–खेमराज सुवेदी
धेरै श्रमिकहरू आफ्नो कार्यस्थलमा ‘अफ द क्लक’ काम गर्न बाध्य छन् । हाजिरी कार्ड ‘पन्च आउट’ गरी बाहिरिँदै गर्दा पनि कतिपय सन्दर्भमा रोजगारदाताले केही बहाना बनाएर थप काममा लगाउने गरेको पाइन्छ । यद्यपि, यसरी थप काम लगाउँदै गर्दा थप पारिश्रमिक भने दिइएको पाइँदैन । तर, यस्ता घटना धेरै श्रमिकहरूले बाध्यकारी रूपमा भोगिरहेका हुन्छन् ।
‘कार्ड पन्च गर्नुअघि वा पछि’ विभिन्न बहानामा श्रमिकहरूलाई काम लगाएर उक्त अवधिको ज्याला नदिने तरिका विभिन्न देशका मालिकहरूले अपनाउने गरेका छन् । यो पनि एउटा श्रमिकको शोषण गर्ने आधुनिक शैली हो ।
यो अपराधले श्रमिकको अर्थ व्यवस्था छिन्नभिन्न पार्नुका साथै मानसिक र भौतिक स्वास्थ्यमा ठूलो असर पुर्याउँछ । यस कार्यले धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा स्थापित भएका श्रमका मापदण्डहरूको उल्लंघन गर्ने कार्यसमेत गर्छ । गरिएको कामको ज्याला नपाउँदा श्रमिकको ज्याला प्राप्तिको अधिकारको हनन हुन्छ । यसले व्यक्ति, परिवार र समग्र समाजलाई नै प्रभावित पार्छ ।
बिनाभुक्तानीको श्रमले कामदारको श्रमको मूल्य शून्यमा झर्छ, जसले उनीहरूको प्रतिघण्टाको कमाइलाई घटाउँछ र काम गरेबापतको उचित पारिश्रमिक पाउने सिद्धान्तलाई नै कमजोर बनाउँछ । यस्तो अवस्था लामो समयसम्म रहँदा आर्थिक असुरक्षा बढ्दै जान्छ र आम्दानीमा हुने श्रमिक र मालिकबीचको असमानताको खाडल झनै फराकिलो हुन पुग्छ ।
कानुनी अभ्यास र उल्लेखनीय मुद्दाहरू
संयुक्त राज्य अमेरिकामा, फेयर लेबर स्ट्यान्डर्ड एक्टले स्पष्ट रूपमा कार्य समयबाहिरको काम (अफ द क्लक)लाई निषेध गरेको छ । एन्डरसनविरुद्ध माउन्ट क्लेमेन्स पटरी कम्पनी (१९४६) को ऐतिहासिक मुद्दाले श्रमिकले कार्य अगाडि गरिएको कामको तयारी तथा काम समापनपश्चात्का क्रियाकलापहरूको समेत तलब दिनुपर्ने सिद्धान्त स्थापित गरेको छ ।
यो सिद्धान्तलाई आईबीपी इन्कविरुद्ध अल्भारेज (२००५) मा अझ सुदृढ गरिएको छ, उक्त मुद्दामा अदालतले, काम गर्ने क्षेत्र परिवर्तन गर्दा लाग्ने समय तथा सुरक्षासँग सम्बन्धित उपकरणहरू लगाउँदा लाग्ने समयको समेत ज्याला श्रमिकले पाउनुपर्ने भन्दै निर्णय गरेको छ ।
सन् २०२० मा वालमार्टले कर्मचारीहरूलाई बिनाक्षतिपूर्ति खाना ब्रेकमा काम गर्न लगाएको दाबीको समाधानका लागि २० मिलियन डलर भुक्तानी गर्न सहमत भयो । सन् २०२० मा वालमार्टले कर्मचारीहरूलाई लन्च ब्रेकको समयमा बिनापारिश्रमिक काम लगाएबापतको मुद्दामा २० मिलियन डलर तिर्न सहमत भएको थियो ।
त्यसैगरी, म्याकडोनाल्ड्सले अमेरिकाका धेरै राज्यहरूमा कर्मचारीहरूलाई ‘क्लक आउट’ गरेपछि होटेलहरू सफा गर्न र बन्द गर्न लगाएको आरोपमा क्यालिफोर्नियामा मात्र २६ मिलियन डलरभन्दा बढी रकम श्रमिकलाई तिर्नुपरेको थियो ।
अन्तर्राष्ट्रिय श्रम संगठनका मापदण्डहरू
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले काम गर्ने समय र क्षतिपूर्तिका सम्बन्धमा नियमहरू विभिन्न कन्भेन्सनमार्फत स्थापित गरेको छ । कन्भेन्सन नं. १ (काम गर्ने समयसँग सम्बन्धित सम्मेलन, १९१९) यो आईएलओको पहिलो सम्मेलन थियो, जसले दैनिक ८ घण्टा र हप्तामा ४८ घण्टाको कार्य सिद्धान्तको नियम स्थापित गरेको थियो । कन्भेन्सन नं. ३० (काम गर्ने समयसँग सम्बन्धित सम्मेलन, १९३०)ले यी नियमहरूलाई व्यापारिक तथा औद्योगिक प्रतिष्ठानका कार्यालयहरूमा विस्तार गर्यो ।
