-गोविन्द चापागाईं
हाम्रो देश नेपाल भौगोलिक दृष्टिकोणले गर्दा अरू मुलुकको तुलनामा निकै सानो देश हो । १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर क्षेत्रफल र हिमाल, पहाड र तराई गरी तीन भागमा बाँडिएको हाम्रो मुलुक प्रकृतिक स्रोत र साधनले भरिपूर्ण छ । अटुट रूपले बग्ने यहाँका खोलानाला, मनोरम प्राकृतिक हिमश्रृङ्खलाहरू तथा अनगिन्ती रूखबिरुवाका साथै प्रचुर मात्रामा जडीबुटीहरू भएको हाम्रो मुलुक यति सुन्दर छ कि प्राकृतिक स्रोत र साधनले धनी छ ।
तर, मुलुकमा इतिहासकालदेखि राजनीतिक उथलपुथलका कारण हाम्रो मुलुक विकास–निर्माणमा धेरै पछि पर्दै गयो । इतिहासको घटनाक्रमलाई लिएर हेर्ने हो भने बाइसे, चौबीसे राज्यमा विभाजित हाम्रो मुलुकलाई शाहवंशीय राजा पृथ्वीनारायण शाहले छरिएर रहेका सबै राज्यहरूलाई एकीकरण गरी एउटै मुलुक बनाए, नेपाल ।
पृथ्वीनारायण शाहले एकीकरण गर्दा पश्चिम किल्ला काँगडादेखि पूर्वमा टिस्टासम्म फैलिएको हाम्रो नेपाली भू–भाग बर्सेनि हाम्रा छिमेकी राष्ट्र दक्षिणमा भारत र उत्तरमा चीनले मिचिरहेको प्रस्ट देखिइरहेको अवस्था छ । विशेष गरी दक्षिणमा भारतसँग जोडिएको खुला नेपाली भूभागमा रहेको हजारौं हेक्टर जमिनमा सिमानाको चिनारीका रूपमा सांकेतिक पिलर मात्र राखिएको छ । कुन आधारमा नेपाली भूमि कति हो ? कहाँदेखि कहाँसम्म नेपाली जनताले जमिनको भोगचलन गर्न पाउने ? तर, दुःखद विडम्बना के छ भने हाम्रो नेपाली मूलमा रहेको जङ्गे पिलर रातारात उखेलेर भारतीय पक्षले सारेर लान्छन् । यो कस्तो विडम्बना ? यहाँसम्म कि नेपालका तराई प्रदेश जहाँ दशगजा भन्ने ठाउँमा रातारात भारतीय सेनाले नेपाली भूमि मिचेको प्रस्ट देखिन्छ । हामी नेपालीले आफ्नो भूमि फिर्ता पाऊँ भनेर प्रतिकार गर्न खोज्दा भारतीयको ज्यादतीले गोली चलाउने, नेपालीलाई यातना दिने, नेपालको सुरक्षाकर्मी घटना घटेपछि मात्र सम्बन्धित ठाउँमा जाने, यस्तो पनि हुन्छ ?
उता भारत र पाकिस्तानमा आफ्नो भूमि रक्षा गर्नका लागि सुरक्षा तारबार लगाइन्छ । सुरक्षा नीतिका हिसाबले भारतीय सेना र पाकिस्तानी सेनाले चौबीसै घण्टा सुरक्षा दिइरहेका देखिन्छन् । आफ्नो भूमि रक्षा गर्नका लागि भारत–पाकिस्तानको बर्सेनि कुनै न कुनै कारण द्वन्द्व भएकै देखिन्छ भने हाम्रो यति सानो मुलुकमा हाम्रो नेपाली भूमिको सुरक्षा गर्नु त कता हो कता, एउटा काँडे तारजालीसमेत लगाएको छैन । अनि किन नमिचोस् त भारतीय पक्षले हाम्रो भूमि ? उदाहरणका लागि गत वर्ष मात्र हाम्रो भूमि भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो कब्जामा लिएको थियो । चौतर्फी नागरिक आन्दोलनपछि नेपाल सरकारले नक्सामा त आफ्नो भूमि सच्चायो, तर भौतिक रूपमा के भारतसँग समन्वय गरेर आफ्नो भूमिमा नेपाल सरकारले गुमेको भूमि फिर्ता लिन सकेको छ त ? आमनेपालीहरूलाई प्रश्नको कुरा यो छ ।
ती ठाउँमा सुरक्षाको प्रबन्ध कस्तो मिलाइएको छ ? नेपाली जनताले त्यहाँ भूमिको तिरो तिरेको रसिद बक्यौदा रहेको छ । के तिनीहरूले अझै पनि ढुक्कले आफ्नो भूमिमा खनजोत गर्न पाएका छन् त ? आफ्नो भूमि सुरक्षाका लागि नेपाल सरकारले वर्तमान परिस्थितिमा के–कस्तो गृहकार्य गरिरहेको छ त ? तर यो सबै वास्तविक रूपमा गएर राजनीतिक दलका नेता तथा कार्यकर्ता माइतीघरमा आफ्नो पद र प्रतिष्ठाका लागि आन्दोलन गर्नुको सट्टा ती गुमेको भूमि फिर्ता पाउनका लागि त्यस ठाउँमा गएर संघर्ष गर्नुपर्छ । हाम्रो राष्ट्रको स्वाधीन र अखण्डताको रक्षा गर्नुपर्छ । नेपाल आमाको रक्षा गर्नुपर्छ । गुमेको भूमिप्रति भारत सरकारसँग बसेर छलफल अगाडि बढाउनुपर्छ । सुरक्षा निकायहरूसँग परामर्श लिनुपर्छ । तर बिडम्बना यो छ कि पछिल्लो राजनीतिक घटनाक्रमलाई हेर्ने हो भने योजति लाजमर्दो र घिनलाग्दो राजनीति हाम्रो मुलुकमा बाहेक कहीँकतै देखिँदैन र सुनिँदैन पनि ।
३४ वर्षमा चारचोटि संविधानसभा विघटन भएको छ । २०६२/०६३ कोे जनआन्दोलनमा जनताले २ सय २७ वर्षे लामो इतिहास बोकेको राजतन्त्रको समाप्त गरे । जंगल पसेका माओवादीसँग सहकार्य गर्दै तत्कालीन स्व. प्रधनमन्त्री गिरिजाप्रसाद कोइरालाले माओवादी नेता पुष्पकमल दाहालसँग १२ बुँदे शान्ति सम्झौता गरी मुलुक गणतान्त्रिक मुलुक बन्यो । नयाँ संविभानन बनाउने नाममा धेरै पटक सरकार फेरबदल भए । कहिले ६ महिने सरकार हुन्थ्यो त कहिले ९ महिने । नयाँ संविधान भने यी राजनीतिक दलहरूले ल्याउनै चाहेका थिएनन् । जताततै राजनीति दलभित्र रहेको गुटबन्दीको हाबीले गर्दा आलोपालो मात्र सरकार गठन भई सरकार ढाल्ने र गिराउने चलखेलले गर्दा मुलुकमा पटक–पटक द्वन्द्वहरूको सामना गर्नुपथ्र्यो ।
मुलुक अस्थिरतातिर गइरहेको थियो । पटक–पटक बन्द, चक्काजामले गर्दा धेरै सर्वसाधारणहरूले दुःख पाएका थिए भने मुलुकको अर्थतन्त्रमा पनि नराम्रो संकुचन लागेको थियो । महँगी, कालोबजारी तथा लुटतन्त्रको मात्र सामना गर्नुपथ्र्याे ।
त्यसको धेरै समयपछि २०७२ साल असोज ३ गते आइतबार नयाँ संविधान जारी भयो । संविधान जारी हुँदा पनि धेरै राजनीतिक दलहरूले संविधानको मर्म सबैतिर नसमेटिएको भन्दै धेरै ठाउँमा संविधानको विरोध गरे । यसरी दिनहरू बित्दै गएका थिए । मुलुकमा स्थानीय निर्वाचन, केन्द्रीय निर्वाचन र प्रादेशिक निर्वाचन भयो । नेपाली जनताले ५ वर्षसम्म स्थायी सरकार गठन भयो । स्थानीय स्तरमा जनताले नयाँ सरकार पाए, तर त्यसको ठीक साढे २ वर्षपछि २०७७ साल पुुुस ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरे । यत्रो बहुमत प्राप्त सरकारले संसद् विघटन गरेको चौतर्फी आलोचना मात्र भएन, प्रधानमन्त्रीको पुत्ला जलाउनेदेखि लिएर चौतर्फी राजीनामाको माग भयो । विभिन्न राजनीतिक दलहरूले काठमाडौंको माईतीघरमा संसद् विघटनविरुद्ध विरोध प्रदर्शन गरे । कांग्रेसले मुलुकको विभिन्न ठाउँबाट विरोध प्रदर्शन ग(यो । नेकपाका नेताहरू पुष्पककमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायतका नेताहरूले छुट्टाछुट्टै विरोध प्रदर्शन गरे । यसरी मुलुकमा अहिले दिनानुदिन रूपमा संसद् विघटनविरुद्ध बिभिन्न राजनीतिक दलहरूले आन्दोलन गरिरहेको देख्न सकिन्छ ।
प्रमुख प्रतिपक्ष दललगायत नेकपाभित्रको गुट र नेतृत्वको भाग बन्डाको कारणले अहिले मुलुक अस्थिरतातिर गइरहेको छ । नेताहरूलाई देशको सीमाको मायाभन्दा पनि सत्ताको लोभले गर्दा भइरहेको सरकारलाई काम गर्न नदिई संसद् विघटन गर्नसमेत बाध्य तुल्याए । यसरी मुलुकमा फेरि राजनीतिक दलका नेताहरूले मुलुकमा द्वन्द्व सिर्जना गरी नेपाली जनतालाई दुःख दिन मात्र खोजिरहेको प्रस्ट देखिन्छ । तसर्थ फेरि पटकपटक गरी मुलुकमा राजनीतिक द्वन्द्व सिर्जना भएको देखिन्छ । गर्न सक्छौ भने आफ्नो मुलुकको अस्तित्व बचाउन भारत नेपाल सीमामा गएर आन्दोलन गर । ती गुमेका भूमिहरू प्राप्तिका लागि त्यस ठाउँमा गएर आन्दोलन गर । राजनीतिक स्वार्थका लागि आफ्नो सत्ताको लोभका लागि मुलुकमा विभिन्न नारामा आन्दोलनको राजनीति नगर ।
जबसम्म मुलुक रहन्छ तबसम्म हामी नेपाली भनेर गर्व गर्न सक्छौं । त्यसैले सत्ताको लोभमा परेर मुलुक कसैले चुँडिरहेको देख्न नपरोस् । हामीलाई सत्ता होइन, मुलुक बचाउनु ठूलो कुरा रहेको छ । त्यसैले सत्ताको लोभमा राजनीति नगरौं ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies