
भर्खरैको निर्वाचनमा नेकपा -एमाले) र नेपाली कम्युनिस्ट पार्टीले लज्जास्पद पराजय भोगेपछि केही मान्छेहरू नेपालमा वामपन्थीहरू पराजित भए भन्ने भाष्य निर्माणमा तल्लीन छन् । नांगो र सतही आँखाले हेर्दा उनीहरू गलत पनि होइनन् । किनकि, आफूलाई वामपन्थी भन्नेहरू र कम्युनिस्ट पार्टीकै झन्डा बोक्नेहरूकै हार भएको कुरा त साँच्चै हो । यस अर्थमा ती भाष्यकारहरूलाई ठुलो आलोचना गर्ने ठाउँ छैन । तथापि, यो साँच्चै वामपन्थी विचारधाराको आमअस्वीकृति हो वा वामपन्थी झन्डा बोक्ने केही मान्छेहरूको हार मात्र हो ? यस सन्दर्भमा राजनीतिकर्मी र समाजशास्त्रीहरूले विवेचना गर्नैपर्छ । यो व्यापक छलफलको विषय हो । छलफल र शास्त्रार्थले मात्रै पत्ता लगाउँछ कि ती वाम झन्डाधारीहरूले यो दुर्दिन कसरी बेहोरे ?
यस सन्दर्भमा सबैभन्दा पहिले वाम विचारधारा भनेको के हो ? कुरा यहाँबाट सुरु गर्नुपर्छ । वाम विचारधाराले मूल रूपमा सामाजिक समानता, सामूहिक कल्याण, सामाजिक सुरक्षा, कामदार वर्गको अधिकार, प्रगतिशील कर, निरन्तर प्रगतिशील परिवर्तन, निरन्तर संरचनात्मक परिवर्तन, शिक्षा र स्वास्थ्यमा सामाजिक लगानी, समृद्ध कृषि र उद्योग र त्यसमा आधारित विशाल रोजगारीजस्ता कुरा उठाउँछ । के भर्खरै सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनको परिणामले माथिका यी विषयवस्तुलाई नेपालमा लागू गर्न अस्वीकृत गरेको हो ? यदि होइन भने वाम विचार पराजित भएको निष्कर्ष निकालिहाल्नुहुँदैन ।
यदि वाम विचार पराजित भएको होइन भन्ने निष्कर्ष निकाल्ने हो भने अब प्रश्न उठ्छ, त्यसो भए सूर्य र तारा चिह्नधारीहरू को थिए ? जो नराम्रोसँग धुलिसात् भएर हारे । तिनीहरूको छेउमै हँसिया–हथौडा झन्डा पनि थियो । नेपालका गौरवशाली वाम इतिहासको कुरा पनि गर्दै थिए । नाम र झन्डा पनि त्यही नै बोकेर आएका थिए । बेलाबेलामा पुष्पलाल र मदन भण्डारीका कुरा पनि गर्थे । यी प्रश्नहरूको उत्तरचाहिँ जटिल छ । खास छलफल गर्न पर्ने विषय पनि यही हो । आममान्छेहरू पनि यहीँनेर आएर झुक्किएका छन् ।
नेपालका सन्दर्भमा वाम विचारको प्रमुख मुद्दा भनेको समृद्ध कृषि र व्यापक रोजगारी उत्पन्न गर्ने औद्योगीकरण थियो । यो मुद्दा नेपालको हित र विकाससँग जोडिएको मात्र होइन, यो त विश्व पुँजीवादसँग जुध्ने विचारधारात्मक लडाइँ र कर्म पनि हो । आजको विश्व पुँजीवादले हाम्रोजस्तो अल्पविकसित मुलुकको कृषि र उद्योगलाई ध्वस्त नबनाई वैदेशिक रोजगारीका नाममा सस्तो श्रमशक्ति प्राप्त गर्न नै सक्दैन । त्यसैकारण उनीहरू नेपालको कृषि र उद्योगको सन्दर्भमा यसलाई ध्वस्त बनाउन नीतिगत तहमै हस्तक्षेप गर्छन् । त्यो हस्तक्षेपका विरुद्धमा सूर्य र ताराहरूले प्रतिवाद गरे/गरेनन् । त्यसकारण त नेपालको कृषि र उद्योग ध्वस्त भयो । प्रमुख यी दुई क्षेत्रको भयानक ध्वस्ततामै लाखौं युवाहरू बेरोजगार भए । विश्व पुँजीवादले वैदेशिक रोजगारीका नाममा ढोक्सो थापेर हाम्रा लाखौं बेरोजगार युवाहरूलाई विदेशमा पुर्यायो । आफूलाई वामपन्थी भन्ने सूर्य र ताराहरूले यो सन्दर्भमा वाम विचार त्यागे । त्यसकारण त उनीहरूले आज यो हविगत बेहोर्न पर्यो ।
