–ईश्वर बुढाथोकी
शैक्षिक बेरोजगारी भन्नाले शिक्षित व्यक्ति आफ्नो योग्यताअनुसारको रोजगारी नपाउनु वा पूर्ण रूपमा बेरोजगार रहनु हो । नेपालमा धेरै स्नातक तथा स्नातकोत्तर गरेका विद्यार्थीहरू पढाइ पूरा गरेपछि पनि रोजगारी नपाएर घरमै बस्न बाध्य छन् । कतिपय बेरोजगार युवाहरू अत्यन्त न्यून तलबमा वा आफ्नो सीपभन्दा कम स्तरको काम गर्न बाध्य छन् ।
शैक्षिक बेरोजगारी केवल नेपालमै सीमित समस्या होइन, तर नेपाल जस्तो विकासशील मुलुकमा यसको प्रभाव झन् गम्भीर बन्दै गएको छ । जब शिक्षित युवा रोजगारीविहीन हुन्छन्, तब समाजमा आर्थिक अस्थिरता, वैदेशिक पलायन तथा सामाजिक असन्तोष बढ्ने सम्भावना रहन्छ ।
नेपालमा पछिल्लो समय शैक्षिक बेरोजगारी गम्भीर सामाजिक र आर्थिक समस्याका रूपमा देखापरेको छ । उच्च शिक्षित युवाहरू रोजगारीको अभावमा संघर्ष गरिरहेका छन्, जसले व्यक्तिगत जीवन मात्र होइन, समग्र राष्ट्रिय विकासलाई पनि प्रभावित गरिरहेको छ ।
देशभर हजारौं विद्यार्थी स्नातक र स्नातकोत्तर गर्दै छन्् तर रोजगारीका अवसर सीमित छन् । रोजगारी प्राप्त गर्नेहरूले पनि आफ्नो शिक्षासँग मेल खाने काम पाउन कठिनाइ भोगिरहेका छन् । यस्तो अवस्थामा, नेपालमा बढ्दो शैक्षिक बेरोजगारीका कारण, असर र समाधानबारे गहिराइपूर्वक अध्ययन आवश्यक छ ।
शैक्षिक बेरोजगारी बढ्नुका कारण
नेपालमा शैक्षिक बेरोजगारी बढ्नुका धेरै कारणहरू छन् । तीमध्ये प्रमुख कारणहरूमाथि यहाँ चर्चा गरिएको छ ।
नेपालको शिक्षा प्रणाली मुख्यतः सैद्धान्तिक शिक्षामा मात्र केन्द्रित छ । चाहे विद्यालय तहको होस् वा विश्वविद्यालय तहको, सबैको शिक्षा उस्तै छ । अधिकांश विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान दिइँदैन, जसले गर्दा उनीहरू रोजगार बजारमा प्रतिस्पर्धा गर्न सक्दैनन् । व्यावसायिक तथा प्राविधिक शिक्षाको कमीले गर्दा युवाहरू स्वरोजगार बन्न पनि सक्दैनन् । अहिले युवाहरू शिक्षा प्राप्त गरेपछि सबैभन्दा धेरै अन्योलमा छन्, अब के गर्ने ?
अर्कोतर्फ, नेपालमा ठूला उद्योगहरूको संख्या निकै सीमित छ । उत्पादनशील उद्योगको अभावका कारण रोजगारीका अवसरहरू पर्याप्त मात्रामा सिर्जना हुन सकेका छैनन् । अधिकांश निजी कम्पनीहरू पनि सीमित रोजगारी सिर्जना गर्न सक्षम छन् । जबसम्म उद्योगहरू खोलिँदैन तबसम्म बेरोजगारीको समस्या हल गर्न सम्भव छैन ।
शिक्षाकै कारण आज युवाहरू सीपयुक्त छैनन् । उनीहरू स्वरोजगार बन्ने वा कुनै उद्योगमा सीपयुक्त काम गर्ने भन्दा पनि सकेसम्म सरकारी जागिर कसरी पाउने भन्नेमा छन् । सीमित सरकारी पदहरूका लागि अत्यधिक प्रतिस्पर्धा हुन्छ, जसका कारण धेरै शिक्षित युवा बेरोजगार रहन्छन् ।
अर्कातर्फ, अधिकांश युवाहरू स्वरोजगार बन्न चाहँदैनन्, जसमा शिक्षासँगै अरू कारण पनि छन् । विशेषगरी वित्तीय पहुँचको अभाव, सरकारी नीति तथा कार्यक्रमहरूको असहजता, व्यवसाय संचालनका लागि आवश्यक मार्गदर्शन तथा तालिमको अभाव आदिले युवाहरू रोजगारी खोज्न बाध्य बनाइरहेको छ ।
आज किन युवाहरू वैदेशिक रोजगारीमा जान्छन् भन्ने कारण पनि यहीँभित्र छ । नेपालमा रोजगारको अभाव तथा न्यून पारिश्रमिकका कारण शिक्षित युवाहरू विदेश पलायन भइरहेका छन् । धेरै नेपाली विद्यार्थी उच्च शिक्षा अध्ययन गर्न बाहिर जान्छन् तर फर्केर नेपालमा अवसर देख्दैनन् । यसले नेपालमा दक्ष जनशक्ति अभाव हुने स्थिति सिर्जना गरेको छ ।
नेपालको सन्दर्भमा, समस्याको मूल जड राजनीतिलाई लिन सकिन्छ । नेपालको राजनीति अस्थिर छ, जसका कारण दीर्घकालीन प्रकृतिका नीति निर्माण हुँदैन । सँगै, अस्थिर नीतिका कारण निजी क्षेत्रले लगानी गर्न सकिरहेको छैन । निजी क्षेत्र लगानी गर्न डराइरहेको छ ।
शैक्षिक बेरोजगारीका असर
शिक्षित बेरोजगारीले व्यक्तिगत जीवनदेखि लिएर राष्ट्रिय अर्थतन्त्रसम्म नकारात्मक असर पार्ने गरेको छ । व्यक्ति बेरोजगार बन्दा एकातिर स्वयं अप्ठ्यारोमा हुन्छ भने अर्कातिर राष्ट्रका निम्ति पनि ठूलो घाटाको विषय बन्छ । शिक्षित बेरोजगार युवाहरूले आय आर्जन गर्न सक्दैनन्, जसले परिवारको आर्थिक बोझ बढाउँछ । बेरोजगार जनसंख्या बढ्नाले राष्ट्रिय उत्पादन र समग्र आर्थिक वृद्धि दरमा नकारात्मक प्रभाव पर्छ ।
सँगै, बेरोजगारीका कारण युवाहरूमा निराशा, हीनताबोध र असन्तुष्टि बढ्छ । यसले समाजमा अस्थिरता निम्त्याउने खतरा रहन्छ । समाजमा देखिने समस्या शैक्षिक बेरोजगारीका कारण पनि हो ।
नेपालमा रोजगारीका अवसरहरू नहुँदा शिक्षित युवाहरू बिदेसिने क्रम तीव्र छ । योग्य जनशक्ति बाहिरिँदा देशको विकास प्रक्रियामा नकारात्मक असर पर्छ । बेरोजगारीका कारण युवाहरू गलत बाटोमा लाग्ने सम्भावना उच्च हुन्छ । लागुऔषध दुव्र्यसन, चोरी–डकैती तथा अन्य आपराधिक क्रियाकलापहरू बेरोजगारीसँग जोडिएका हुन्छन् ।
जब शिक्षित युवा बेरोजगार रहन्छन्, तब उनीहरूको सीप तथा ज्ञान प्रयोगविहीन हुन्छ । यसको दीर्घकालीन असर देशको विकास क्रममा प्रत्यक्ष रूपमा देखिन्छ ।
न्यूनीकरणका उपायहरू
शैक्षिक बेरोजगारीलाई घटाउन विभिन्न उपायहरू अवलम्बन गर्न सकिन्छ, जसमा मुख्यगरी शिक्षा प्रणालीमा सुधार, उद्योगहरूको विकास, स्वरोजगारलाई प्रवर्द्धन गर्ने नीति, प्रविधिमा आधारित रोजगारी सिर्जनालगायत छन् ।
शिक्षालाई व्यावहारिक, सीपमूलक र रोजगारमूलक बनाउन आवश्यक छ । व्यावसायिक तथा प्राविधिक शिक्षालाई अनिवार्य बनाउनुपर्ने देखिन्छ ।
अहिलेसम्म नेपालको सन्दर्भमा सरकारले त्यतातिर ध्यान दिन नसक्नुको कारण पनि शैक्षिक बेरोजगारी बढ्न पुगेको हो । नेपालमा उत्पादनमूलक तथा सेवा क्षेत्रमा लगानी बढाएर रोजगारी सिर्जना गर्नुपर्छ । निजी क्षेत्रलाई प्रवर्द्धन गरी उद्योग खोल्ने वातावरण बनाउनुपर्छ ।
युवाहरूलाई व्यवसाय संचालन गर्न आवश्यक ऋण, तालिम, तथा नीति समर्थन दिनुपर्छ । स्वरोजगार तथा स्टार्टअप संस्कृति विकास गर्न सरकारले सहुलियतपूर्ण कार्यक्रम ल्याउनुपर्छ । विशेषगरी डिजिटल मार्केटिङ, फ्रिलान्सिङ र सूचना प्रविधि क्षेत्रमा रोजगारी सिर्जना गर्न युवाहरूलाई तालिम दिनुपर्छ, जसमा सरकार र निजी क्षेत्रबीच सहकार्य गरेर रोजगारी सिर्जना गर्नुपर्छ । सरकारले नीति तथा कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ ।
निष्कर्ष
नेपालमा शैक्षिक बेरोजगारी गम्भीर समस्या बनिरहेको छ । शिक्षा प्रणाली सुधार, उद्योग प्रवर्द्धन, स्वरोजगारको अवसर सिर्जना र प्रविधिमा आधारित रोजगारीको अवसर बढाएर मात्र यो समस्याको दीर्घकालीन समाधान हुन सक्छ । यदि यस्ता उपायहरू कार्यान्वयन गरिएमा शिक्षित युवाहरूले उपयुक्त रोजगारी पाउने छन्, देशको आर्थिक वृद्धिमा सकारात्मक प्रभाव पर्ने छ र नेपाललाई आत्मनिर्भर बनाउने दिशामा महत्त्वपूर्ण पाइला चाल्न सकिने छ ।