काठमाडौं : यसै वर्षको १ मार्च अर्थात् १७ फागुन । आफ्नो ९३औं जन्मदिन समारोहमा उनी सहभागी भए । आफैंले आफ्नो उपन्यास ‘ब्रह्मपुत्रको छेउछाउ’को नयाँ संस्करणको विमोचन पनि गरे । तर, जन्मदिन मनाएको १३औं दिनमै विलुप्त भए उनी ।
त्यही दिन उनले आगन्तुकहरूसँग भनेका पनि थिए, ‘म अब धेरै बाँच्दिनँ होला ।’ उनले भनेको कुरा १३औं दिनमा सत्य भयो ।
शारीरिक रूपमा कमजोर भए पनि आफ्नो कालजयी उपन्यास ‘बसाइँ’ सन् १९५८ मा प्रकाशित हुँदाको प्रसंग सुनाउँदा उनी अझै तेज रहेको छनक दिएका थिए । तर, प्रकृतिलाई भने त्यो स्वीकार्य थिएन ।
कालजयी उपन्यास ‘बसाइँ’का लेखक लिलबहादुर क्षेत्रीको बिहीबार राति भारतको गोवाहटीमा ९२ वर्षमा निधन भएको छ ।
१ मार्च १९३३ मा भारत गुवाहटी टकौबारीको पुलिस रिजर्भमा जन्मिएका क्षेत्री नेपाली साहित्यका प्रदीप्त नक्षत्रका रूपमा नेपाल र भारतमा स्थापित छन् । उनका २ श्रीमती, २ छोरा, २ बुहारी र ४ जना नाति–नातिना छन् ।
असममा जन्म भएर सिलाङमा बाल्यकाल बिताएका क्षेत्री हिन्दी, बंगला, नेपाली र अंग्रेजी भाषामा पोख्त थिए । उनले गुवाहटी विश्वविद्यालयबाट अर्थनीतिमा स्नातकोत्तर गरेर गुवाहटीकै आर्य विद्यापीठ कलेजमा अध्यापन गरे । माध्यमिक विद्यालयमै पढ्दादेखि साहित्य साधनामा लागेका क्षेत्रीको पहिलो प्रकाशित कविता ‘शिवस्तुति’ हो, जुन उनले १६ वर्षको उमेरमा लेखेका थिए ।
कालजयी ‘बसाइँ’
उनको उपन्यास ‘बसाइँ’ कम्तीमा पनि २ पुस्ताका नेपालीलाई कण्ठ जस्तै छ ।
‘बसाइँ’ उपन्यास क्षेत्रीले २४ वर्षको उमेरमा सन् १९५७ मा प्रकाशन गरेका थिए । पूर्वोत्तर भारतको पहिलो उपन्यास ‘बसाइँ’ नेपाली आख्यान साहित्यमा सम्भवतः सर्वाधिक लोकप्रिय हो ।
यो उपन्यास त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रममा समावेश छ । क्षेत्रीका पुर्खा पनि अन्य हजारौं नेपाली जस्तै पूर्वी पहाडी जिल्लाबाट भारतको असम बसाइँ गएका थिए । त्यसै पृष्ठभूमिमा यो उपन्यासको सृजना उनले गरेका हुन् ।
७० वर्षअघि लेखिएको बसाइँ आज पनि नेपाली साहित्यको अमर कृति हो । यस उपन्यासले तत्कालीन नेपाली समाजको जर्जर वर्गीय द्वन्द्व र आर्थिक विषमताले निम्त्याएको संकटलाई प्रभावकारी ढंगले चित्रण गरेको छ ।
नेपालीको बसाइँ जाने क्रम अझै टुटेको छैन । ७ दशकअघिको पृष्ठभूमिमा लेखिएको ‘बसाइँ’ अहिले पनि नेपाली परिवेशका लागि उत्तिकै सान्दर्भिक छ ।
‘बसाइँ’ अंग्रेजीमा पनि अनुवाद भएको छ । उपन्यास प्रकाशनको ५०औं वर्ष पुगेको अवसरमा सन् २००८ मा यस उपन्यासको अनुवाद युनिभर्सिटी अफ लन्डनको ‘स्कुल अफ अफ्रिकन एन्ड एसियन स्टडिज’ (सोआस)का प्रोफेसर डा. माइकल जे. हटले गरेका छन् ।
साझा प्रकाशनबाट प्रकाशन गरी सन् १९५७ मा ‘बसाइँ’लाई बजारमा ल्याइएको हो । यो उपन्यास ‘मुना–मदन’पछि सबैभन्दा बढी विक्री हुने नेपाली साहित्यिक पुस्तक हो ।
क्षेत्रीको दोस्रो उपन्यास ‘अतृप्त’ (१९६७) पूर्वोत्तर भारतको पहिलो मनोवैज्ञानिक उपन्यास हो । क्षेत्रीको तेस्रो उपन्यास ‘ब्रह्मपुत्रको छेउछाउ’ एक आञ्चलिकतावादी उपन्यास हो ।
पूर्वोत्तर भारतबाट साहित्य अकादमी पुरस्कार प्राप्त गर्ने उनी पहिलो नेपाली साहित्यकार पनि हुन् । क्षेत्रीको चौथो तथा अन्तिम उपन्यास ‘प्रतिध्वनिहरू विस्मृतिका’ (२००४) हो । यो उनका पिता प्रेमबहादुर क्षेत्रीको जीवनमा आधारित जीवनीपरक उपन्यास हो ।
क्षेत्रीका ४ वटै उपन्यासको विषय, प्रवृत्ति, भाषाशैली भिन्नाभिन्नै प्रकृतिको छ । उनी आख्यानकारका रूपमा सधैं चर्चित रहे ।
उनले ‘तीन दशक : बीस अभिव्यक्ति’ (१९८३), ‘लीलबहादुरका कथाहरू’ (१९९३) र ‘छरिएको बिस्कुन’ (२०१६) शीर्षक कथा प्रकाशित गरेर नेपाली आख्यान साहित्यमा थप योगदान पुर्याएका छन् ।
‘दिल नफुक्ने गाँठो’ शीर्षकको उनको अर्को एउटा कथा संकलन सन् २०१३ डा. खगेन शर्मा र एकदेव अधिकारीको सम्पादनमा प्रकाशन भएको छ । यसमा उनका २९ वटा कथा संकलित छन् । ‘बसाइँ’ उपन्यास लेख्नुभन्दा ८ वर्षअघि नै क्षेत्रीले कथालेखन थालेका थिए ।
सामाजिक यथार्थवादको झलक
क्षेत्रीका कथाहरू सामाजिक यथार्थवादको सेरोफेरोमा रचिएका छन् । केही कथाहरू स्वच्छन्दतावाद र आदर्शवादका बाछिटाले भिजेका छन् ।
समालोचकहरू उनलाई कथात्मक शैलीका निबन्धकारको संज्ञा दिन्छन् । ‘उनले धेरैजसो निबन्धमा आफैंले देखेको, भोगेको र अनुभव गरेको विषयवस्तुलाई इमान्दारीपूर्वक प्रस्तुत गरेको देखिन्छ’, असमका लेखक डा. गोपाल भण्डारी भन्छन् ।
क्षेत्रीका निबन्धहरू खोज, अनुसन्धानमूलक, ऐतिहासिक तथ्यपरक, जातीय समस्यामूलक, भाषा, साहित्य तथा संस्कृति विषयक र नियात्रापरक रहेका उनको धारणा छ ।
क्षेत्रीले असमको नेपाली नाटक र एकांकीको विकासका लागि पनि धेरै काम गरेका छन् । उनी आफू पनि एक कलाकार तथा नाटक निर्देशक थिए । अल इन्डिया रेडियोको गुवाहटी केन्द्रमा कार्यरत रहँदा उनले रेडियो रूपकहरूको लेखन र प्रसारण गरेका थिए ।
सम्मान र पुरस्कार
७ दशक लामो साहित्य यात्रामा क्षेत्रीले धेरै सम्मान र पुरस्कार प्राप्त गरेका छन् । सन् २०२१ मा भारतको प्रतिष्ठित पद्मश्री पुरस्कारबाट सम्मानित भइसकेका छन् । यो पुरस्कार पाउने उनी पूर्वोत्तर भारतका पहिला गोर्खाली हुन् ।
सन् १९८३ मा नेपाली साहित्य सम्मेलन दार्जिलिङले ‘दियालो पुरस्कार’ प्रदान गरेपछि उनले सम्मान र पुरस्कारका लागि पर्खी बस्न परेन । सन् १९८५ मा पश्चिम बंगाल राज्य सरकारले प्रदान गर्ने ‘भानु’ पुरस्कार प्राप्त गरे र एउटै कृति ‘ब्रह्मपुत्रको छेउछाउ’ उपन्यास सन् १९८७ मा साहित्य अकादमी पुरस्कार प्राप्त गर्न सफल बन्यो ।
सन् २०१६ मा जगदम्बाश्री सम्मान पाउँदा उनले भनेका थिए, ‘हाम्रा पुर्खाले नेपाल छाडेर पुस्तौंदेखि नेपालबाहिरै बसोबास गरिरहेका छन् । तर, हाम्रा लागि नेपाली भाषा, साहित्य र नेपाली संस्कृति अमूल्य छ ।’
प्रकाशित कृतिहरू
बसाइँ
ब्रह्मपुत्रको छेउछाउ
प्रतिध्वनिहरू विस्मृतिका
अतीत
असममा नेपाली भाषाको साह्रोगाह्रो
दोबाटो
तीन दशक : बीस अभिव्यक्ति
लिलबहादुर क्षेत्रीका कथाहरू