२०८२ चैत ११ गते बुधवार / Mar 25 , 2026 , Wednesday
२०८२ चैत ११ गते बुधवार
Ads

उदाहरणीय सरस्वती

himalayanlife
ललित बोहरा
२०८१ चैत १४ गते ०७:०४
Shares
उदाहरणीय सरस्वती

बैतडी : घरपरिवार भनेपछि सबैको मानसपटलमा आउँछन्– श्रीमान्–श्रीमती, छोरा–छोरी, अझ बाजे–बजैदेखि नाति–नातिनासम्मका पुस्ता ।

तर, बैतडीकी सरस्वती भट्टका लागि यीमध्ये कुनै पनि घरपरिवारका सदस्य आफूसँग छैनन् । पारिवारिक घर बस्तीको बीच गाउँमा उनको बासस्थान छ । २०१४ सालमा बैतडी जिल्ला तत्कालीन पञ्चेश्वर गाविसमा जन्मेकी सरस्वतीका लागि एक्लो कर्मघर पञ्चेश्वर गाउँपालिका– ६ बिजुल बनेको छ ।

छोरा–छोरीलाई जन्म दिन नसक्ने डाक्टरको सुझावपछि उनका श्रीमान्ले अर्को विवाह गरे । अर्को विवाह गरेपछि सरस्वतीले बिजुल छाडिन् र माइतीघरमा बस्न थालिन् । विवाह गरेर अन्माएकी छोरीले १० वर्ष बढी माइतीको आँगनमा बिताउनुपर्ने बाध्यता आयो ।
बिस्तारै श्रीमान्ले सौतालाई भारत काम गर्ने ठाउँतिरै लगेपछि उनी फेरि बाँझो घर सम्हाल्न पुगिन् । सौता भारतमै घर जग्गा किनेर बसेपछि उनलाई एक्लै त्यो घरमा बस्नुपर्ने भयो । त्यो समय श्रीमान्सहित सौताका छोराहरू कुलपूजाका लागि आउने–जाने गरेका थिए ।

उनलाई मेरो परिवार छ भन्ने लाग्थ्यो । पछिल्ला १० वर्षयता जब उनका श्रीमान्ले संसार छाडे, उनका लागि त्यो घरमा बाख्रा नै परिवारका सदस्य बन्ने । बिजुल गाउँकै सबैभन्दा बढी बाख्रा पाल्ने कृषक हुन् सरस्वती ।

अहिले उनको परम्परागत खोरमा २८ बाख्रा छन् । बाख्रा उनको जीवन जिउने सहारा बनेका छन् । वार्षिक १ देखि २ लाखसम्म उनले खसी–बोका विक्री गरेर आम्दानी गर्ने गरेकी छन् । तर, आम्दानी गरेर राम्रो खाना पस्किने बेला खुसी साट्ने कोही नहुँदा उनी भक्कानिन्छिन् ।

उनले भनिन्, ‘कहिलेकाहीँ खाना पकाएर नखाई सुत्छु । आफ्ना केही छोरा–छोरी भए मीठो मसिनो खुवाउँथें ।’
एकल भत्ता पाउने सरस्वतीलाई मागेर खानुपर्ने तथा उधारो खानुपर्ने बाध्यता छैन । परिश्रम गरेर खान एक्लै पनि सकिन्छ भन्ने उदाहरण बीच गाउँकी सरस्वती भएकी छन् । अलि ठूलो स्वरमा बोल्ने उनले भत्ताबाहेक आफूलाई सरकारको केही नचाहिने पनि बताइन् ।

हुन पनि उनलाई लोभ लालच केका लागि ? साँझ–बिहान राम्रो खाना खानसमेत उनलार्ई बाख्रा विक्रीबाटै पुग्छ । बाख्रा मात्र होइन, उनले एउटा दुहुनो भैंसी र एउटा गाई पनि पालेकी छन् ।

परिवार छैन भन्ने तनाबभन्दा बढी बाख्रा कुन जंगलमा लैजाने, गाई–भैंसीलाई के खुवाउने ? भन्ने पीर लागेर उनी काममै व्यस्त हुन्छिन् । त्यसले पनि उनको ज्यान ६८ वर्षमा पनि ५०–५५ कै देखिन्छ ।

गाउँका सरकारी कर्मचारी तथा विद्यालय शिक्षकले समेत बाख्रा अनुदानमा पाउँदा एकल महिला भट्टलाई कुनै चासो थिएन । उनले भनिन्, ‘सरकारको मलाई केही चाहिँदैन, आफैं गरेर खान्छु बरु बाख्रा बिरामी भएका समय हेरिदिने गर्नुस् भनिदिनु होला ।’
हात–खुट्टा चलेसम्म काम नछाड्ने बताउने उनले सबैलाई मागी खानुभन्दा गरी खानु राम्रो भएको सुझाव दिइन् । उनले यसो  भन्दा सँगै रहेका पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले आफ्नी भतिजी नाता पर्ने सरस्वतीको मिहिनेत र दुःखसँग २० वर्षदेखि नै परिचत रहेको बताए ।

उनले सरस्वतीको दुःखमा साथ दिन पञ्चेश्वर सरकार तयार रहेको बताए । उनले भने, ‘म छोरीलाई पहिलेदेखि नै चिन्छु । उतै मेरा गाउँमा माइतीघर हो । उनको समस्यासँग परिचित छु । के सकिन्छ उनलाई सहयोग गर्छु ।’

बाख्रा बिरामी हुँदा पञ्चेश्वर गाउँपालिकाले पशु प्राविधिक टिमसहित उनको घर नजिकै पशु स्वास्थ्य शिविर राखेको थियो । सरस्वतीका ७ बाख्रासहित बिजुल गाउँका ५८ बाख्रा पीपीआर रोगका कारण मरेका छन् । गाउँमा रोग फैलिएको सूचना दिने भट्ट नै थिइन् ।
 

ताजा खबर

सम्बन्धित खबर