
झन्डै ७५ वर्ष लामो इतिहास बोकेको नेकपा एमालेको ११औं महाधिवेशन शनिबारदेखि भक्तपुरको सल्लाघारीमा सुरु हुँदै छ । जेनजी आन्दोलनपछि फेरिएको परिस्थितिमा पार्टीपंक्ति मात्र होइन, शुभेच्छुकहरू पनि एमाले नेतृत्वमा नयाँ अनुहार देख्न चाहन्थे । तर एमालेका दोस्रो र तेस्रो तहका भनिने नेताहरूमा नेतृत्व लिने आँट देखिएन । जसका कारण नयाँ परिस्थितिमा नयाँ नेतृत्वको सम्भावना करिबकरिब टरेको छ ।
एमालेको नयाँ नेतृत्वका पुराना अनुहारहरू अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल मैदानमा उत्रिएका छन् । दुवै ७० वर्ष नाघेका छन् । ओलीले ११ वर्ष पार्टीको नेतृत्व गरिसकेका छन् भने पोखरेल दुई कार्यकाल पार्टी महासचिव हुँदै वरिष्ठ उपाध्यक्ष बनेका नेता हुन् । त्यसअर्थमा दुवै नेता दुई दशकदेखि एमालेको ‘कोर अफ लिडरसिप’ मानिने सचिवालयमा छन् ।
अध्यक्ष ओली तिनै नेता हुन्, जसले एमालेमा एकल नेतृत्वको विरोध गरे । बहुपदीय प्रणाली स्थापित गराए । एउटै पदमा दुई कार्यकालभन्दा धेरै रहन नमिल्ने व्यवस्था होस् वा ७० वर्षे उमेर हद स्थापित गर्न उनको योगदान छ । त्यसअर्थमा पार्टीमा आन्तरिक लोकतन्त्रका प्रस्तावक नै ओली हुन् । तर आफू नेतृत्वमा पुगेपछि भने उनी आफ्नै एजेन्डाबाट पछाडि फर्किए । सम्पूर्ण शक्ति आफूमा केन्द्रित गरे । विधान संशोधन गराएर दुई कार्यकाल र ७० वर्षे उमेरहदको व्यवस्था उल्ट्याए । अहिले उनी पार्टी नेतृत्वमा तेहेरिने रणनीतिमा छन् ।
एमालेमा वैचारिक मतभिन्नता खासै देखिँदैन । अध्यक्ष उठ्ने घोषणा गरेका वरिष्ठ उपाध्यक्ष पोखरेलले पेस गरेको अवधारणापत्रमा पनि विचारभन्दा ओलीको कार्यशैलीप्रति चर्को विमति राखिएको छ । दुवै पक्ष जनताको बहुदलीय जनवाद (जबज)प्रति प्रतिबद्ध देखिन्छन् ।
केही महिनाअघिसम्म एमालेमा ओलीको विकल्प नदेखेका पोखरेल उनकै विरुद्ध एकाएक मैदानमा उत्रिनुका केही कारण छन् । खासगरी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टी अध्यक्ष बन्ने महत्वाकांक्षासहित एमालेमा फर्किन लागेकी थिइन् । तर संस्थापन पक्षले उनको पार्टी सदस्यता नै नवीकरण गरिदिएन । फलस्वरूप भण्डारीकै उत्तराधिकारीका रूपमा पोखरेल ओलीसँग चुनाव लड्दै छन् । त्यस अर्थमा मैदानमा पोखरेल देखिए पनि खासमा यो ओली र भण्डारीको प्रतिस्पर्धाजस्तो देखिएको छ ।
एकातर्फ ओली विगतका आफ्नै एजेन्डाबाट पछि हटेका छन् भने वरिष्ठ उपाध्यक्षको उम्मेदवारी पनि असंगत देखिन्छ । ७० वर्ष उमेर हदको विरोध गरिरहेका ७१ वर्षीय पोखरेल आफैं मैदानमा उत्रिएका छन् । अध्यक्ष ओलीको उमेर हाराहारीकै उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली पनि तेहेरिने गृहकार्य गर्दै छन् ।
अध्यक्ष ओलीलाई नेतृत्वमा तेहरिने वातावरण बनाउनमा मुख्यतः उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको हात छ । उनीहरूले पार्टी नेतृत्वमा दाबी गरेको भए परिस्थिति अर्कै पनि हुन सक्थ्यो ।
१०औं महाधिवेशनमा पौडेल र पोखरेल दुवैले महासचिव बन्ने आकांक्षा राखेका थिए । अन्तिममा विद्या भण्डारीको समेत सल्लाह लिएर ओलीले शंकर पोखरेललाई महासचिव बनाए । यसबीचमा ओलीले पौडेलको समन्वयकारी कला र पोखरेलको वैचारिक क्षमता भरपुर उपयोग गरे । त्यसो त ओलीको छाता ओढेर दुवै नेताले देशभर गुटबन्दीको अभ्यास पनि नगरेका होइनन् । तर उनीहरूको गुटबन्दी लुम्बिनी प्रदेशमै सीमित हुन पुग्यो, देशभर फैलिन पाएन् । एकले अर्कालाई रोक्ने रणनीतिमा दुवै नेताले ११औं महाधिवेशनमा पनि ओलीकै नेतृत्व भन्न थाले । अध्यक्ष ओलीको चाहना बुझेर पनि उनीहरूले त्यसो भनेका हुन सक्छन् । तर पौडेल र पोखरेल एक ठाउँ उभिएर नेतृत्व दाबी गर्ने आँट गरेको भए न ओलीले ७० वर्षे उमेरहद हटाउन सक्थे न त दुई कार्यकालको प्रावधान ।
त्यसो त यसबीचमा ओली र पोखरेल दुवै समूहभित्रबाटै विष्णु पौडेल र शंकर पोखरेललाई अध्यक्षमा उठाउने प्रयास पनि भएका हुन् । केही समय मौन बसेर उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र पौडेलले पार्टीभित्र जनमत बुझ्ने प्रयास पनि गरे । पौडेल आए वरिष्ठ उपाध्यक्ष पोखरेलले मैदान छाड्नेसम्मको रणनीति विद्या भण्डारी समूहले बनाइएको थियो । तर पौडेलले त्यो आँट गरेनन् ।
उता शंकर पोखरेललाई पनि पूर्वराष्ट्रपति भण्डारीनिकट नेताहरूले अध्यक्षमा उठाउने कोसिस गरेका थिए । शंकर अध्यक्ष र योगेश भट्टराई महासचिव उठ्नेगरी प्यानलको गृहकार्य पनि गरिएको थियो । अध्यक्ष ओलीलाई वैधानिक रूपमा पार्टी संरक्षक बनाएर शंकरको नेतृत्वमा पार्टी अघि बढाउनेबारे समेत सघन छलफल भएको थियो । तर महासचिव पोखरेल स्वयं तयार भएनन् । यसरी एमालेमा नेतृत्व हस्तान्तरणको मुद्दा पेचिलो बन्न पुग्यो ।
दलहरूमा नेतृत्वको उत्तराधिकारी तोकेर वा हस्तान्तरण गरेर हुने होइन । नेतृत्वका लागि आफैंले क्षमता देखाउनुपर्छ, आफैं तयार हुनुपर्छ । नयाँ ऊर्जासाथ नेताहरू तयार नहुँदा एमालेमा महाधिवेशनबाट नेतृत्व परिवर्तनको मौका टर्दै गएको छ ।