–खिमराज गिरी
प्रधानमन्त्री भएका बखत बीपी कोइराला समय–समयमा भारत जाने गर्थे । नेपाल–भारत सम्बन्धमा दोधारे नीति भएका भनिए तापनि राष्ट्रियताको मामलामा तत्कालीन कम्युनिस्ट पार्टीका महासचिव केशरजंग रायमाझीसँग मिलेर राष्ट्रहितका लागि विदेश नीति तय गर्थे भनिएको छ ।
इन्दिरा गान्धीले राजा महेन्द्रलाई ‘नेपाल भारतमा विलय गराऊ, म तिमीलाई सत्ताका लागि सदैव सहयोग गर्छु’ भन्दा राजा महेन्द्रले ‘उसो भए देशको नाम नेपाल राखौं’ भनेकाले पनि राष्ट्रियताको मामलामा पहिलेका राजा तथा नेताहरूको दूरदर्शिता झल्किन्छ ।
पछि आएर केही नेताहरूमा नेपालमा क्रान्तिकारी अनि दिल्ली गएपछि आज्ञाकारी हुने रोगले सताउन थाल्यो । मातृभूमिका लागि अहोरात्र ज्यानको बाजी राखेर खटिने कम्युनिस्ट योद्धाहरू पनि पछि सम्पत्तिको लोभमा फँसी कम्युनिस्टको खास्टो ओढेर हिँडेदेखि हर्दीसम्मको व्यापारमा खासादेखि ल्हासासम्म पुग्ने चरित्रका कारण नैतिक आचरणमा केही ह्रास आयो ।
तर, केही संघर्षशील कम्युनिस्ट नेताहरूले भने इमान्दारीको धरातलमा जीवनभर टेक्न खोजे तर जन्मेदेखि अहिलेसम्म सडककै बास छ । न तिनमा सम्पत्तिको आश छ, न त आफ्ना सन्ततिका लागि केही राहत छ । सडकदेखि सडकसम्म संघर्षको जिन्दगी गुजारे पनि लाभको पदमा भने नक्कली कम्युनिस्टहरूको नै हावी हुँदै आइरहेको प्रायः देखिन्छ ।
जुनसुकै पार्टीका इमान्दार नेताहरू भए तापनि अक्सर गद्दारको पदवीबाट पुरस्कृत हुने गरेका प्रशस्तै उदाहरणहरू छन् । नेपालमा क्षमतावान् नेताहरू प्रशस्तै जन्मिए, यसमा कतिले सपना देखे तर समय अनुकूल भएन अनि कतिले समय पाए तर सपनै देख्न सकेनन् ।
एकताका चीन र जापानको सम्बन्ध चिसिँदा टंकप्रसाद आचार्यले चीनको अनुरोधमा जापान गएर दुवै देशको सम्बन्धलाई सुलभ गराउन सफल भएकाले पनि उनी शान्ति दूतका रूपमा चिनिन्थे । करिब १४ भाषाका ज्ञाता मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भइसकेपछि पनि अमेरिकी राजदूतको रूपमा काम गरे ।
भनिन्छ, महात्मा गान्धीले आफ्नो जीवनकालमा कहिल्यै राम्रो लुगा लगाएनन् । नेदरल्यान्ड्सका प्रधानमन्त्री विदेश भ्रमणमा निँस्किदा एयरपोर्टमा चियाको कप पोखिँदा वाइपर लिएर आफैंले सफा गरेको उदाहरण भेटिन्छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति पद त्याग गरिसकेपछि पनि आफ्नो जीवन गुजारा गर्नका लागि एउटा रेस्टुरेन्टमा जागिर खाएका थिए ।
त्यस्तै, हाल चीनका राष्ट्रपति सी जिनपिङ राजनीतिक उच्च पद पाउनु अगाडि करिब ६ वर्षजति गाउँघरका किसानका खेतबारीमा अन्न उब्जाउने कार्यमा किसानसँग घुलमिल भएर परिश्रम गरी बिताएका थिए ।
नेपालकै कुरा गर्ने हो भने पनि पुष्पलाल श्रेष्ठ, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, सुशील कोइराला आदि सन्त नेताका रूपमा परिचित भए । न उनीहरूमा सम्पत्तिको लोभ र लालचले डेरा जमायो, न त जनतासँग टाढिए । यसका अलावा सदैव देश र जनताका लागि प्रजातान्त्रिक आन्दोलनमा निरंकुश शासनविरुद्ध आफ्नो ज्यानको बाजी राखी दिनरात खटिरहे ।
हुनत हालका प्रधानमन्त्री केपी ओलीको जिन्दगी पनि सामान्य रहेन । तत्कालीन व्यवस्थाविरुद्ध उभिँदा कहालीलाग्दो जेल जीवन बिताउन बाध्य भए, जसका कारण उनी निकै रोगी भइरहे ।