कन्भेन्सन नं. ९५ (ज्यालासँग सम्बन्धित सम्मेलन, १९४९)ले विशेष रूपमा नियमित ज्याला भुक्तानीसम्बन्धी नियमको व्यवस्था गरेको छ । यस्ता सम्मेलनमा बनाइएका नियमहरूले श्रमिकहरूलाई थप शोषित हुनबाट संरक्षण गर्ने कार्य गर्छन् । यसले कामदारहरूलाई काम गर्ने परिस्थितिबाट अलग गराउँदा हुन आउने समस्याहरूबाट श्रमिकलाई संरक्षण गरिनुपर्ने व्यवस्था गरेको छ । विशेष गरेर श्रमिकलाई असुरक्षित परिस्थितिमा पारिश्रमिक नदिई दबाब दिएर काम लगाउँदा श्रमिकले काम छाडेको परिस्थितिको सम्बन्धमा कन्भेन्सन नं. १५५ ले विशेष सुरक्षायुक्त नियमको व्यवस्था गरेको छ ।
‘अफ द क्लक’सम्बन्धी अन्तर्राष्ट्रिय मुद्दाहरू
‘अफ द क्लक’का कारण पारिश्रमिक नपाइने घटना विश्वव्यापी रूपमा फैलिएको छ । यही मुद्दाका कारण जापानमा ‘कारोशी’ भन्ने शब्दको उत्पत्ति भएको थियो । १०० घण्टाभन्दा बढी गरिएको कामको भुक्तानी नपाइएका कारण २४ वर्षीया मात्सुरी ताकाहासीले आत्महत्या गरेपछि जापानको संसद्ले सन् २०१८ मा श्रम कानुनमा व्यापक सुधार गर्नुपरेको थियो ।
अस्ट्रेलियामा सन् २०१९–२०२० को वुलवथ्र्सको मुद्दामा ‘अफ द क्लक’ कार्यका कारण कम्पनीले हजारौं कामदारहरूलाई लगभग ३०० मिलियन डलर कम भुक्तानी गरेको स्वीकार गरेपछि अस्ट्रेलियाका धेरै राज्यहरूमा महत्त्वपूर्ण कानुनी सुधारहरू ल्याइएको थियो ।
दार्शनिक दृष्टिकोणहरू
‘अफ द क्लक’अन्तर्गत लगाइने कामको सन्दर्भलाई विभिन्न दार्शनिकहरूले गहिरो अध्ययन गरेका छन् । माक्र्सले यसलाई श्रमिक शोषणको मूल रूप मानेका छन्, जहाँ कामदारलाई उनीहरूको श्रमको पूर्ण मूल्यबाट बञ्चित गरिन्छ । एलिजाबेथ एन्डरसनले यसलाई ‘समयभन्दा बाहिरको काम एक प्रकारको निजी अत्याचार हो, जसमा रोजगारदाताले कामदारको जीवनम(ाथि अनुचित नियन्त्रण राख्छन्’ भनेकी छन् ।
जोन रल्सको न्यायको सिद्धान्तअनुसार यो प्रथा निष्पक्षता र पारस्परिकताको सिद्धान्तविपरीत छ । त्यसैगरी, पिटर सिंगरले ‘यस्तो कामले कामदारमा तनाव बढाउने, पारिवारिक जीवनमा असर पार्ने र सामाजिक संरचनालाई कमजोर बनाउने गर्छ, जसको फाइदा मालिक र शेयरधनीहरूलाई मात्र हुन्छ’ भन्ने अवधारणा व्यक्त गरेका छन् ।
निष्कर्ष
‘अफ द क्लक’अन्तर्गतको कार्यले कानुनी र नैतिक मूल्य, मान्यताहरूको गम्भीर उल्लंघन गर्छ । यस्तो कार्य अन्तर्राष्ट्रिय श्रम कानुन र राष्ट्रिय कानुनहरूको मात्र होइन, मानवीय गरिमा र सामाजिक न्यायको पनि विपरीत छ । प्रत्येक श्रमिकको पारिवारिक जीवन, स्वास्थ्य र व्यक्तिगत विकासको अधिकारलाई सम्मान गर्नु रोजगारदाताको मूल दायित्व हो ।
आजको प्रतिस्पर्धात्मक युगमा पनि मानवीय मूल्य र मान्यताहरूलाई मानव स्वयंले बिर्सन हुँदैन । श्रमिकको श्रम र समयको उचित मूल्यांकन गर्नु सभ्य समाजको पहिचान हो । विश्वमा भएको डिजिटल प्रविधिको विकासले श्रमिकको श्रमको समयको सटीक अभिलेख राख्न सजिलो बनाएको छ ।
यसैगरी, श्रम अधिकारप्रतिको बढ्दो चेतनाले पनि यस्तो शोषणकारी प्रथा घट्दै जाने आशा जगाएको छ । तर, यो परिवर्तनका लागि कानुन र नियम मात्र पर्याप्त छैनन् । यसका लागि श्रमिक र रोजगारदाताबीच सम्मानपूर्ण सम्बन्ध, श्रमिकको योगदानको उचित मूल्यांकन गर्ने संस्कृति, सामूहिक सौदाबाजीको अधिकारको सम्मान, पारदर्शी र न्यायोचित श्रम व्यवस्थापन, श्रमिकको व्यक्तिगत तथा पारिवारिक जीवनको सम्मान जस्ता सामाजिक मूल्य, मान्यताहरूको विकास हुन आवश्यक छ ।
साथै, नियामक निकायको प्रभावकारी अनुगमन, सशक्त श्रमिक संगठन र समाजमा श्रमको सम्मान गर्ने संस्कृतिको विकास पनि उत्तिकै जरुरी छ । यसरी मात्र हामी एक न्यायपूर्ण र मर्यादित श्रमिकमैत्री वातावरण निर्माण गर्न सक्छौं ।