२०८२ चैत ४ गते बुधवार / Mar 18 , 2026 , Wednesday
२०८२ चैत ४ गते बुधवार
Ads

घोडेजात्रा किन मनाइन्छ ?

shivam cement
विश्वनाथ खरेल
२०८२ चैत ४ गते ०६:००
Shares
घोडेजात्रा किन मनाइन्छ ?

हिन्दु संस्कृतिमा प्रत्येक तिथि, चाडपर्व र उत्सवको आफ्नै मौलिक विशेषता र महत्व हुन्छ । यसै सन्दर्भमा घोडेजात्रा, भोटोजात्रा, गाईजात्रा र इन्द्रजात्रा काठमाडौं उपत्यकाका ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक रूपमा महत्वपूर्ण पर्व हुन् । यी पर्व पौराणिक विश्वास, ऐतिहासिक पृष्ठभूमि र धार्मिक संस्कारसँग गहिरो रूपमा जोडिएका छन् । वर्षभरि मनाइने चाडपर्वमध्ये घोडेजात्रा पनि एक प्रमुख पर्वका रूपमा चिनिन्छ ।

नेपाल सांस्कृतिक रूपमा अत्यन्त समृद्ध देश हो । यहाँ प्रायः हरेक दिन कुनै न कुनै पर्व पर्ने गर्दछ । आफ्ना मौलिक परम्परा, संस्कार र संस्कृतिको संरक्षण तथा संवर्धन गर्नु प्रत्येक नेपालीको कर्तव्य हो । विशेषतः नेवार समुदायमा यो पर्व अत्यन्त उल्लासका साथ मनाइन्छ ।

घोडेजात्रा टुँडिखेलमा मनाइने भएकाले यसको सम्बन्ध त्यहाँसँग जोडिएका किंवदन्तीसँग पनि छ । यो केवल घोडाको दौड मात्र नभई धार्मिक तथा सांस्कृतिक विश्वाससँग गाँसिएको जात्रा हो । पिशाच चतुर्दशीको भोलिपल्ट पर्ने औंसी तिथिमा मनाइने यस पर्वमा तान्त्रिक मान्यताको प्रभाव देखिन्छ । घोडा दौडाएर पिशाच तथा दुष्ट आत्माहरू भगाइन्छ भन्ने विश्वास रहेको छ, जसलाई मल्लकालीन तान्त्रिक परम्परासँग पनि जोडेर हेर्न सकिन्छ ।

यो पर्व चैत्र कृष्ण औंसीका दिन पर्छ । यस दिन टुँडिखेलमा घोडा दौडाउने कार्यक्रमका साथै विभिन्न देवीदेवताका रथयात्रा पनि निकालिन्छन् । नेवार समुदायले यस दिन भगवान् शिवको विशेष पूजा–आराधना गर्ने गर्दछ । साथै नाचगान, बाजागाजा र परम्परागत वेशभूषाले वातावरण झन् उल्लासमय बनाउँछ ।

यस अवसरमा टुँडिखेलनजिकै अवस्थित लुकुवा महादेव -पिशाचेश्वर महादेव)को पूजा गर्ने परम्परा पनि छ । पिशाच चतुर्दशीका दिन देवतालाई बाहिर निकालेर स्नान गराइन्छ र सफा गरी मद्य, मासुलगायत तामसी भोग चढाइन्छ । यसमा लसुन र छ्यापीजस्ता परिकारहरू पनि प्रयोग गरिन्छन् । यससँग सम्बन्धित एउटा किंवदन्तीअनुसार घोडेजात्रापछि लसुन खान उपयुक्त हुँदैन भन्ने विश्वास पनि पाइन्छ ।

घोडाको महत्व प्राचीनकालदेखि नै विशेष रहँदै आएको छ । घोडा छिटो दौडिने, बलियो र उपयोगी जनावर भएकाले यातायात र युद्ध दुवैमा यसको प्रयोग हुन्थ्यो । वैदिक कालमा राजाहरूले आफ्नो शक्ति र प्रतिष्ठा प्रदर्शन गर्न अश्वमेध यज्ञ गर्ने परम्परा पनि थियो, जसमा घोडाको महत्वपूर्ण भूमिका रहन्थ्यो ।

पहिले घोडेजात्रा आजको जस्तो व्यवस्थित थिएन । तबेलाबाट घोडा ल्याई खुला रूपमा दौडाइन्थ्यो । त्यसबेला राजाहरू घोडामा चढेर भद्रकाली दर्शन गर्न जाने गर्थे । उनीहरूको पछिपछि दरबारका कर्मचारी तथा जनसमुदाय लाग्ने गथ्र्यो । यही परम्परा क्रमशः विकास हुँदै औपचारिक घोडेजात्राको रूपमा परिणत भएको मानिन्छ ।

समयसँगै यस पर्वमा विभिन्न आकर्षण थपिँदै गएका छन् । अहिले घोडा दौडका साथै मोटरसाइकल, साइकल तथा अन्य खेलकुद प्रतियोगिता आयोजना गरिन्छन् । सर्कस, सैनिक प्रदर्शन तथा हेलिकोप्टरबाट गरिने आकर्षक कार्यक्रम पनि लोकप्रिय बनेका छन् । यस अवसरमा सर्वसाधारणदेखि उच्चपदस्थ, राष्ट्रका विशिष्ट व्यक्तित्वहरू तथा विदेशी पाहुनासमेत सहभागी हुन्छन् ।

घोडेजात्राको सुरुआत राजा जयप्रकाश मल्लको पालामा भएको मानिन्छ । यो पर्व विशेषगरी काठमाडौं उपत्यकाका तीनै सहरमा धूमधामका साथ मनाइन्छ । यसदिन नेवार समुदायमा विवाह भएर गएकी चेलीबेटीलाई बोलाई भोज खुवाउने चलन पनि प्रचलित छ ।

समग्रमा घोडेजात्रा नेपाली समाजको एक महत्वपूर्ण सांस्कृतिक धरोहर हो । यसको धार्मिक पक्षसँगै सामाजिक महत्व अझ बढी देखिन्छ । यसले नेवार समुदायको कला, संस्कृति र परम्परालाई उजागर गर्ने महत्वपूर्ण माध्यमका रूपमा काम गर्दै आएको छ । साथै यस पर्वले पूर्वजप्रतिको कृतज्ञता र सांस्कृतिक पहिचानलाई जोगाइराख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

सम्बन्धित खबर