
पञ्चतन्त्रको प्रसिद्ध कथा ‘भारुण्ड पंक्षी’ आजको नेपालको राजनीतिक यथार्थसँग आश्चर्यजनक रूपमा मिल्दोजुल्दो देखिन्छ । कथाअनुसार, जङ्गलमा बस्ने भारुण्ड पक्षीका दुई टाउका थिए तर पेट भने एउटै । जे टाउकाले खाए पनि अन्ततः एउटै पेटमा पुग्थ्यो । एक दिन पहिलो टाउकोले मीठो फल भेट्यो । दोस्रो टाउकोले पनि खाने इच्छा व्यक्त ग¥यो, तर पहिलो टाउकोले भन्यो– ‘मैले खाए पनि तैले खाए पनि एउटै पेटमा जाने हो, बरु यो बाँकी फल हाम्रो प्रियतमालाई दिइदिउँ ।’ अन्ततः त्यो फल प्रियतमालाई दिइयो र उनले खुशी हुँदै पहिलो टाउकोलाई माया गरिन्, चुम्बन गरिन् । यही दृश्यले दोस्रो टाउकोको मन ईष्र्याले भरियो– ‘मलाई त माया दिइनन्’ भन्ने पीडाले उसलाई पोल्न थाल्यो । अर्को दिन आहाराको खोजीमा निस्कँदा दोस्रो टाउकोले बिष भेट्यो । रिस र ईष्र्याले उसले भन्न पुग्यो– ‘अब यो बिष म खान्छु ।’ पहिलो टाउकोले चेतावनी दियो– ‘त्यो बिष खायौ भने पेटमा पुगेर दुवै मर्छौँ ।’ तर दुस्साहस र अन्धो स्वार्थले भरिएको दोस्रो टाउकोले चेतावनी नमानेर बिष खाइदियो । परिणामस्वरूप दुवै टाउकाले ज्यान गुमाए । यो कथा गहिरो प्रतीक हो– विभाजन, ईर्ष्या र स्वार्थले साझा अस्तित्वलाई कसरी नष्ट गर्छ भन्ने गम्भीर चेतावनी ।
आजका नेपाली राजनीतिक दल पनि उस्तै भारुण्ड पंक्षीझैँ देखिन थालेका छन्– पेट एउटै तर टाउका धेरै । देश एउटै हो, जनता एउटै हुन्, तर नेताहरू आफ्नै–आफ्नै टाउकाबाट बिष खाँदैछन् । व्यक्तिगत स्वार्थ, अहंकार, वंशवाद र पदलोभले देशको साझा शरीरलाई कमजोर बनाइरहेको छ । परिणामस्वरूप जनता–देशकै वास्तविक पेट–दैनिक दबाब र निराशाले ग्रस्त छन् । यस्तो अवस्थाको सबैभन्दा स्पष्ट छायाँ अहिले नेपाली कांग्रेसभित्र प्रस्टसँग देखिन्छ ।
२०४८ सालदेखि सत्ताको स्वाद चाख्दै आएका नेताहरू यथास्थितिमा रमाइरहेका छन् । परिवर्तनको प्रसङ्ग उठाउनासाथ उनीहरू सहजै जवाफ दिन्छन्– ‘खान, बस्न, चल्न सबै भइरहेको छ, फेरि किन परिवर्तन चाहिन्छ ?’ जनताको आशा, युवा पुस्ताको सपना र देशको भविष्यभन्दा उनीहरूको प्राथमिकता सत्ता–सुविधा र पदमोहमा सीमित भएको स्पष्ट देखिन्छ । उखान छ, ‘जुन गोरूको सिङ छैन, उसको नाउँ तिखे ।’ आज कांग्रेसभित्रका केही नेताहरूमा यही उखान ठ्याक्कै मेल खान्छ । प्रत्यक्ष निर्वाचनमा कहिल्यै जित्न नसकेका, जनतासँगको धरातल गुमाइसकेका ती पात्रहरू सामाजिक सञ्जालमा र अन्तर्वार्तामा परिवर्तन विरोधी धारणा फैलाइरहेका छन् ।
तर समय फेरिएको छ । जेनेरेसन जेटले भदौ २३ र २४ को आन्दोलनमार्फत स्पष्ट सन्देश दिइसकेको छ– अबको राजनीति युवा नेतृत्वमा हुनुपर्छ । फागुन २१ को निर्वाचनले त्यो सन्देशलाई औपचारिक रूप दिनुपर्छ । यद्यपि कांग्रेसभित्र अझै दुई धार मजबुत छन्– एकातिर पुरानो सोचमा अडिएको समूह, अर्कोतिर परिवर्तनको पक्षमा उभिएको गगनकुमार थापा र विश्वप्रकाश शर्माको युवा नेतृत्व समूह । युवापक्षले पार्टीलाई नयाँ युगतर्फ लैजाने इच्छाशक्ति देखाइरहे पनि संस्थापन पक्ष महाधिवेशनलाई निरन्तर ढिलो गर्ने रणनीतिमा अडिग छ । ‘चुनावपछि हेर्छौँ’ भन्ने पुरानै बहाना दोहोरिरहेछ ।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको मागसहित हस्ताक्षर बुझाइसकेका छन्, तर संस्थापन पक्षले त्यसलाई समेत आलटाल गरेर रोकेजस्तो व्यवहार गरिरहेको छ । यसले स्पष्ट संकेत गर्छ– नेपाली राजनीति अझै पनि दुई टाउकाको भारुण्ड पंक्षीझैँ बिष खाइरहेको छ । सुधार र नेतृत्व हस्तान्तरण समयमै हुन सकेन भने, एक टाउकोको स्वार्थी निर्णयले जस्तै, देश नामक पेट नै जोखिममा पर्ने अवस्था बन्दै गएको छ ।
इतिहासले पनि यस्तो चेतावनी दिइसकेको छ– सिक्किम भारतमा विलय हुँदा लोण्डुप दोर्जे नामक पात्रले आफ्नो स्वार्थका लागि देश बेचिदिएको थियो । आज नेपालमा पनि त्यही मानसिकताका पात्रहरू जन्मिइरहेका त होइनन् ? त्यसैले लोकतन्त्रलाई सुदृढ बनाउने, देशलाई जोगाउने र नेपाली कांग्रेसलाई पुनर्जीवित गर्ने मार्ग अहिले युवा नेतृत्वतर्फ मोडिएको छ ।
गगनकुमार थापा र विश्वप्रकाश शर्माले देखाइरहेको नयाँ सोच, निडर दृष्टिकोण र पारदर्शी राजनीतिक प्रतिबद्धताले कांग्रेसलाई पुनः जनता– केन्द्रित, कार्यकर्तामुखी र लोकतान्त्रिक बनाउने आधार निर्माण गर्नसक्छ । अब मूल प्रश्न उठ्छ– के हामी पुरानै बिष पिउँदै पतनतर्फ जानेछौँ, कि नयाँ पुस्ताको नेतृत्व स्वीकार्दै स्वच्छ भविष्य रोज्नेछौँ ? यो क्षण देश र कांग्रेस दुवैलाई नयाँ युगमा पु¥याउने निर्णायक घडी हो । पुरानो पुस्ता थाकिसक्यो, नयाँ पुस्ता तातिएको छ । यदि यसपटक कांग्रेसले ‘नयाँ सोच, नयाँ पुस्ता, नयाँ विश्वास’ लिएर अघि बढ्न सक्यो भने– देश बच्छ, लोकतन्त्र बलियो बन्छ र कांग्रेस फेरि जनताको पहिलो विश्वास बन्नसक्छ ।