त्यसबाहेक वाम विचारको अर्को मुद्दा भनेको शिक्षा र स्वास्थ्य हुनुपर्दथ्यो । शिक्षा र स्वास्थ्य व्यापार गर्ने र नाफा आर्जन गर्ने क्षेत्र होइनन् भनेर सूर्य र ताराहरूले कहिल्यै भनेनन् अथवा सरकारमा रहँदा यसतर्फ काम गरेनन् । आजको पुँजीवाद भन्छ, …पैसा छ पढ, पैसा छैन नपढ । पैसा छ, औषधि उपचार गरेर बाँच, पैसा छैन अकालमा मरÚ । यो पुँजीवादी विचारलाई परास्त गर्न सूर्य–ताराहरू लागे ? लागेनन् । अर्थात् उनीहरूले यो सन्दर्भमा पनि वाम विचार त्यागे ।
कम्युनिस्ट कर्मको अर्को क्षेत्र थियो, सामूहिकता । सहकारी अभियान कसरी ध्वस्त भयो ? मान्छेहरू रातारात धनी हुने प्रक्रिया कसरी बढ्यो ? हरेक क्षेत्रमा बिचौलियाहरू कसरी हाबी भए ? कृषि कर्म गर्नेहरू दिन–प्रतिदिन कसरी गरिब भए ? उद्योग मात्र गर्ने इमानदार उद्योगपतिहरू कसरी दिवालिया हुँदै छन् ? कार, मोटरसाइकल, जग्गा र घर खरिदमा ऋण लगानी गर्न उत्साहित हुने वित्तीय संस्थाहरू कृषि र उद्योगमा लगानी किन हिच्किचाउँछन् ? यस्ता अनेकौं वाम विचारका प्रश्नहरूमा वामपन्थी भनिने पार्टीहरू आज पनि चुप छन् । अर्थात् यी वाम प्रश्नहरूमा सूर्य र ताराको सरोकार थिएन ।
कम्युनिस्टहरूको सिद्धान्त भनेको यसका अभियन्ता र सिंगो समाजलाई विस्तारै सामूहिकीकरणतर्फ लैजानु थियो । सामाजिक समानता र सामूहिक कल्याण वामपन्थीहरूको गन्तव्य हो । तर नेपालमा जति वामपन्थी मतदाताहरू बढे, जति यिनीहरूले सरकार चलाउँदै गए, त्यति नै मात्रामा धनी र गरिबबीचको खाडल बढ्दै गयो । सुशासन र भ्रष्टाचार रोक्न कम्युनिस्ट सरकारहरू असफल भएका मात्र होइनन्, उनीहरू आफैं लिप्त भए । मान्छेले सहजै थाहा पाउनेगरी वामपन्थी नेताहरूको घर गाडी र विलासी जिन्दगी अत्यन्त डरलाग्दोगरी प्रदर्शन भयो ।
राज्य, समाज र सरकार मात्र होइन, वाम पार्टी सञ्चालनको विधि त झन् घिनलाग्दो थियो । पार्टी संरचनाहरूमा समाजवादको भ्रूण देखापर्नुपर्ने ठाउँमा यो त झन् एउटा कर्पोरेट हाउसजस्तो बन्दै गयो । कर्पोरेट हाउसमा समेत कुनै न कुनै विधि अवलम्बन गरिएको हुन्छ । तर यहाँ त प्रमुख नेताहरूको हुकुमी शासन चल्न थाल्यो । पछिल्लो कालखण्डमा त पार्टीहरूभित्र तर्क र तथ्य पूरै समाप्त भएको थियो । पार्टीहरूको संरचनामा दासहरू र राज्यको संरचनामा बिचौलियाहरू हाबी भएपछि अनि घन्टी बज्दैन ?
