-हरिबोल काफ्ले
अर्थ राजनीतिक वातावरणमा केही परिवर्तन देखापर्नु वा उच्च तरलताहरू कायम रहनु पनि नेपाल र भारतको बुलिश प्रवृत्तिका समान कारणहरू लाग्छन् । अमेरिकामा भर्खरै सम्पन्न राष्ट्रपतिको निर्वाचनमा जोए बाइडेन विजय भएपछि त्यहाँ नयाँ परिस्थिति बनेको छ । कोभिड–१९ बाट समग्र अर्थतन्त्रमा ठूलो जोखिम आएपछि त्यसबाट उन्मुक्ति पाउने योजनाहरूप्रति मतदाताहरू जोए बाइडेनसँग आशावादी देखिए । त्यससँगै कोभिड–१९ को विरुद्धमा नयाँ खोपको विकासको सफलताले लगानीकर्तामा नयाँ ऊर्जा थपिएको महसुस भयो ।
गत वर्ष कोभिड–१९ महामारीको घोषणासँगै विश्व बजारमा लगानीका लागि उपलब्ध विभिन्न भौतिक र अभौतिक उपकरणहरूको मूल्यमा तीव्र असन्तुलन देखापरेको थियो । विशेषगरी कोभिड–१९ पछि कच्चा तेल र सेयर बजारको मूल्यमा तीव्र गिरावट आएको थियो । त्यसको ठीक विपरीत सुन, चाँदी, तामालगायत बहुमूल्य धातुहरू र मुद्रासहित बहुराष्ट्रिय बन्डहरूमा मूल्य अस्वाभाविक वृद्धि भएको थियो । कच्चा तेलको मूल्य विश्व बजारमा पहिलो पटक गत अप्रिलमा ऋणात्मक बनेको थियो ।
त्यसैगरी सन् २०१८ पछि क्रमिक रूपमा बढ्न थालेको सुनको मूल्यले कोभिड–१९ को महामारीसँगै नयाँ रेकर्डसमेत बनाएको थियो । तर, अब जोखिमपछिको प्रवृत्तिले नयाँ दिशा लिने अनुमान गरिँदै आएको छ । विश्वभरको सेयर बजारमा अहिलेको उच्च रेकर्डमा धेरै समानता देखिन थालेका छन् । कोभिड–१९ महामारी घोषणापछि प्रमुख अर्थतन्त्र मुलुकहरूको सेयर बजारमा आएको गिरावटको सिलसिलमा करीब २ महीनासम्म चलेको थियो । तर, त्यो समयमा एशियाका केही मुलुकहरू चीन, सिंगापुर, अस्ट्रलिया भने अपवादमा देखिएका थिए ।
बियरिस प्रवृत्तिको लहर एशिया, यूरोप हुँदै अमेरिकी गोलार्धसम्मका अधिकांश मुलुकको सेयर बजारको मूल्य र सूचकहरूमा गिरावट आएको थियो । समग्र विश्वको सेयर बजारमा ३ महिनामा औसत ३५ प्रतिशतको गिरावट देखियो भने अप्रिल २०२० पछि बजार क्रमशः बुलिश लयमा फर्कियो । चीन, सिंगापुर, अस्ट्रलियालगायत मुलुकहरूमा कोभिड–१९ को असर न्यून रहेकाले त्यहाँको बजार खासै प्रभावित बनेको थिएन । अन्य ठूला अर्थतन्त्र भएका मुलुकहरूमा भने अप्रिल २०२० को बुलिश प्रवृत्तिसँगै सेयर बजारको संरचनामा पनि विश्वव्यापी रूपमा परिवर्तनहरू देखा पर्यो । बजारको अंशमा परम्परागत उपकरणहरूको मागमा धेरै ह्रास आएको थियो भने प्रविधिमा आधारित भएका उपकरणहरूको पुँजीकरणको अंशमा उल्लेख्य वृद्धि भयो ।
अमेजन, क्लोरक्स, जुम भिडियो, नेटप्लिक्स, अलिबाबादेखि पे–पलजस्ता कम्पनीहरूमा लगानीकर्ता आकर्षित भए भने पुराना कम्पनीहरूको वर्चस्व खोसियो । नेपालमा पनि ठीक त्यही शैलीमा कोभिड–१९ पछि सेयर बजारको संरचना, प्रविधिको प्रयोग, माग र आपूर्तिको स्वरूपलगायत विषयहरूमा परिवर्तन आएको देखिन्छ । नेपालको पनि यस पटकको बुलिश प्रवृत्तिमा परम्परागत रूपमा अगाडि लागेका कम्पनीहरू विशेषतः बैंकहरूको वर्चस्व विस्थापित भएको छ र प्रविधिको प्रयोग र पँहुचमा पनि व्यापक वृद्धि भएको छ ।
विश्वभर सेयर बजारका लगानीकर्ताहरू छिटो नाफा लिएर वा थप नोक्सान नबेहोर्ने मनसायले बजारमा उत्रनु स्वाभाविक हो । सेयर बजारको लगानी कच्चा तेल वा सुनको जस्तो प्रकृतिको जोखिमयुक्त अवस्था आउँदैन । लगानीकर्ताले जुन अपेक्षाले बजारमा आएका हुन्छन्, त्यसमा उनीहरूले लक्ष्य तय गरिसकेका हुन्छन् । तसर्थ कोभिड–१९ बाट उनीहरूले बजारमा धेरै नोक्सानी नहुने अनुमान गरिसकेका थिए ।
