– सन्दिप चापागाँई ‘सन्देश’
कमरेड अग्नि दिनभरिको यात्रा पछि कलंकी उत्रन्छ । कलंकीबाट ट्याक्सी समातेर सिधै मन्त्री क्वाटर हुईकिन्छ । मन्त्रीलाई भेट्ने उसको पुरानै चाहाना हिजो मन्त्रीले फोन गरेपछि पूरा हुने क्रममा थियो । मन्त्रीसँग भेटेर गाउँको विकास र शहिदपरिवार, घाईते योद्धा मात्र नभएर पार्टीको लागि दिलो ज्यान दिने पुरानो कार्यकर्ता भएकोले स्थानीय चुनावमा प्रमुखको उम्मेदवार दाबी गर्नुपर्ने पनि थियो ।
ट्याक्सीमा बस्दा युद्धका भिषण क्षणमा दुश्मनको घेराबन्दी र आक्रमणमा आफ्नो कमिसार अर्थात् मन्त्रीलाई छातिमा गोलि थापेर बचाए भन्ने सम्झन्छ । बेलाबेलामा च्वास्स घोचीरहने छातिको गोलीमा उसले जनताको मुक्तिको सपना पूरा गर्ने उपहार सम्झन्छ । आफ्नो दाजु र बाबुको रगतद्वारा सिञ्चित आन्दोलनले जनताका सपना पुरा गर्ने क्षणमा पुगेकोमा उ एक्लै मुस्कुराउँछ । मन्त्रीका छोराछोरी जसलाई आफ्नो आमाले हुर्काईन कस्ता भए होलान् ? क्रान्तिकारी नेताका छोराछोरी झन् कति क्रान्तिकारी छन् होला । उनीहरुलाई भेटेर पुराना कुरा याद दिलाउन पाइने भईयो भन्ने आश छ उसलाई ।
ट्याक्सी मन्त्री क्वाटरमा रोकियो । उ झर्यो पुलिसले नाम सोध्यो अनि सरासर मन्त्रीको बास बस्ने ठाँउ देखाइदियो । उ सरासर मन्त्रीको बैठकमै पस्यो । आहा ! यसको भवयतामा आफुँलाई मिलाउन खोज्यो । विदेशी फर्निचर, कार्पेटदेखि रक्सीसम्मले सजिएको बैठक कक्ष, कुनै ठूलो उद्योगपतिको हो कि आफ्नो क्रान्तिकारी कमीसारको हो रनभूल्ल पर्यो । बैठक कोठाको माथि माथि हेरिरहेको उसको आँखा विशेष शोफामा पर्यो, जहाँ मन्त्री र अर्को मानिस मुख जोडेर कुरा गरिरहेका थिए । “ए आइपुग्नु भएछ त बस्नुस्”, मन्त्रीले अर्को शोफा देखाउँदै भन्यो । उसको ध्यान मन्त्रीसँग भएको मान्छेमा थियो । कहीँ देखेजस्तो लाग्ने त्यो मान्छेले टाउको उठाएर हेरेपछि प्रष्ट चिन्यो ।
त्यो द्वन्दकालमा सरकारी सुराकि हुतानन्द थियो । पार्टीको घोर विरोधी, सामन्ती अनि गाविसको विकास बजेट झ्वाम पार्ने मान्छे अर्थात् त्यस क्षेत्रको खराबीको केन्द्र थियो । “ल कामरेड उहाँ पनि हाम्रो पार्टीमा प्रवेश गर्नु भयो । २÷३ दिन भो अध्यक्षको हातबाट टिका ग्रहण गर्नु भएको । अहिले मन्त्रालयमा बसेर मलाई सहयोग गरिरहनु भएको छ । उहाँको पार्टी प्रवेशले त्यस क्षेत्रको आन्दोलनमा ठूलो फड्को मार्ने अपेक्षा अध्यक्ष कामरेडले गर्नुभएको छ । अब उहाँको नेतृत्वमा तपाईँहरु पार्टीलाई थप स शक्त बनाउन लाग्नु पर्यो ।”, मन्त्रीको आवाजले उ झस्क्यो ।
उसको शरीर तातेर आयो, वरपरको वातावरण धमिलो लाग्न थाल्यो । उसको आँगनमा ६÷६ जना शाहदत प्राप्त शहिदहरुको तडपाईलाई सम्झ्यो र हत्यामा आट्टहस गर्नेको अनुहार सम्झ्यो । सायद उसले कल्पना गरेको पनि थिएन यस्तो अवस्था आईपुग्छ भनेर । उ सोफामै लड्यो अर्थात् चोट सहन सकेन । मन्त्रीको सहयोगीले “अमेरिकाबाट छोरी र अष्ट्रेलियाबाट छोरा फेसबुक भिडियो कलमा छन् कुरो गर्नु”, भनेको सुन्यो । त्यसपछि के भो उसले पत्तो पाएन !
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies