–खगेन्द्र पौडेल
जलवायु परिवर्तन अहिले विश्वव्यापी चिन्ताको विषय बनेको छ । औद्योगिकीकरण, बढ्दो कार्बन उत्सर्जन र वातावरणीय असन्तुलनका कारण पृथ्वीको तापक्रम निरन्तर बढ्दै गइरहेको छ । यसको असर संसारभर देखिए पनि नेपाल जस्तो भौगोलिक रूपमा संवेदनशील मुलुकमा प्रभाव झनै गहिरो छ ।
हिमालय क्षेत्रमा अवस्थित नेपाल जलवायु परिवर्तनका कारण तीव्र गतिमा असर परिरहेको मुलुक हो । यहाँका हिमनदीहरू पग्लिरहेका छन्, जसले नदी प्रणालीमा दीर्घकालीन असर पार्न सक्छ । गंगा, ब्रह्मपुत्र र सिन्धु नदी प्रणालीका लागि पानीको स्रोत मानिने हिमालयमा तापक्रम वृद्धिसँगै हिउँ पग्लने क्रम तीव्र भएको छ । यसले बाढी, पहिरो र जलस्रोतको अस्थिरता जस्ता समस्या निम्त्याएको छ ।
नेपालको मौसम प्रणालीमा पनि जलवायु परिवर्तनका कारण ठूलो परिवर्तन देखिएको छ । गर्मीको समयमा असामान्य तापक्रम वृद्धि, वर्षा प्रणालीको अनियमितता, अनावृष्टि र अतिवृष्टि जस्ता घटनाहरू बारम्बार दोहोरिन थालेका छन् । कतिपय क्षेत्रमा वर्षा अत्यधिक भएर बाढीको जोखिम बढेको छ भने कतिपय ठाउँमा खडेरीले खेती प्रभावित बनाएको छ । यसले खाद्य सुरक्षामा गम्भीर असर पारेको छ । जलवायु परिवर्तनको प्रत्यक्ष असर कृषि प्रणालीमा देखिएको छ ।
नेपाल कृषिप्रधान देश हो, जहाँ अधिकांश जनसंख्या कृषि व्यवसायमा निर्भर छ । मौसम चक्र परिवर्तन भएसँगै खेतीयोग्य जमिनमा उब्जनी क्षमतामा गिरावट आएको छ । अनियमित मौसमका कारण धान, मकै, गहुँ, जौलगायतका अन्नबालीहरूको उत्पादन प्रभावित भएको छ । उब्जनीमा आएको गिरावटले कृषकहरूको जीविकोपार्जनमा कठिनाइ सिर्जना गरेको छ, जसले गरिबीलाई अझ बढावा दिन सक्छ ।
वन तथा जैविक विविधता पनि जलवायु परिवर्तनको प्रत्यक्ष प्रभावमा परेका छन् । नेपालमा पाइने वनस्पति तथा वन्यजन्तुहरूको अस्तित्व खतरामा पर्दै गएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा पाइने केही प्रजातिहरू बिस्तारै विलुप्त हुने अवस्थामा पुगेका छन् ।
तापक्रम वृद्धिका कारण वनस्पति तथा जनावरहरूको प्राकृतिक बासस्थान प्रभावित भई जैविक विविधता असन्तुलित हुने खतरा बढेको छ । जलवायु परिवर्तनको अर्को गम्भीर असर स्वास्थ्य क्षेत्रमा परेको छ । असन्तुलित मौसमका कारण मौसमी रोगहरू बढिरहेका छन् । गर्मीमा अत्यधिक तापक्रमले स्वास्थ्य समस्याहरू निम्त्याउँछ भने चिसो मौसममा निमोनिया, रुघाखोकी तथा अन्य श्वासप्रश्वाससम्बन्धी रोगहरू बढ्ने गरेका छन् । झाडापखाला, मलेरिया, डेंगी जस्ता रोगहरूको प्रकोप पनि बढ्न थालेको छ ।
नेपालले जलवायु परिवर्तनको असर न्यून गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रयास गरिरहेको छ । सौर्य तथा जलविद्युत् जस्ता नवीकरणीय ऊर्जा स्रोतहरूको प्रवद्र्धन, हरित वन संरक्षण तथा वातावरणमैत्री कृषि प्रविधिहरूको प्रयोग जस्ता उपाय अपनाइएका छन् । अन्तर्राष्ट्रिय सहयोगमार्फत हरित कोष तथा जलवायु परिवर्तन न्यूनीकरण कार्यक्रमहरू संचालन गरिएका छन् ।
तर, जलवायु परिवर्तनको प्रभावलाई प्रभावकारी रूपमा न्यूनीकरण गर्न अझ व्यापक रणनीति र दीर्घकालीन योजनाहरू आवश्यक छन् । स्थानीय स्तरमा सचेतना अभिवृद्धि, वैज्ञानिक तथा वातावरणमैत्री प्रविधिको उपयोग र समुदायको सहभागितामा आधारित वातावरण संरक्षण कार्यक्रमहरूले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सकिन्छ ।
नेपाल जस्तो जलवायु संवेदनशील मुलुकका लागि दिगो वातावरणीय नीति अवलम्बन गर्नु अपरिहार्य छ । जलवायु परिवर्तनलाई रोक्ने तथा अनुकूलन रणनीति अवलम्बन गर्न सके मात्र नेपालले यसका प्रतिकूल असरहरू न्यूनीकरण गर्दै दिगो विकास हासिल गर्न सक्छ ।