
काठमाडौं : नेकपा एमालेले ११औं महाधिवेशनमा विदेशी पाहुनालाई नबोलाउने भएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको महाधिवेशन मूल व्यवस्थापन सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले नेता महेश बर्तौलाले यसबारे जानकारी गराएका हुन् ।
उनकाअनुसार एमालेले भौतिक उपस्थिति हुनका लागि विदेशी राजनीतिक दलहरूलाई आमन्त्रण नगरिएको बरु विभिन्न देशका २६ वटा राजनीतिक दललाई शुभकामना पत्र पठाउन भनिएको छ । एमालेको ११औं महाधिवेशन मंसिरको २७ गतेबाट २९ सम्म काठमाडौंमा हुँदैछ । जसमा नेपालमा रहेका विभिन्न १६ राजनीतिक दललाई आमन्त्रण गरिएको छ ।
महाधिवेशनमा एमालेले जनपरिचालनलाई विशेष प्राथमिकता दिएको पनि नेता बर्तौलाले बताए । लाखौंको संख्यामा नेता, कार्यकर्ताहरू महाधिवेशनका लागि काठमाडौं आउने क्रम जारी रहेको उनले बताए ।
असंवैधानिक क्रियाकलप गर्ने, अलोकतान्त्रिक ढंगबाट मुलुक लैजान खोज्ने तत्वहरूलाई खबरदारी गर्ने सन्देश सम्प्रेषण गर्ने ध्येयका साथ जनपरिचालनमा ध्यान दिइएको नेता बर्तौलाले बताए । महाधिवेशनमा १ सय ८ जना मनोनीतसहित २ हजार २ सय ६८ कूल प्रतिनिधि रहने उनले बताए । बिहीबार बसेको बैठकले बाँकी रहेका कामहरू तत्काल सम्पन्न गर्ने र महाधिवेशन व्यवस्थित गर्नेमा जोड दिइएको उनले बताए ।
उनले नेकपा एमालेले युवाहरूलाई महत्वपूर्ण स्थान दिने बताए । १६५ वटा निर्वाचन क्षेत्रबाट हरेक ४ जना प्रतिनिधिमा १ जना ४० मुनिका युवालाई समेट्ने गरी कानुनी वैधानिक सुनिश्चितता गरिएको बताए ।