झूटा’ हो वास्तविक यथार्थ थाहा हुन छोडेको छ । कुन ‘झूट’लाई ‘सत्य’ जस्तै बनाएर लगातार प्रसारित गर्ने, ‘भाइरल’ तुल्याउने अथवा ‘बहस’ महत्वपूर्ण विषय बनाउने या ‘न्यारेटिभ’ बनाउनाले कहाँ के–कस्तो परिणाम उत्पन्न गर्न सकिने हो अजाका धेरैजसो खबरहरू, अर्थात् ‘भिडिओ’, ‘ह्वाट्सप’, ‘फोटोहरू’ आदि यसै हिसाबले पहिला नै तय गरेर प्रसारित गर्ने गरिन्छन्, अनि त्यसको जे परिणाम हुन जान्छ त्यो पनि ‘आउट अफ कन्ट्रोल’ हुन पुग्ने गरेको बताइन्छ । 

जति बेला प्लेटफर्ममा एक प्रकारको ‘निजी सेन्सर’ लाग्दथ्यो, जसले मानेर चल्दथ्यो कि धेरैजसो ‘अतिवादी’ आतंकवादलाई उक्साउनेहरू’ हिंस्रक मानसिकतालाई उक्साउनेहरू’ र ‘घृणा फैलाउनेहरू’माथि यथासम्भव सेन्सर लगाइनु ठिक थियो । तर, आजको समकालीन ‘फ्रि स्पीच’को नयाँ वकालतको वास्तविक कारण के हो भन्ने कुरा पनि एकदमै विचारणीय छ । कतिपयले मान्दछन् कि डोनाल्ड ट्रम्पले जस्तै विश्वका कतिपय देशहरूमा जति बेला दक्षिणपन्थी सबल बनेको छ, त्यति बेलादेखि यी नयाँ प्लेटफर्मलाई ‘फ्री स्पीच’को नयाँ दौडा परेको छ । पहिला यसलाई ‘एक्स’ले लागु गरेको हो । अब ‘मेटा’ले पनि लागु गर्न थालेको छ । संवेदनशील कतिपयको मान्यता के छ देखिएको छ भने यो ‘डिजिटल क्रान्ति’नयाँ मालिकहरू नयाँ तानाशाह हुन् । यो ‘नयाँ स्वतन्त्रता’को नाममा ‘नयाँ दासता’ हो । अनि यसबाट छुटकारा भने त्यति बेला मात्र पाउन सकिने या मिल्नेछ जति बेला हरेक देशहरू आफैले ‘डिजिटल क्रान्ति’ गर्नेछन् र आफ्नै स्वदेशी ‘प्लेटफर्म’ उत्पन्न गर्नेछन् ।

आज हामी डिजिटल क्रान्तिको युगमा छौँ भनेर भनिरहँदा हामीले यसको मानव र प्रकृतिका विरुद्ध हुनसक्ने दुरुपयोग र त्यसको भयावह दुष्परिणामबाट बच्ने सार्थक र मूर्त उपायहरूको खोजी गर्नु पनि उत्तिकै आवश्यक छ । अन्यथा, विज्ञान र प्रविधिको दुष्परिणामदारी दुर्घटनाबाट उम्किन सकिने छैन । त्यति बेला वरदान अभिशापमा परिणत हुनेछ । समाज मुक्त होइन दासताको सिकार हुनुको कुनै विकल्प विकसित गर्न सकिने छैन । समयमा नै सबैलाई ज्ञात हुन आवश्यक छ ।

ADVenergy

सम्बन्धित खबर

Advertise