२०८१ माघ १८ गते शुक्रवार / Jan 31 , 2025 , Friday
२०८१ माघ १८ गते शुक्रवार
Ads

नेपालमा भ्रष्टाचार नियन्त्रणको सवाल

hardik ivf
२०८१ माघ १८ गते ०६:१५
नेपालमा भ्रष्टाचार नियन्त्रणको सवाल

–मिलन बि.क.

भ्रष्टाचार कुनै पनि समाजको स्थिरता, आर्थिक प्रगति र जनतामा रहेका विश्वासलाई कमजोर बनाउने गम्भीर समस्या हो । यो समस्या विश्वव्यापी छ, तर नेपाल जस्ता विकासशील देशमा यसको प्रभाव अझ गम्भीर देखिन्छ । नेपालमा भ्रष्टाचार हुनुमा लामो समयदेखि प्रणालीगत समस्या रहँदै आएको पाइन्छ, जसले गर्दा शासन व्यवस्थामा पारदर्शिता र जबाफदेहिता कमजोर भएको छ ।

परिभाषागतरूपमा जाँदा, भ्रष्टाचार भनेको कुनै पनि सार्वजनिक वा निजी क्षेत्रका व्यक्ति वा निकायले आफ्नो पदको दुरुपयोग गरी अवैध लाभ प्राप्त गर्नु हो । यसको स्वरूप घुस लिने–लिने, अनियमितता, शक्तिको दुरुपयोग, पहुँच र नातावाद तथा सरकारी स्रोत र सेवाको दुरुपयोग जस्ता क्रियाकलापमा देखिन्छ ।

भ्रष्टाचारको अवस्था र स्वरूप

नेपालमा भ्रष्टाचार निकै जटिल समस्या बनेको देखिन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गरिएका विभिन्न अध्ययन तथा अनुसन्धानले नेपाललाई भ्रष्टाचारको उच्च दर भएको मुलुकका रूपमा वर्गीकृत गर्दै आएका छन् । ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गर्ने भ्रष्टाचार अवधारणा सूचकमा नेपालले सधैँ कमजोर स्थान बनाएको देखिन्छ । भ्रष्टाचारका कारण केही महत्वपूर्ण क्षेत्रहरू प्रत्यक्ष प्रभावित भएको पाइन्छ । जसमा सार्वजनिक सेवा, विकास निर्माण, शिक्षा र स्वास्थ्य, न्याय प्रणालीलगायत छन् । 

आज सार्वजनिक सेवा प्रवाहमा लेनदेनका कुरा सामान्य जस्तै बनेका छन् । जसलाई आम समाजले समेत पचाउने अवस्था बनेका छ । जुन निकै डरलाग्दो अवस्था हो । साथै, कामकाजमा पारदर्शिता र योग्यताभन्दा व्यक्तिगत सम्बन्धलाई प्राथमिकता दिने चलन पनि सामान्य जस्तै छ । 

आज सरकारी बजेटको चरम दुरुपयोगको अवस्था छ । कतिपय परियोजना अध्ययन बिना नै बनेका छन् । एकातिर बनेका परियोजनामा गुणस्तरीयताको सवाल छ भने अर्कोतिर परियोजनामाथि नै प्रश्न उठिरहेका छन् । कुनै ठेकेदारले पैसा लिएर राम्रो काम नगर्नु मात्रै भ्रष्टाचार होइन, आवश्यक नपरेको ठाउँमा पनि बजेट खन्याएर काम गर्नु पनि भ्रष्टाचार हो । 

साथै, ठेक्का प्रक्रिया र सार्वजनिक खरिदमा पनि पारदर्शिताको ठूलो खडेरी छ । सँगै, नीति बनाएर गरिने भ्रष्टाचारको अवस्था पनि भयावह नै छ । जसको अवस्था निकै जटिल प्रकृतिको देखिन्छ । राज्य संरचनामा तलदेखि माथिसम्म नै नीतिगत भ्रष्टाचारको अवस्था विकास हुँदै गइरहेको पाइन्छ । 

भ्रष्टाचारका मुख्य कारणहरू

नेपालमा भ्रष्टाचार मौलाउनुको मुख्य कारणको रूपमा राजनीतिक अवस्थालाई लिन सकिन्छ । जुन आफैँमा भ्रष्ट हुँदा, त्यसले समग्र संरचनालाई नै भ्रष्ट बनाइरहेको छ । जसको प्रभाव माथिल्लो इकाइदेखि तल्लो इकाइसम्म नै कायम छ । 

