
राजनीतिमा युवा सहभागिता कुनै पनि लोकतान्त्रिक समाजको दीर्घकालीन स्थायित्व र प्रगतिका लागि अत्यन्तै महत्वपूर्ण पक्ष हो । युवाहरू ऊर्जा, सिर्जनशीलता र परिवर्तनको चाहना बोकेका वर्ग हुन् । उनीहरू समाजका विद्यमान समस्याहरूलाई नयाँ दृष्टिकोणबाट हेर्न सक्छन् र परम्परागत सोचभन्दा बाहिर गएर समाधान खोज्न सक्षम हुन्छन् । त्यसैले राजनीतिक प्रक्रियामा युवाको सक्रिय उपस्थिति केवल विकल्प होइन, आवश्यकता हो ।
लोकतन्त्रको मूल मर्म जनताको सहभागितामा आधारित हुन्छ । जनसंख्याको ठूलो हिस्सा ओगट्ने युवाहरू राजनीतिबाट टाढा रहँदा लोकतन्त्र कमजोर बन्छ । नेपाल जस्तो देशमा जहाँ जनसंख्याको ठूलो प्रतिशत युवा उमेर समूहमा पर्छ, त्यहाँ उनीहरूको राजनीतिक सहभागिता अझै महत्वपूर्ण हुन्छ । संविधान निर्माण, नीति निर्माण, स्थानीय तहको निर्णय प्रक्रिया वा राष्ट्रिय विकासका योजना तयार पार्दा युवाको आवाज समावेश हुन सकेन भने ती नीति र योजनाहरू दीर्घकालीन र समावेशी बन्न सक्दैनन् ।
युवा सहभागिताले राजनीतिमा पारदर्शिता र जबाफदेहिता बढाउन मद्दत गर्छ । धेरै युवाहरू प्रविधिमा दख्खल राख्छन् र सूचना प्रवाहलाई छिटो, सुलभ र प्रभावकारी बनाउन सक्छन् । उदाहरणका लागि, नेपालमा केही युवाहरूले सामाजिक सञ्जालमार्फत भ्रष्ट्राचारका घटनाहरू सार्वजनिक गरेका छन् र सम्बन्धित निकायलाई जवाफदेही बन्न दबाब दिएका छन् । यसले राजनीति केवल बन्द कोठाभित्र सीमित नभई आम नागरिकको निगरानीमा रहनुपर्छ भन्ने सन्देश दिएको छ ।
इतिहास हेर्ने हो भने पनि युवाहरूले ठूलो राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेका छन् । २०४६ सालको जनआन्दोलन होस् वा २०६२÷६३ सालको आन्दोलनमा युवाहरू अग्रपंक्तिमा थिए । विद्यार्थी, युवा श्रमिक र युवा बुद्धिजीवीहरूको सक्रिय सहभागिताले नै निरंकुश व्यवस्थाविरुद्ध आवाज बुलन्द बन्यो र लोकतान्त्रिक प्रणाली स्थापना सम्भव भयो । जेनजी आन्दोलन त युवाहरु नै आयोजक बनेर गरेका हुन् । यी उदाहरणहरूले युवामा राजनीतिक चेतना र साहस हुँदा समाज परिवर्तन सम्भव हुन्छ भन्ने प्रमाणित गर्छन् ।
यद्यपि, युवाहरू अझै पनि राजनीतिको नेतृत्वमा छैनन् । कुनै मुख्य घटनामा युवाहरु अग्रपंक्तिमा आएपनि राजनीतिमा व्याप्त भ्रष्ट्राचार, अवसरवाद र शक्ति केन्द्रित प्रवृत्तिले राजनीतिमा टिकिरहन दिएको छैन । धेरै युवाहरू राजनीति फोहोर खेल हो भन्ने धारणा राख्छन् र व्यक्तिगत करियर वा विदेश जाने बाटो रोज्छन् । यो स्वाभाविक प्रतिक्रिया भए पनि दीर्घकालमा यसले देशलाई नोक्सान पु¥याउँछ, किनकि इमानदार र सक्षम युवाहरू राजनीतिबाट बाहिरिएपछि नेतृत्व पुरानै सोच र शैलीमा सीमित रहन्छ ।
युवालाई राजनीतिमा आकर्षित गर्न राजनीतिक दल, राज्य र समाज सबैले भूमिका खेल्नुपर्छ । राजनीतिक दलहरूले युवालाई केवल झण्डा बोक्ने कार्यकर्ता होइन, नीति निर्माणमा सहभागी गराउने वातावरण बनाउनुपर्छ । उदाहरणका लागि, केही स्थानीय तहमा युवाहरूलाई वडा समिति वा नगर सभामा प्रतिनिधित्व दिइएको छ, जसले स्थानीय समस्यालाई युवाको दृष्टिकोणबाट समाधान गर्न सहयोग गरेको छ । यस्ता अभ्यासलाई व्यापक बनाउन सकिएमा युवाको विश्वास राजनीतिमा बढ्न सक्छ ।
शिक्षा प्रणालीले पनि राजनीतिक चेतना विकासमा योगदान दिन सक्छ । विद्यालय र कलेज स्तरमै नागरिक शिक्षा, लोकतान्त्रिक मूल्य र नेतृत्व विकासका विषयहरू व्यवहारिक ढंगले पढाउन सकियो भने युवाहरू राजनीति बुझेर सहभागी हुन प्रेरित हुन्छन् । केही कलेजहरूमा विद्यार्थी संसद् वा मोडल संसद् अभ्यास गराइन्छ, जहाँ विद्यार्थीहरूले बहस, मतदान र निर्णय प्रक्रियाको अनुभव लिन्छन् । यसले भविष्यका लागि जिम्मेवार राजनीतिक नागरिक तयार पार्न मद्दत गर्छ ।
आजको डिजिटल युगमा युवाहरूले नयाँ किसिमले राजनीतिमा सहभागिता जनाइरहेका छन् । अनलाइन अभियान, हस्ताक्षर संकलन, नीतिगत बहस र सचेतना अभिवृद्धि जस्ता गतिविधि युवामाझ लोकप्रिय छन् । भारतमा अन्ना हजारेको भ्रष्ट्राचार विरोधी आन्दोलनमा युवाको ठूलो सहभागिता देखियो, जसले सरकारलाई कडा कदम चाल्न बाध्य बनायो । यस्तै, नेपालमा पनि विभिन्न सामाजिक मुद्दामा युवाले अनलाइन र अफलाइन दुवै माध्यमबाट दबाब सिर्जना गरिरहेका छन् ।
राजनीतिमा युवा सहभागिता वर्तमान मात्र होइन, भविष्यको लगानी हो । आज राजनीतिमा सिकेका मूल्य, अनुभव र संस्कारले भोलिको नेतृत्व निर्माण गर्छ । यदि युवाहरू जिम्मेवार, सचेत र सक्रिय भए भने राजनीति पनि स्वाभाविक रूपमा स्वच्छ, समावेशी र जनमुखी बन्छ । त्यसैले युवाले राजनीति छोड्नु होइन, राजनीतिलाई सुधार्ने जिम्मेवारी लिनुपर्छ । समाज र राज्यले पनि युवाको ऊर्जा र सोचलाई सकारात्मक दिशामा उपयोग गर्ने वातावरण सिर्जना गर्नुपर्छ । यही बाटोले मात्र समृद्ध, न्यायपूर्ण र लोकतान्त्रिक समाज निर्माण सम्भव हुन्छ ।