२०८२ चैत १० गते मङ्गलवार / Mar 24 , 2026 , Tuesday
२०८२ चैत १० गते मङ्गलवार
Ads

चैती छठ व्रतअन्तर्गत आज दोस्रो दिन खरना पर्व मनाइँदै

himalayanlife
२०८१ चैत २० गते ०८:५८
Shares
चैती छठ व्रतअन्तर्गत आज दोस्रो दिन खरना पर्व मनाइँदै

जलेश्वर : सूर्य उपासनाको चार दिने महापर्व चैती छठ व्रतअन्तर्गत आज दोस्रो दिन खरना पर्व मनाइँदै छ ।

धार्मिक विधिपूर्वक सम्पूर्ण मिथिलाञ्चलमा मंगलबारदेखि सुरु भएको चैती छठ पर्वको आज दोस्रो दिन साँझपख मिथिलाको घरघरमा कूल देवताको पूजा गर्दै भगवान् सूर्य देवता र छठी मातालाई छठ पर्व स्वीकार गर्नका लागि आगमनको निम्तो दिएर खरना पर्व मनाउन लागिएको जलेश्वर नगरपालिका–१ स्थित जलेश्वरनाथ महादेव मन्दिरका सहायक पूजारी कामेश्वर पाठकले बताए ।

खर्नाका दिन मिथिलानी व्रतालुहरु दिनभरि निर्जल एवं निराहार उपबास बसेर साँझपख घर घरमा खीर, पूरी, लरु (लड्डु), केरा, तुलसीको पातको प्रसाद तयार गरी कूल देवताको पूजा गरेर सूर्य भगवान् र छठी मातालाई चैती छठ पर्वको निमन्त्रण दिनुका साथै प्रसाद (नेउज) चढाउने चलन रहेको जलेश्वर ८ की व्रतालु महिला सुमिन्त्रा देवीले बताए ।

यस दिनमा व्रतालु महिला खरना पर्व मनाइसकेपछि राति आफूले भने अरवा अरबाईन (विना नुन हालेको) खानेकुरा मात्रै खाने गर्दछन् । जसमा खीर, पुरी, केरालगायत वस्तुहरू समावेश हुन्छ । 

चार दिनसम्म विभिन्न विधिहरू गर्दै मनाइने चैती छठ पर्व मिथिलाञ्चलको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत भारतीय भूभागमा पर्ने सम्पूर्ण मिथिलाञ्चलभरि धुमधामका साथ चलिरहेको छ ।

सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको जलेश्वर–५ का संस्कृतिविद् ध्रुव रायले बताए । पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने चैती छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलासयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ ।

पर्वको पहिलो दिन मंगलबार व्रतीहरुले नहा खा अर्थात् नुहाएर खाने अर्थात् जीऊ चोख्याउने काम गरेका थिए भने पर्वको दोस्रो दिन आज बुधबार खर्ना मनाइरहेका छन् । त्यस्तै षष्ठी एवं चैती छठ पर्वको मुख्य दिन बिहीबार साँझ गहुँ र चामल ओखल, जातो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पिठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरीया, पेरुकिया जस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नांगलो, कोनिया, सरवा, ढाकन, माटोको हाति, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्नेछन् ।

षष्ठीका दिन व्रतीहरुले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षेता फूल हालेर अन्य अर्घ सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्घ अर्पण गर्नेछन् ।

त्यस्तै सप्तमीका दिन शुक्रबार बिहान पुनः छठ घाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोर्‍याई उदाउँदो सूर्यलाई अर्घ दिई चैती छठ पर्व सम्पन्न गर्ने चलन छ । 

पौराणिक अथाअनुसार द्रौपदीसहित पाण्डवहरु अज्ञातवासमा रहँदा उक्त गुप्तावास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डवहरु मिथिलाको किरात राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोक कथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

सूर्य पुराणअनुसार सर्वप्रथम पत्नी अनुसुईयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र परिप्रेम प्राप्त गरिन र त्यही बेलादेखि छठ गर्ने परम्पराको सुरुवात भएको मानिन्छ । धार्मिक आस्थाका साथसाथै सामाजिक सद्भावको रूपमा विकसित छठ पर्व हिन्दुको सँगसँगै मुस्लिमले पनि मनाउने गर्छन् । यस पर्वमा चढाइने पदार्थको सङ्ख्या ७० पुर्‍याउनुपर्छ तर चढाउने सामर्थ्य नभएकाहरू गम्हरी धानको चामल मात्र चढाए पनि देउता प्रसन्न हुने जनविश्वास  छ ।

ताजा खबर

सम्बन्धित खबर