चाहे कार्यपालिकाबाट प्रवाह हुने सेवाको कुरा होस् वा न्यायपालिकाले दिने न्यायका कुरा नै किन नहुन्, राजनीतिक प्रभावले जताततै आक्रान्त छ । जहाँ सही र वैठिक तथ्यगत रूपमा होइन, दलगत आँखाबाट गरिन्छ । दलगत पूर्वाग्रह प्रेरित भएर निर्णय गरिन्छ । आज किन सरकारी कार्यालयहरू जनताका निम्ति बोझिला बन्दै छन् ? आज किन न्यायालयप्रति जनतामा विश्वास छैन ? प्रस्ट छ, सबैतिर राजनीतिको घिनलाग्दो प्रभाव छ । 

आज शासन व्यवस्थामा पारदर्शिता र जबाफदेहिता कहीँ कतै छैन । भ्रष्टाचारविरुद्धका कानुन कार्यान्वयन भइरहेको छैन । आज समाजले नै भ्रष्टाचारलाई स्वीकार गर्ने अवस्था बनिरहेको छ । सँगै, भ्रष्टाचार मौलाउनुको कारणको रूपमा हामीले बढ्दो आर्थिक असमानता र बेरोजगारीलाई पनि लिन सक्छौँ ।

भ्रष्टाचारका प्रभावहरू

भ्रष्टाचारले नेपालमा सामाजिक, आर्थिक र राजनीतिक जीवनमा नकारात्मक प्रभाव पारेको छ । आज भ्रष्टाचारकै कारण स्रोतसाधनको दुरुपयोगले विकासका परियोजनाहरू प्रभावित भइरहेका छन् । विकासका परियोजनामा गुणस्तरीयताको प्रश्न गम्भीर गरी उठेको छ । 

आज कहीँ कतै पारदर्शिता छैन । जसको कारण बाह्य लगानीकर्ता हतोत्साहित बनिरहेका छन् । नेपालमा लगानी गर्न मल्टिनेशनल कम्पनीहरू तयार नहुनुको कारण पनि यही हो । 

आज समाजमा किन वर्गीय असन्तुलन चुलिँदो छ ? जसको जवाफ भ्रष्टाचारबाट पाउँछन् । यसले ठूलो असमानताको अवस्था विकास गराइरहेको छ । 

आज जनताले शासन प्रणालीमा विश्वास गर्न छाडेका छन् । जसको कारण शासन प्रणालीको भ्रष्ट स्वरूप नै हो ।

भ्रष्टाचार नियन्त्रणका प्रयासहरू

नेपालमा भ्रष्टाचार नियन्त्रणका लागि सरकार, गैरसरकारी संस्था र अन्तर्राष्ट्रिय निकायहरूले केही कदम चालेका छन् । यद्यपि, ती कदम निकै नै कमजोर खालका छन् । तिनको प्रभाव पर्न सकिरहेको छैन । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अनुसन्धानमा भूमिका खेलिरहेको छ । भ्रष्टाचार निवारण ऐन २०५९ जस्ता कानुनहरू कार्यान्वयनमा पनि ल्याइएको छ । यद्यपि, अख्तियारमाथि नै प्रश्न उठ्ने अवस्था कायमै छ । 

आज सार्वजनिक खरिद प्रणालीमा सुधार गर्न खोजिएको छ । तर, अपेक्षित छैन । सूचना प्रविधिको प्रयोगले भने प्रक्रियाहरूलाई केही पारदर्शी बनाउन खोजेको पाइन्छ । 

आज सबैभन्दा महत्वपूर्ण कामको रूपमा सामाजिक अभियानहरूलाई लिन सकिन्छ । भ्रष्टाचारविरुद्ध जनचेतना अभिवृद्धि गर्न अभियानहरू सञ्चालन हुँदा भ्रष्टाचार गर्नेका लागि ठूलो असहजता उत्पन्न भइरहेको छ । सँगै, सचेतनामूलक कार्यक्रमहरूले पनि जनतालाई भ्रष्टविरूद्ध बोल्न आँट दिइरहेको छ ।

भ्रष्टाचार नियन्त्रणका उपाय

भ्रष्टाचार नियन्त्रण नै गर्न सकिन्न भन्ने चाहिँ होइन । केही कदमहरू चाल्न सकिएको खण्डमा भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ । जुन अन्यतिरका उदाहरण पनि छन् । 

आज सबैभन्दा महत्वपूर्ण खाँचो कानुनी कार्यान्वयनको छ । भ्रष्टाचारीहरूलाई कडा सजाय दिने कानुन आज चाहिएको छ । सँगै, अनुसन्धान र निगरानी निकायहरूलाई स्वतन्त्र बनाउनु पर्ने देखिन्छ । जहाँ राजनीतिको कुनै छाया नपरोस् ।

सूचना प्रविधिको प्रयोगलाई पनि विस्तार गर्नुपर्ने देखिन्छ । जसले पारदर्शितालाई टेवा पुर्‍याउँछ । सरकारी विवरणहरू सार्वजनिक हुने परिपाटी सूचना प्रविधिले गराउँछ । 

विद्यालय स्तरमै भ्रष्टाचार विरोधी पाठ्यक्रम समावेश गर्नुपर्ने खाँचो देखिन्छ । आज नैतिक शिक्षाको ठूलो अभाव छ । यदि जनस्तरमा इम(ानदारिता र पारदर्शिताको महत्वबारे गतिलो ज्ञान हुन सकेमा जनता स्वयं पनि जागरूक हुन सक्छन् । 

महत्वपूर्ण अंशको रूपमा राजनीतिक दलहरूको आर्थिक पारदर्शिताको सवाल हो । दलहरूलाई नीतिगत रूपमा पनि पारदर्शी बनाउने गरी लाग्नु अहिलेको आवश्यकता हो ।

निष्कर्षमा,

भ्रष्टाचार केवल एउटा कानुनी समस्या मात्र नभई यो सामाजिक, राजनीतिक र आर्थिक समस्या हो । यसले समाजमा असमानता, अन्याय र अविश्वासको वातावरण सिर्जना गर्छ । नेपालमा भ्रष्टाचारका कारण विकासका प्रयासहरू अवरुद्ध भएका छन्, जसले गर्दा जनताको जीवनस्तरमा सुधार ल्याउन असम्भवजस्तै बनाएको छ । सरकारी निकायहरू, राजनीतिक नेतृत्व र नागरिक समाज सबैले भ्रष्टाचारलाई सामान्यीकरण गरेको देखिन्छ, जुन हाम्रो सामाजिक र संस्थागत कमजोरीको संकेत हो ।

भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक इच्छाशक्ति, प्रभावकारी कानुनी कार्यान्वयन र नागरिक चेतनाको जागरण अत्यन्त जरुरी छ । सरकारी प्रक्रियामा पारदर्शिता, जबाफदेहिता र सूचना पहुँचको सुनिश्चितता गरी मात्रै सुधार ल्याउन सकिन्छ । साथै, शिक्षाको माध्यमबाट नयाँ पुस्तामा इमानदारी, नैतिकता र जिम्मेवारीको भावना विकास गर्नु दीर्घकालीन समाधान हो । नेपालमा भ्रष्टाचारको अन्त्य केवल सरकारको प्रयासबाट सम्भव हुँदैन । यसका लागि नागरिकहरूले पनि आफ्नो भूमिका निभाउनुपर्छ । घुस नदिने, नलिने र अनुचित कार्यहरूको विरोध गर्न सक्ने साहस जनस्तरमा विकास हुनु जरुरी छ ।

यदि नेपालले भ्रष्टाचारमुक्त प्रणाली स्थापना गर्न सक्यो भने मात्र देशको स्रोत र साधनको सही उपयोग हुनेछ, जसले आर्थिक समृद्धि, सामाजिक न्याय र लोकतान्त्रिक प्रणालीको सुदृढीकरणमा सहयोग पुर्‍याउनेछ । त्यसैले, भ्रष्टाचारविरुद्धको संघर्षलाई सबै तहमा प्राथमिकतामा राखेर सशक्त, इमानदार र पारदर्शी समाजको निर्माण गर्नु अबको समयको माग हो ।

ADVenergy

सम्बन्धित खबर

Advertise