२०८१ माघ १८ गते शुक्रवार / Jan 31 , 2025 , Friday
२०८१ माघ १८ गते शुक्रवार
Ads

आन्दोलन र सत्ता राजनीति

hardik ivf
२०८१ माघ १८ गते ०६:१०
आन्दोलन र सत्ता राजनीति

–शंकर थापा

सबै समाजहरूको इतिहास वर्ग संघर्षबाटै निर्माण भएको पाइन्छ । सम्पूर्ण राजनीतिक संघर्ष वास्तवमा वर्ग संघर्ष नै हो । वर्ग संघर्ष आर्थिक स्वतन्त्रताको प्रश्नसँग जोडिएको हुन्छ । आदिम साम्यवादको अन्त्यतिर श्रमको उत्पादकत्वमा वृद्धि हुन थालेपछि मानिसहरूले उपयोग गर्नेभन्दा बढी उत्पादन गर्न थाले । भौतिक सम्पत्तिको सञ्चय हुन थाल्यो । त्यही बेलादेखि वर्ग जन्मियो– शोषक र शोषित । तिनका बिचमा भीषण संघर्ष हुन थाल्यो । त्यो दास युग, सामन्तवादी युग, पुँजीवादी युगसम्म निकै टड्कारो र प्रष्टरूपमा चलिरह्यो । जब पुँजीवादी कालमा सर्वहारा वर्गले आफ्नो मुक्तिको दर्शन भेट्टायो, त्यसपछि वर्ग संघर्षको गुणात्मकता बढ्यो । 

सिद्धान्तहरूलाई कार्यक्रमद्वारा संगठनको ताकतमा व्यावहारिक कार्यान्वयन गर्ने मूल दिशा नै कार्यदिशा हो । आदिम साम्यवाददेखि समग्र इतिहास निश्चित नियमद्वारा निर्धारित वर्ग संघर्षको इतिहास हो । कार्यदिशाको निर्माण देशको वस्तुगत अवस्था र अन्तर्राष्ट्रिय परिस्थितिको समेत विश्लेषणका आधारमा हुन्छ । रणनीति र कार्यनीतिको गठ जोड कार्यदिशामा अन्तर्निहित हुन्छ । वर्गसंघर्ष र बल प्रयोगको सिद्धान्तलाई कम्युनिस्ट पार्टीहरूले व्यवहारतः अंगीकार गरेका हुन्छन् । कम्युनिस्ट पार्टीको विकल्पमा लोकतन्त्रलाई आदर्श मान्ने पार्टीहरू लोकतान्त्रीकरणको बाटोमा छन् । राजनीतिक पार्टीको अस्तित्व सिद्धान्त, विचार, नीति र योजनाका आधारमा तय हुन्छ । गरिब तथा उत्पीडित जनताको जीवनभन्दा सत्ताको खेल सजिलो र प्यारो विषय ठान्ने र त्यसकै लागि मरिहत्ते गर्ने पार्टीहरू पनि छन् । 

संसदीय रणनीति भनेको सबै हत्कण्डा अपनाएर चुनाव जित्ने, ठूलो र शक्तिशाली पार्टी बन्ने र सरकार बनाउने हुन्छ । पुँजीपति वर्गको नेतृत्वमा राज्य व्यवस्था सञ्चालन गर्ने, चुनावदेखि चुनावसम्म र सरकारबाट सरकारसम्म पुग्ने अनि राज्यको दोहन गर्ने रणनीति नै संसदीय रणनीति हो । रूपमा धेरै पार्टीहरू देखिए पनि जहिल्यै पनि पुँजीपति वर्ग नै शासक र अन्य सबै शासित हुन्छन् । कम्युनिस्ट रणनीति भनेको वर्गविहीन समाज निर्माण गर्ने सर्वहारावादी रणनीति हो । सर्वहारा वर्गको नेतृत्वमा राज्य व्यवस्था स्थापना गर्दै समाजवाद र साम्यवादसम्म पुग्नु नै कम्युनिस्ट रणनीति हो । संघर्षको बलमा पुँजीवादी कालखण्डको अन्त्यपछि सर्वहारा वर्गको नेतृत्व र उत्पीडित जनताको अधिनायकत्व व्यक्त हुन्छ । जनताको ठूलो बलिदान र लामो संघर्षले ल्याएको परिवर्तनबाट देशको मुहार फेरिने कुरामा जनता विश्वस्त थिए । तर, जनताको त्यो विश्वासमा तुसारापात भएको छ । 

सत्ता राजनीतिले देशलाई थिलथिलो बनाएको छ । सत्ताको खेलमा रमाउनु सांसदवादीहरूको नियति बनेको छ । सत्तामा पुगिसकेपछि जनभावना बिर्सिने प्रचलनलाई अन्त्य गर्न राज्यमा जनताको निरन्तर निगरानी र हस्तक्षेपको व्यवस्था गर्नु जरुरी छ । जनताको नियन्त्रण, हस्तक्षेप र निगरानीको सुनिश्चितता नै असली शासन व्यवस्था हो । जनताको सर्वोच्चताबारे भविष्यमा कुनै पनि प्रकारको आँच नआउने गरी राज्य व्यवस्था स्थापना गर्न सकियो भने मात्रै अबको क्रान्तिको सार्थकता रहन्छ । नेपालमा अहिले संसदीय गणतन्त्र छ । शासन प्रणालीमा प्रधानमन्त्री नै सरकारको प्रमुख हुन्छ, राष्ट्रपति पनि छ, तर नाम मात्रको राष्ट्र प्रमुखको रूपमा । नेपालको राज्य व्यवस्था पुँजीपति वर्गको अधिनायकत्वमा सञ्चालित छ । यहाँका उत्पादनका सबै स्रोत साधन पुँजीपति वर्गकै हातमा छन् । संसदीय गणतन्त्रको आर्थिक आधार मूलतः नोकर शाही पुँजीवाद हो । यो व्यवस्थाले साम्राज्यवादीहरूद्वारा गरिने हाम्रो जस्तो पिछडिएको देशको अर्थतन्त्रको डकैती र ब्रम्हलुटलाई मात्र सघाउँछ । यो व्यवस्थाले राष्ट्रिय पुँजीको विकास गर्दैन, त्यसलाई ठिम्याउँछ, धराशायी बनाउँछ र अन्ततः ध्वस्त पार्दछ । त्यसैले, यसको विकल्प सोच्नु आवश्यक छ । वैज्ञानिक समाजवादी जनक्रान्तिको कार्यदिशाले मात्र यो सत्ताको खेललाई अन्त्य गर्दै वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न सक्दछ । 

कम्युनिस्ट पार्टीहरूले संसदवादलाई आफ्नो राजनीतिक साधनको रूपमा उपयोग गर्ने भने पनि संसदवादमा स्वयं फसेको अवस्था छ । संसदवादमा फस्दा सत्ताको स्वार्थमा अल्झिनु, भ्रष्टाचारका मुद्दा र सिद्धान्तको विचलनजस्ता कुरा सामान्य बनेका छन् । जसलाई हेर्दा, अहिलेकै प्रक्रियाबाट सुधार सम्भव देखिन्न । त्यस कारण व्यवस्था नबदलेसम्म समस्याको समाधान हुने देखिन्न । अहिलेको कम्युनिस्टहरूको एजेन्डा सत्ताभन्दा जनता हुनु आवश्यक देखिन्छ ।

ADVenergy

सम्बन्धित खबर

Advertise