कोभिड–१९ ले आर्थिक संकट बोहेरे पनि ठूला र स्थापित कम्पनीहरू विस्थापनमा नपुग्ने निष्कर्षका कारण छोटो समयमा लगानीकर्ताहरू पुनः पुँजी बजारमा फर्किएका छन् । साथै कम्पनीहरूको नाफामा समेत धेरै गिरावट नदेखिएकाले सम्भावित प्रतिफलमा प्राप्त गर्नेमा उनीहरू ढुक्क हुन पुगे । बढीभन्दा बढी नाफा लिने उद्देश्यले उनीहरूको प्राथमिकता वा रोजाइमा भने धेरै फरक परेकोे देखिन्छ । यसले विश्वभरको बजारको संरचना र बजारको आकर्षण केही हदसम्म परिवर्तन गर्नमा सहज बन्यो ।
कोभिडको कारण कोभिड–१९ को महामारीपछि विश्व नै एकअर्थमा डिजिटलाइज भएको छ । यो समय बजारका संरचना परिष्कृत बन्दै पूर्णतः प्रविधिमा निर्भर हुन थालेका छन् । प्रविधिको प्रयोगले कम्पनीहरूको नाफामा समेत सुधार आएको छ, भने अपेक्षाकृत नोक्सानी कोभिड–१९ बाट नपर्ने विश्वासमा लगानीकर्ताहरू ढुक्क हुन पुगे । अन्ततः विश्वभरको सेयरमा थप नयाँ उत्साहहरू थपियो ।
नेपालको सेयर बजार र विश्व बजारको सन्दर्भलाई सीमित अर्थमा मात्र तुलनायोग्य गर्न सकिने अवस्था छ । तर पनि अहिलेको बुलिश लयमा धेरै सतही कारणहरूमा समानता देखिन्छ । यद्यपि यो समय नेपाल र भारतको सेयर सूचकले एक साथ उच्च तहको रेकर्ड अंक बनाए पनि अन्य दक्षिण एशियाली बजारमा भने नयाँ उत्साह देखिएको छैन । अमेरिकाको निर्वाचन र भारतसँगको सम्बन्धमा जोए बाइडेनले झन् महत्त्व दिने भारतको अपेक्षाले त्यहाँ उत्साह बढेको अनुमान गर्न सकिन्छ । यससँगै अपेक्षाअनुसार त्यहाँ अक्टोबरमा प्रकाशित हुने कम्पनीहरूको दोस्रो त्रैमासिक विवरणमा विभिन्न कम्पनीहरूको नाफा उल्लेख्य बढेको प्रतिवेदनहरू सार्वजनिक भएको छ ।
त्यसैगरी गत त्रैमासिक अवधिमा चीनको उत्पादकत्व वृद्धिमा उल्लेख्य गिरावट आउनु नै भारतका लागि उत्साहको विषय रहेको पाइन्छ । भारतीय लगानीकर्ताहरूले चीनको अर्थतन्त्र, बजारको आकार र संरचना, विश्व बजारमा चीनको प्रभुत्व र उसको निर्णयहरूलगायत विषयलाई गहिरो ढंगले विश्लेषण गर्ने गरेका छन् । चीनमा लगानी वा उत्पादकत्वमा ह्रास आएमा भारतको लगानीदेखि उत्पादकत्व र बजारको विस्तारसमेत बढ्ने अपेक्षा गरिन्छ । त्यसबाहेक विहारको विधान सभाको निर्वाचनमा नितेश कुमारको पुनर्विजयले पनि त्यहाँको बजारमा केही उत्साहको तरंग दिएको थियो ।
विश्वभरका लगानीकर्ताका लागि कोभिड–१९ ले समग्र बजार संरचना बिथोलिदिएको छ । उनीहरूका लागि लगानी गर्न सीमित अवसरहरू प्राप्त छन् । अर्थ राजनीतिक वातावरणमा केही परिवर्तन देखापर्नु वा उच्च तरलताहरू कायम रहनु पनि नेपाल र भारतको बुलिश प्रवृत्तिका समान कारणहरू लाग्छन् । नेपालमा सेयरको रेकर्ड अंक बनाउँदै गर्दा बैंकहरूमा देखिने परम्परागत उत्साह विस्थापित भएको छ, भारतमा पनि उत्पादन क्षेत्रलाई पछि पारेर वित्तीय र प्रविधिमूलक कम्पनीहरू यो समय अगाडि लागेको देखिन्छ ।
भारतको बुलिश लयमा वैदेशिक संस्थागत लगानीकर्ताहरूको मागले महत्वपूर्ण भूमिका खेल्यो भने नेपालमा त्यो परिस्थिति निर्माण हुन सकेको छैन । केही समय अगाडि नेपाल धितोपत्र बोर्डले भेन्चर क्यापिटल, हेज फन्ड र प्राइभेट इक्विटी फन्डलाई व्यवस्थित गर्ने प्रयोजनार्थ विशिष्टीकृत लगानी कोष नियमावली सार्वजनिक गरेको थियो । त्यससँगै गैरआवासीय नेपाली र स्वदेशी तथा विदेशी नयाँ संस्थागत लगानीकर्ताहरू पुँजी बजारमा प्रवेशका लागि सहजीकरण गर्ने विषयहरू समेत बहसमा आएका थिए । तर, त्यो विषय कार्यान्वयनमा आएको छैन भने भारतीय बजारमा त्यसको प्रयोग धेरै अगाडि भइसकेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies