
गैरआवासीय नेपाली संघ (एनआरएनए) विश्वभर फैलिएका नेपालीहरूलाई एउटै साझा मञ्चमा संगठित गर्ने साझा सामाजिक संस्था हो । संगठित भएका र नभएकाहरूको पनि हक–हितको संरक्षण, नेपाली पहिचानको प्रवद्र्धन तथा नेपाल र प्रवासबिच सेतुको भूमिका निर्वाह गर्ने उद्देश्यले एनआरएनको स्थापना भएको हो । यस संस्थाको संगठनात्मक संरचना तल्लो तहदेखि माथिल्लो तहसम्म प्रतिनिधिमूलक प्रणालीमा आधारित छ । यही संरचनाको सन्दर्भमा हेर्दा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) र अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी)बिचको सम्बन्ध अत्यन्तै संवेदनशील र परस्पर देखिन्छ ।
एनआरएनएको वास्तविक शक्ति र आधार एनसीसीहरू नै हुन् । एनसीसीहरू ती संरचनात्मक इकाई हुन्, जहाँ गैरआवासीय नेपालीहरू प्रत्यक्ष रूपमा जोडिन्छन्, संगठित हुन्छन् र आफ्ना सरोकार, समस्या तथा अपेक्षाहरू व्यक्त गर्छन् । सदस्यता वितरण, स्थानीय कार्यक्रम सञ्चालन, सामाजिक तथा संस्थागत गतिविधिहरू एनसीसीकै माध्यमबाट अघि बढ्छन् । त्यसैले एनसीसीहरू बिना एनआरएनएको अस्तित्व केवल औपचारिक संरचनामा सीमित हुन्छ भन्दा अत्युक्ति हुँदैन ।
आइसिसी भने एनसीसीहरूको सामूहिक प्रतिनिधि निकाय हो । एनसीसीहरूबाट निर्वाचित वा मनोनीत प्रतिनिधिहरूको सहभागिताबाट बनेको आइसिसीले विश्वव्यापी स्तरमा गैरआवासीय नेपालीहरूको आवाज उठाउने जिम्मेवारी वहन गर्दछ । नेपाल सरकारसँगको संवाद, नीतिगत पहल, लगानी, नागरिकता तथा प्रवासी अधिकारका विषयमा आइसिसीले भूमिका खेल्छ, तर आइसिसीको वैधानिकता र प्रभावकारिता एनसीसीहरूको विश्वास र एकतामा आधारित हुन्छ ।
हालका वर्षहरूमा विभिन्न देशमा एनसीसी तहमा देखिएको विभाजनले संस्थालाई गम्भीर चुनौतीतर्फ धकेलेको यथार्थ नकार्न सकिँदैन । एउटै देशमा एकभन्दा बढी एनसीसी गठन हुनु, नेतृत्वमाथि प्रश्न उठ्नु र आन्तरिक विवाद लम्बिनुले आइसिसीको कार्यक्षमता र विश्वसनीयतामा प्रत्यक्ष असर पारेको छ । यस्तो अवस्थामा बनेको आइसिसीले सम्पूर्ण गैरआवासीय नेपालीहरूको साझा प्रतिनिधित्व गर्न सक्दैन भन्ने धारणा बलियो हुँदै गएको छ ।
कतिपय अवस्थामा आइसिसी तहमा देखिने एकता व्यवहारिक रूपमा एनसीसीको तहसम्म पुग्न सकेको देखिँदैन । माथिल्लो तहको औपचारिक सहमति तल्लो तहको असन्तुष्टि र विभाजन समाधान नगरी दिगो हुन सक्दैन । संस्था भनेको भवन जस्तै हो, आधार कमजोर भए संरचना जति आकर्षक देखिए पनि दीर्घकालीन रूपमा टिक्न सक्दैन । गैरआवासीय नेपाली संघलाई वास्तवमै एकताबद्ध, प्रभावकारी र विश्वसनीय बनाउन पहिलो आवश्यकता एनसीसीहरूको एकता हो । प्रत्येक देशमा समावेशी, पारदर्शी र वैधानिक एक एनसीसी स्थापना र सञ्चालन हुनु आजको आवश्यकता हो । एनसीसीहरूबीच आपसी सहकार्य, संवाद र संस्थागत मूल्यप्रतिको प्रतिबद्धताबाट मात्रै सशक्त आइसिसी निर्माण सम्भव छ ।
मेरुदण्ड भाँचेर टाउको निरोगी छ भन्नु छेपारोले घर बनाउँछु भने जस्तै हो । एनसीसीहरूको एकता बिना आइसिसीको एकता केवल औपचारिक घोषणा मात्र ठहरिन सक्छ । वास्तविक एकता भनेको केन्द्रमा देखिने सहमतिभन्दा पनि आधार तहमा अनुभूत हुने विश्वास, सहभागिता र अपनत्व हो । गैरआवासीय नेपाली संघको भविष्य र गरिमा एनसीसीबाट सुरु हुने एकतामै निर्भर छ । त्यसैले, स्थायी र सार्थक आइसिसीको एकताको बाटो एनसिसीहरूको एकताबाटै अघि बढ्न सक्छ ।
(भट्ट, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका निवर्तमान अध्यक्ष हुन् ।)