प्रधानमन्त्री बनेपछि ओली नेतृत्वमा भएका केही काम असाध्यै स्मरणयोग्य छन् । २०७२ सालको विनाशकारी भूकम्पपछि भारतले लगाएको नाकाबन्दीमा ओलीले डटेर भारतलाई पाठ सिकाएका थिए । उनकै नेतृत्वमा लिम्पियाधुरा, लिपुलेक तथा कालापानीको चुच्चे नक्सा बनाएर संसद्बाटै पारित भएको थियो, जुन भारतका लागि असाध्यै महँगो परेको देखिन्छ ।
नेपालमा पछिल्लो व्यवस्था परिवर्तनको मुख्य आधार माओवादीको नेतृत्वमा भएको १० वर्षे जनयुद्ध हो, जसको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए । यही आन्दोलनकै आधारलाई टेकेर मुलुक यहाँसम्म आइपुगेको हो । त्यो संघर्ष र बलिदानीको इतिहास सामान्य छैन । यद्यपि, त्यो गर्विलो इतिहास क्रमशः हराउँदै गएको छ ।
नेताहरू बिग्रिएका गुनासो जनताले गरेका छन् । नेताहरूले व्यवस्था बदल्यौं भने पनि जनताको अवस्थामा भने खास परिवर्तन आउन सकेको छैन । व्यवस्था परिर्वतनपछि पनि दैनिक हजारौं युवा विदेश पलायन हुन बाध्य भइरहेका छन् ।
पहिला राजा र राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू राणा शासनका विरुद्ध लडे, जनता फेरि राजाका विरुद्ध लडे, एक दलीय शासन व्यव्स्थाका विरुद्ध संघर्ष गरी नै रहे र त आज हामी यो अवस्थामा छौं । तैपनि, जनताले चाहेअनुसारको अवस्था परिवर्तन हुन सकेन । सँगै, व्यवस्थामाथि नै पनि निरन्तर प्रश्न उठ्ने अवस्था बनिरह्यो ।
हाल नेपाली कांग्रेस र नेकपा एमालेको सरकार छ । तर, जनताले उनीहरूलाई हेर्ने नजर पनि त्यति सहज रूपमा देख्न सकिने अवस्था छैन किनकि जबसम्म भ्रष्टाचारी चाहे आफ्नै किन नहोस्, त्यसलाई कारबाहीको दायरामा ल्याइँदैन, तबसम्म जनताले पत्याउन गाह्रो पर्छ ।
जब सत्ताको डाडु–पन्युँ आफ्नो हातमा हुँदा आफू, आफन्त र आफ्नाहरूलाई बढी रुचाइन्छ, तब जनताको विरोधको खाडल धेरै गहिरिएर जान्छ भन्ने कुराको हेक्का अहिले सरकार चलाइरहेका दलहरूले अनिवार्य रूपमा बुझ्नुपर्छ ।
सयौं वीर योद्धाहरूको बलिदानीबाट प्राप्त प्रजातन्त्र र गणतन्त्रको सायद धज्जी उडाएर नै हो, आज कथित राजाको नाममा ‘राजा आऊ, देश बचाऊ’ भन्ने नारा घन्काउन थालिएको छ । यसमा शासक वर्ग सजग रहनै पर्छ । गणतन्त्र र प्रजातन्त्र हामीले ल्याएका हौं भन्ने नेताहरू पनि सत्तामा हुँदा सबै हामीले गरेका हौं भन्ने र सत्ताबाहिर रहँदा कसरी सरकार ढल्ला र ढाल्न सकिएला भनि विदेशी गुहार्ने अनि सिद्धान्त नमिल्नेसँग पनि कुम जोड्ने तर कमसेकम देश विकासको खाकामा यसरी जाऔँ न भन्ने धारणा त भालुलाई पुराण सुनाएजस्तो हुने अनि कसरी देश विकास हुन्छ ?
नेपाल आजका दिनमा सियोदेखि मियोसम्म, सुनदेखि नुनसम्म विदेशबाट निर्लज्ज खरिद गर्न बाध्य छ । यो सबै नेताको भिजन र मिसनको कमीले गर्दा नै भएको मानिन्छ । तर, हामीले नेतालाई मात्र दोष दिएर उन्मुक्ति पाउन सक्दैनौं । हामीले कहिल्यै आफ्नो नैतिकताको मापदण्ड १ चिम्टी पनि पालना गरेनौं । एस. एल. सी. पास गर्नासाथ टेबुलटकको जागिर, प्लस टु गर्नासाथ विदेश पलायन, उपयोगी रूपमा प्रयोगमा आउने भनिएको जल, जमिन, जनावर, जडीबुटी तथा कृषिप्रति बेवास्ता आदि कारणले हाम्रो विकासले गति लिन सकेन ।
उता, उच्च शिक्षा अध्ययन अझै कागजी प्रक्रिया र व्यावहारिकभन्दा सैद्धान्तिक धरातलमा नै गाँठो परेर बसेको छ । अझै घोकेर, कण्ठ गरेर पानाका पाना भर्नुपर्ने बाध्यता छ भने प्रायः नेताको भिजन भने विदेशी गुलाम अनि त्यस्ता नेता तथा विद्वान्हरूको विद्वताले कहिले देश उँभो लाग्ने ?