कम्युनिस्टहरूको अर्को मुख्य काम भनेको समाजभित्रको विद्रोही चेतनालाई संगठित गर्नु हो । समाजको गतिशीलता र निरन्तर प्रगतिका लागि निरन्तर विद्रोही चेत आवश्यकता पर्दछ । तर नेपालको हकमा भने समाजमा उत्पन्न भएको विद्रोही चेतलाई नयाँ पार्टी रास्वपाले संगठित गर्यो । रास्वपाले परिवर्तनको कुरा गर्यो, उनीहरूले अव्यवस्था र भ्रष्ट्राचारको कुरा गरे, नयाँ र पुरानाको कुरा निकाले । तर आफूलाई वाम ठान्ने सूर्य र ताराहरूले विगतमा आफूले गरेको विद्रोह र परिवर्तनका कुरा उठाए । धरहरा र रानीपोखरी बनाएको कुरा गरे । नियम, कानुन र संविधानको बयान गरे । 'जे छ राम्रो छ' भन्ने कुरा सूर्य र ताराहरूले उठाइरहँदा 'जे भइरहेको छ, पर्याप्त छैन, परिवर्तन जरुरी छ' भन्ने कुरा रास्वपाले उठाइदिँदा समाजको निरन्तर प्रगतिको सिद्धान्त बोकेका वामपन्थी भनिनेहरू यथास्थितिवादीजस्तो मुद्दाविहीन र सिद्धान्तविहीन रास्वपा प्रगतिशीलजस्तो देखियो । परिवर्तनको मुद्दालाई वामपन्थी भनिनेहरूले नछाडेको भए रास्वपाजस्तो पार्टीले समाजको विद्रोही मत पाउन सक्थ्यो ?
सारमा कुरा के हो भने सूर्य र ताराहरूको पराजय वामपन्थी विचारको पराजय होइन । उनीहरू कुनै वेलाका परिवर्तनकामी वामपन्थीहरू नै हुन् । जहिलेसम्म उनीहरू वामपन्थी विचारप्रति प्रतिबद्ध थिए, जनताको माया पाइरहे । जब विचार छाडे, जनमतले पनि उनीहरूलाई छाड्यो । ती पार्टीहरूमा आजको समस्या केपी र प्रचण्ड मात्र होइन, समस्या नीतिमा छ, कार्यक्रममा छ, व्यवहारमा छ, शैलीमा छ, सांगठनिक संरचनामा रहेकाहरूको दासतामा छ । ती पार्टीहरूमा आज पनि हजारौंको संख्यामा इमानदार वामपन्थीहरू छन् । के तिनीहरूले यी पार्टीहरूलाई पुनः वामपन्थी बाटोमा फर्काउन सक्लान् ? आजको यक्ष प्रश्न यही हो । यिनीहरूले नसके पनि इतिहास रोकिँदैन । मानव जाति रहेसम्म वामपन्थ पराजित हुँदैन, यो नयाँ ढंगले अघि बढिरहन्छ, समाजको नेतृत्व गरिरहन्छ ।
(अर्याल, नेकपा (संयुक्त)का नेता हुन् ।)